अर्थ संसार, काठमाडौँ- म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउण्ड सेवा सञ्चालन भएको छ । मालिका, धवलागिरि, मङ्गला र तमानखोला गाउँपालिकाका बासिन्दालाई अल्ट्रासाउण्ड सेवाका लागि सदरमुकाम बेनी, बागलुङ, पोखरा पुग्नुपर्ने बाध्यता अब हटेको छ । गाउँमै सेवा पाएपछि गर्भको बच्चाको अवस्था पहिचानका लागि अल्ट्रासाउण्ड गर्न सदरमुकाम पुग्दा हुने समय र पैसाको बचत भएको दरवाङकी कमला विश्वकर्माले बताउनुभयो । “बेनी जान–आउन पूरै दिन लाग्ने थियो ।
रु दुई, तीन हजार खर्च हुन्थ्यो”, उहाँले भन्नुभयो, “गाउँमै सेवा पाएपछि सजिलोका साथै समय र पैसाको बचत भयो ।” गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको रु २० लाख सहयोगमा मालिका गाउँपालिकाले अल्ट्रासाउण्डलगायतका उपकरण खरीद गरेर केन्द्रलाई उपलब्ध गराएको वडाध्यक्ष सन्तोष सुवेदीले बताउनुभयो । अल्ट्रासाउण्ड सेवा शुरु भएपछि गर्भको बच्चाको अवस्था, पित्तथैली, मिर्गाैला, मूत्रथैलीको पत्थरी, कलेजोको रोग पत्ता लगाउन सहज भएको केन्द्रका डा तिलक गौतमले बताउनुभयो ।
रोगको पहिचान गर्न सजिलो हुने र बिरामीले सहज तथा सर्वसुलभ रूपमा सेवा पाएका उहाँले बताउनुभयो । अल्ट्रा साउण्डका साथै अक्सिजन कन्सटेटर, नवजात शिशुलाई न्यानो बनाउने उपकरण, आकस्मिक ट्रलीसमेत उपलब्ध गराइएको छ । केन्द्रबाट गत आर्थिक वर्षमा १६ हजार जनाले सेवा लिएका थिए । स्वास्थ्य सेवालाई थप प्रभावकारी, गुणस्तरीय र सहज बनाउन विद्युत्को वैकल्पिक व्यवस्था गर्न जेनेरेटर, सोलार, भिडियो एक्सरे र ल्याबका उपकरण आवश्यक रहेको स्वास्थ्य केन्द्रका प्रमुख डा गणेश श्रेष्ठले बताउनुभयो ।
सामाजिक विकासमन्त्री नरदेवी पुनले स्वास्थ्यसेवाको गुणस्तर सुधारका लागि दरबन्दीअनुसारका जनशक्ति, उपकरण र पूर्वाधारमा जोड दिएको बताउनुभयो । गत आर्थिक वर्षमा प्रदेशका स्वास्थ्य संस्था र अस्पताललाई रु ३२ करोड मूल्यका उपकरण सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस