अर्थ संसार, काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर बजारमा लगानीको विविधीकरण गर्दै सट्टेबाजी कारोबारको सुरु गर्ने भएको छ ।
यसका लागि नेप्सेले इन्डेक्स (सूचक) फ्युचर र स्टक इन्डेक्स फ्युचरको कारोबार सुरु गराउन अध्ययन प्रतिवेदन नै तयार पारिसकेको छ । ‘धेरै कुराहरू नियमावली, विनियमावली
तथा कार्यविधि आएपछि स्पष्ट हुनेछ,’ नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए, ‘अहिलेलाई थप एउटा नयाँ सूचक बनाउने र अन्य केही धितोपत्रको अलग–अलग सूचक बनाउने तयारी गरिएको छ ।’
हाल यो प्रतिवेदन स्टक एक्सचेन्जको सञ्चालक समितिमा पेस भएको छ । धितोपत्र कारोबारभन्दा यी उपकरणको कारोबार तुलनात्मक रूपमा जोखिमपूर्ण हुन्छ । किनभने, यो ‘जिरो सम’ कारोबार हो । यसो भन्नुको अर्थ एउटाले कमाउँदा अर्कोले निश्चित रूपमा गुमाउँछ भने एउटाले गुमाउँदा अर्कोले निश्चित रूपमा कमाउँछ ।
यसमा दुवैले कमाउन सक्ने अवस्था पनि रहन्छ । धितोपत्रमा लगानीकर्ताले सेयरको मूल्यबाट गुमाइरहेको अवस्थामा पनि कम्पनीबाट प्राप्त हुन सक्ने लाभांशलगायतमा भागीदार हुन पाउँछ । त्यस्तै, ऊसँग अन्तरनिहित सम्पत्ति रहिरहेको हुन्छ । उसले चाहेमा त्यो सेयरले उचित मूल्य नपाउँदासम्म साथै राखिराख्न सक्छ । तर, इन्डेक्स वा स्टक फ्युचर कारोबार यी दुवै विकल्प लगानीकर्तासँग हुँदैन ।
इन्डेक्स फ्युचरमा केही कम्पनीलाई आधार बनाएर सूचक तयार गरिएको हुन्छ भने र स्टक इन्डेक्स फ्युचरमा कम्पनीको धितोपत्रअनुसार प्रत्येकको अलग्गै सूचक तयार भएको हुन्छ । निश्चित अवधिसम्मको उतारचढावको आकलन गरेर यस्तो सूचकको करारपत्र तयार गरिएको हुन्छ ।
लगानीकर्ताले यही करारपत्रको कारोबार गर्ने हुन् । त्यसैले करार अवधि सकिँदा सूचक उल्लेख गरिएभन्दा माथि भएमा लगानीकर्ताले सो अधिक रकमबराबर मुनाफा पाउँछन् भने घाटा हुनेले केही पनि पाउँदैनन् । करार अवधि नसकिँदासम्म यसको कारोबार भइरहन सक्छ भने करारपत्रको स्वामित्व पनि फेरिइरहन सक्छ ।
यी उपकरणमा भविष्यमा हुने उतारचढावका आधारमा जारमा कारोबार गरिन्छ । यसमा लगानीकर्ताले सम्पत्तिका
रूपमा केही पनि प्राप्त गर्दैन । उदाहरणका लागि मानौं, २० कम्पनी राखेर इन्डेक्स फ्युचर बनाइएको छ । यसमा कम्पनीको मूल्यमा हुने उतारचढावका आधारमा सूचकमा पनि उतारचढाव हुन्छ । यस्तो कारोबारको निश्चित अवधि (१ वा २ महिना) तोकेर करारपत्र बनाइएको हुन्छ । तोकिएको अवधि समाप्त हुँदा सूचक कहाँसम्म पुग्न सक्छ भन्ने आधारमा करारपत्र तयार भएको हुन्छ । त्यसैका आधारमा लगानीकर्तालाई करारपत्र बेचिएको हुन्छ ।
वस्तु बजार (कमोडिटी बजार)मा जस्तो यस्तो बजारमा करारपत्रसँगै लगानीकर्ताले करार गरिएको वस्तु (सुन,आलु, चामल)लगायतका वस्तु भने पाउँदैनन् । त्यसैले यसलाई नगदमा राफसाफ हुने पकरणका रूपमा लिइन्छ । किनभने, कारोबार गरिने यस्ता सूचक कसैलाई दिन सकिने भन्ने कुरा नै हुँदैन । मात्रै यसमा हुन सक्ने उतारचढावको आकलन गरेर करार अवधि नसकिँदासम्म किनबेच गर्नुपर्ने हुन्छ । करारमा उल्लेख गरिएको भन्दा सूचक घटेमा लगानीकर्ताले मार्जिनका रूपमा रकम थप्नुपर्ने हुन्छ ।
लगानीकर्ताले चाहेमा करार समय नसकिँदासम्म यो करार अन्यलाई बेच्न सक्छ । करार अवधि सकिएपछि यदि करारमा उल्लेख गरिएकोभन्दा माथि सूचक रहेमा क्लियरिङ सदस्यले करारको स्वामित्व हुने लगानीकर्तालाई मुनाफा हुने रकम दिनुपर्छ भने नोक्सान भएमा लगानीकर्ताले बुझाउनुपर्छ ।
सट्टेबाजी प्रकृतिको यस्ता कारोबारमा क–कसले सहभागी हुन सक्ने भनेर हाल तोकिएको छैन । ‘यो सबैलाई खुला गर्नुपर्छ नै,’ धितोपत्र बोर्डका प्रवक्ता नीरज गिरीले बताए, ‘यो डेरिभेटिभ्स उपकरण हो । यसमा अन्तरनिहित सम्पत्ति के हुन्छ, यो उपकरणको विकास कसरी हुन्छ ? त्यसपछि मात्रै भन्न सकिन्छ ।’
यस्तो उपकरणको मुख्य द्देश्य एउटामा हुने कारोबारको घाटा काम गर्न लगानीकर्ताले हेजिङका रूपमा यसलाई प्रयोग गरेका हुन्छन् । अर्को केही लगानीकर्ताले भने सट्टेबाजीका लागि यसमा लगानी गरिरहेका हुन्छन् ।
‘अन्य मुलुकमा सबैखाले लगानीकर्तालाई यो उपकरणमा लगानी गर्न खुला गरिएको छ,’ पराजुलीले थपे । अधिक जोखिम मानिने यस्ता उपकरणबाट गुमाउनेलाई शून्य लाभ हुन्छ ।
हाल प्रारम्भिक अवस्थाको अध्ययन गरिएको यस प्रतिवेदनमा नेप्सेले चाहेमा अहिलेकै कारोबार प्लेटफर्मबाट यसको कारोबार गर्न सक्नेसमेत उल्लेख गरेको छ ।
त्यसका लागि नेप्सेमा अलग्गै विभाग चाहिने स्पष्ट पारेको छ । विकल्पमा भने अलग्गै प्लेटफर्म र अलग्गै सहायक कम्पनीको समेत परिकल्पना गरेको छ । नेप्सेले हाल पूर्ण स्वचालित कारोबार प्रणाली प्रयोग गरिरहेको छ ।
यो प्रणालीको विकास गरेको वाइको प्रालिले मल्टी एसेट ट्रेडिङसहितको सफ्टवेयर बनाएकाले यही प्रणालीमा अलग्गै विन्डोबाट कारोबार गराउन सकिने नेप्सेको विश्वास छ । कारोबार राफसाफका लागि भने ब्रोकरहरू नै रहन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस