Like us!
Follow us!
Connect us!
Watch us!

"कांग्रेस नीति असफल भएको छैन, मुलुकमा निजी क्षेत्रको लगानी बृद्धि कांग्रेसकै प्रयास हो"

डा. प्रकाशशरण महत प्रवक्ता, नेपाली कांग्रेस

अर्थ संसार

सोमबार, ०८ पुस २०८१, २१ : ०० मा प्रकाशित

"कांग्रेस नीति असफल भएको छैन, मुलुकमा निजी क्षेत्रको लगानी बृद्धि कांग्रेसकै प्रयास हो"

आर्थिक रूपमा हेर्दा अहिले नेपालको बाह्य स्थिति मजबुत छ । विप्रेषण आप्रवाह (रेमिट्यान्स) का कारण सहज स्थिति बनिरहेको छ । तर, आन्तरिक अर्थतन्त्रमा अझै पनि धेरै समस्याहरू देखिएको छ । अर्थतन्त्र शिथिल हुनुमा एउटा खास कारण नभएर धेरै सन्दर्भहरूले काम गरेको छ । यद्यपि निरन्तरको राजनीतिक अस्थिरतालाई अर्थतन्त्र शिथिलताको मूल कारण मान्न सकिन्छ । तथापि अस्थिरताको अवस्था धेरै दिन राखिनुु हुुँदैन र आन्तरिक अर्थतन्त्र सुधार गर्न ठोस कदमहरू चालिनु जरुरी छ ।
पहिलो, बजेट विनियोजन प्रणालीमा आमूल परिवर्तको खाँचो छ । एक त पुँजीगत खर्च हुन सकिरहेको छैन भने भएको पुँजीगत खर्चको यथेष्ट प्रभाव सरोकारवालासमक्ष पुुग्न सकेको छैन । विनियोजित पुँजीगत खर्च अत्यन्तै धेरै कार्यक्रम र आयोजनाहरूमा बाँडिदाको असर विकास निर्माणको काममा न्यून मात्रै देखिएको छ । संघ, प्रदेश र स्थानीय तहले बनाउने कार्यक्रम र आयोजनाहरू, निश्चित रकमको सीमा तोकिनुु आवश्यक छ ।

म अर्थमन्त्री हुँदा तीन करोडभन्दा तलको आयोजनाहरू संघले नगर्ने भनेर निर्णय गरियो तर, बजेट आउने बेलामा अर्को सरकार बन्यो र विगतका निर्णय लत्याएर बजेट ल्याउने काम भयो । व्यक्ति फेरिएअनुुसार सिर्जना गरिने अनेकन नीतिहरूबाट सिर्जना हुने आर्थिक आधार, रोजगारी र विकासमा प्रतिकूल असर परेको छ । यसको अर्थ हो, सीमित स्रोत–साधनहरूको उचित प्रयोग हुन सकेको छैन । संघीय सरकारले महत्त्वपूर्ण उत्पादन केन्द्र र पर्यटन केन्द्रहरूलाई ‘कनेक्टिभिटी’ आयोजनाहरू, बाह्रैमहिना चल्ने सडक आयोजनाहरू बनाउनेतर्फ प्राथमिकता दिनुपर्छ ।

त्यसैगरी बजेट बनाउँदा बढी जनघनत्व भएका ठाउँहरूलाई प्राथमिकता दिएको खण्डमा धेरै प्रभाव पर्छ । स्वास्थ्य, शिक्षामा गरिएको लगानीमा पनि समस्या देखिएको छ । जस्तो, स्वास्थ्य क्षेत्रमा हरेक पालिकामा एउटा १५ शय्याको अस्पताल कार्यान्वयन गर्न सक्ने अवस्था छैन किनभने भवन बनाएर मात्रै अस्पताल हुँदैन । त्यसका लागि आवश्यक जनशक्तिको सुनिश्चितता गर्नुपर्छ । विनायोजना र हचुवामा भरमा कार्यक्रमहरू अगाडि बढ्दा लगानी खेर गइरहेको छ । शिक्षा क्षेत्रमा पनि कहाँ के आवश्यकता छ भन्ने ख्याल नगर्दा पनि स्रोतहरू खेर गएको अवस्था छ । त्यसकारण वित्तीय प्रणालीमा समस्याको रूपमा रहेको बजेट विनियोजन प्रणालीमा आमूल सुुधारको खाँचो छ । नेपालमाजहाँ जसले जे माग्यो बजेटमा त्यही राख्ने प्रचलन अधिक छ । यस्तो अवस्थाको अन्त्य गरेर आर्थिक प्रतिफलका आधारमा काम अघि बढाउने र सरकारी स्रोतको सदुुपयोग गर्न थालियो भने मात्र परिणाम आउँन थाल्छ । यसले अर्थतन्त्रमा सुधारसमेत ल्याउँछ ।

दोस्रो गत वर्षका देखि मौद्रिक नीतिमा समस्या देखिएका कारण आन्तरिक अर्थतन्त्रमा समस्या आएको पाइन्छ । वित्त नीति र मौद्रक नीतिबीच तालमेल हुुनुपर्छ । मध्यम बाटो अपनाउनुपर्छ । कहिले एउटा पक्ष चरम (एक्सट्रिम) मा जाने र कहिले अर्को पक्ष एक्सट्रिममा गएर नीति बनाउँदा निजी क्षेत्रको लगानीमा सकारात्मक प्रभाव पर्न सकेको छैन ।

तेस्रो, अहिले नेपालमा भएका कतिपय कानुनी व्यवस्थाहरू आर्थिक गतिविधि बढाउन अड्चनका रूपमा देखिएका छन् । त्यसैगरी प्रशासनयन्त्रमा पनि समयमा निर्णय नहुने, अन्योलमा राखिरहने प्रवृत्ति छ । लगानीकर्ताहरूले उठाएका व्यवहारिक र सैद्धान्तिक पक्षहरूलाई केलाएर समस्या समाधानको पहल लिनुुपर्छ । नेपालले लगानीकर्तालाई धेरै सर्तहरू लगाउनुपर्ने अवस्था छैन । वातावरणीय पक्षका न्यूनतम सर्तहरू पूरा गरेपछि लगानीका लागि बाटो खोलिदिनुुपर्छ । 

वैदेशिक लगानी ल्याउने विषयमा अन्तर्राष्ट्रियस्तरमै प्रतिस्पर्धा छ । त्यसकारण अरू देशभन्दा नेपालमा सहज छ भन्ने प्रत्याभूति दिन जरुरी छ । मुलुुकको अन्तर्राष्ट्रिय सार्वभौम साख मूल्यांकन (कन्ट्री रेटिङ) को परिणामले नेपाल कुन स्थितिमा छ भनेर अन्तर्राष्ट्रिय समूहलाई बुझाउन सहज भएको छ । हामीले सरकारी र निजी दुवै क्षेत्रको समन्वय कायम गरी दुवैलाई सहज हुने गरी आर्थिक नीति अगाडि बढाउनुपर्छ र लगानीका क्षेत्रको पनि ठीक ढंगले प्राथमिकीकरण गर्नुपर्छ । मौद्रिक र वित्तीय नीतिलाई आर्थिक वृद्धि, रोजगारी सिर्जना र मूल्य स्थिरताका पक्षमा चलाउन सकियो भने आन्तरिक अर्थतन्त्रमा पनि सुधार आउँछ ।

अर्थतन्त्र मजबुत बनाउन कांग्रेसले के ग¥यो ?
२०४६ को परिवर्तनपछि नेपाली कांग्रेसको नेतृत्वमा निर्वाचित सरकार २०५१ सालसम्म चल्यो । अर्थतन्त्रले सबैभन्दा गति लिएको समय पनि यही नै हो । त्यसपछि एकल सरकार बन्ने अवस्था नबनेको मात्र होइन मुलुकमा द्वन्द्वको प्रवेश भयो । द्वन्द्वका कारण आर्थिक गतिविधिले लिएको गति कमजोर भयो । १२ वर्षे द्वन्द्वले अर्थतन्त्र सुस्त बन्यो । २०६३ मा द्वन्द्वलाई व्यवस्थापन गर्ने सहमतिसँगै शान्तिप्रक्रिया, संविधान निर्माणका समयमा आर्थिक गतिविधिले प्राथमिकता पाएन । तीन दशकको एकतिहाइ समय पनि कांग्रेसले सत्ता सञ्चालन गर्न पाएन । तर, कांग्रेसले अर्थतन्त्रलाई खुला बजार अर्थनीतिका आधारमा अघि बढाउन सदैव लागिरह्यो ।

आन्तरिक वा बाह्य लगानीको अवस्था
निश्चिय पनि राजनीतिक दल र कर्मचारीतन्त्रले व्यावसायिक दृष्टिकोणमा उदारता राख्नुुपर्छ । कतिपय अवस्थामा नियम, कानुनलाई अनावश्यक रूपबाट एकले अर्कोलाई निषेध गर्ने, अन्योलपूर्ण रूपमा राख्ने, आफूअनुुकूल नियमलाई चलाउन खोज्ने र अड्चन पैदा गरिरहने सन्देहको दृष्टिकोणले हेर्ने प्रवृत्ति प्रणालीमा छ । यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्छ । नियम–कानुनहरू पारदर्शी र विरोधाभाषपूर्ण नहुने गरी बनाइनुपर्छ । लगानी गर्नुस् भनेर मात्र हुँदैन व्यवसायीहरूलाई लगानीका लागि सहजीकरण पनि गरिदिनुुपर्छ । तर, कसैले नियम, कानुन पालना गरेको छैन भने त ऊ स्वतः कानुनको परिधिमा आइहाल्छ । लगानी गर्नुअघि नै व्यवसायीलाई अनेकौं सर्तहरू तेर्साउनुको सट्टा पारदर्शी नियम, कानुनहरू बनाइदिने, नियम उल्लंघन गरे कारबाहीको भागिदार हुनुपर्छ भनेर सजग गराउनुुपर्छ ।

कांग्रेस नीति असफल भएको छैन
व्यापारकेन्द्रित अर्थतन्त्र र राजस्वबाट मुलुुकलाई आन्तरिक उत्पादनकेन्द्रित अर्थतन्त्र र राजस्वमा उभार ल्याउन कांग्रेस नीति असफल भएको छैन । वास्तवमा २०४६ अघि राजस्व अत्यन्तै थोरै थियो । निजी क्षेत्रका उद्योग, व्यवसाय नगन्य थिए । कांग्रेसले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएकाले अहिले देशैभरी निजी क्षेत्रले व्यापक लगानी गरेको छ । बैंक, बिमा, हवाईदेखि स्वास्थ्य, शिक्षा क्षेत्रसँगै अन्य धेरै उद्योगहरूमा निजी क्षेत्रको लगानी बढेको छ । कांग्रेसकै सरकार आएपछि राजस्वले पनि धेरै ठुलो फड्को मा¥यो । मूल्य अभिबृद्धि कर (भ्याट) कार्यान्वयनले राजस्व असुलीमा महत्त्वपूर्ण आधार मात्रै निर्माण गरेन आर्थिक गतिविधिलाई पारदर्शी बनाउने माध्यमका रूपमा पनि अग्रसर भयो । त्यस कारण कांग्रेसका कारण अर्थतन्त्र अहिलेको अवस्थामा आइपुुग्यो भन्नु भ्रम र पूर्वाग्रही सोच मात्र हो । बरु कांग्रेसको नीतिलाई पार्टीले निरन्तर गहिराइमा लाने, अझ विस्तार गर्ने मौका पछिल्लो समयमा प्राप्त नगरेको अवस्था छ । धेरैपटक कांग्रेस सत्तामा नरहेको, सत्तामा रहे पनि निर्णायक भूमिका हुन नसकेका कारण कांग्रेस नीति फल्नफुल्न पाइरहेको छैन । यसले मुुलुकको अर्थतन्त्रलाई नै घाटा पुु¥याएको छ ।

कांग्रेस नीति र प्रतिबद्धता
लगानी वृद्धि नभई उद्योग, व्यवसाय बढ्दैन र उद्योग, व्यवसाय नबढी रोजगारी सिर्जना हुुँदैन । रोजगारी वृद्धि र व्यवसाय सहज रूपमा नचेसम्म अपेक्षित राजस्व बढ्दैन । राजस्व नबढीकन पछाडि परेको क्षेत्र, समूहको स्तरोन्नतिर पूर्वाधार विकासमा लगानी गर्न सकिँदैन भन्नेमा कांग्रेस सचेत र जानकार छ । लगानी हुनै नसकेपछि नेपालमा ठुलो सम्भावना रहेको पर्यटन, अन्य विकासका सम्भावनाहरू पनि न्यून हुन्छ । यसले फेरि आर्थिक गतिविधि र रोजगारी सिर्जना गर्ने कामलाई न्यून गर्छ । तसर्थ जिम्मेवारपूर्ण राजनीति हुन जरुरी छ । कांग्रेस सस्तो लोकप्रियता र स्टन्टबाजीको पछाडि दौडिँदैन । बोल्न सजिलो छ, काम गर्न गाह्रो छ । त्यसकारण काम गर्नेहरूले जिम्मेवारपूर्ण तरिकाबाट काम गर्नुपर्छ । जसले ठुला कुरा गर्छन्, आकाश–पाताललाई एकै ठाउँमा जोड्छौं भनेजसरी कुरा गर्छन् यसबाट प्रभावित हुने राजनीति र त्यसबाट प्रभावित हुने जनमतले देश विकास र दिगो आर्थिक गतिविधिलाई मद्दत गर्दैन ।

स्टन्टबाजीको गफ संस्कृतिलाई प्रोत्साहन गर्नु हुँदैन । कुनै राजनीतिज्ञले, कुनै पार्टीले, कुनै सरकारले के आधारमा काम गर्छु भनिरहेको छ, त्यो प्रस्ट हुनुपर्छ । रोजगारी सिर्जना गर्ने आधार के ?, नीति के हो ? नीति र कार्यशैलीका बीचमा तादम्यता छ कि छैन भन्ने विषयहरूलाई आमनागरिकले गहिरो रूपमा अध्ययन गर्नुपर्छ र आफ्नो धारणा बनाउनुुपर्छ । त्यस्तै, राजनीतिक दल गठन भएको पार्टीकै सेवा अर्थात् पार्टीपंक्तिलाई पृष्ठपोषण गर्न मात्रै होइन । पार्टी वा दल त जनता र देशका लागि सेवा गर्ने एउटा माध्यम मात्र हो । त्यसकारण हामीले पार्टीभन्दा माथि उठेर जनता र देशलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्छ । बरु पार्टीपंक्तिलाई मात्रै रिझाइराख्ने नीति र प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ । त्यसो भएमा देशले विकासको फड्को मार्छ ।

देशभित्रै युवाहरूलाई रोजगारी दिलाउन औद्योगिक विकासमा ध्यान दिनुुपर्छ । युवापिढीलाई देशभित्रै ठुलो सम्भावना छ भनेर विश्वस्त बनाउनुुपर्छ । यो देशमा केही हुन सक्दैन, बाहिर गए मात्रै प्रगति हुन्छ भन्ने मान्यतालाई त्यागेर स्वदेशमै केही गर्ने आधारहरू तयार गर्नुपर्छ । सूक्ष्म रूपमा अवसरहरू केलाउनुुपर्छ र आफ्नो उन्नतिको बाटो पकड्न अभिप्रेरित गर्नुपर्छ । रोजगारी कसैले दिन्छ भन्नेभन्दा पनि मआफैं स्वरोजगार वा उद्यमशील कसरी बन्न सक्छु भन्नेतर्फ अग्रसर गराउनुुपर्छ । यसका लागि कांग्रेस अग्रसर भएर लागिरहेको मात्रै छैन आफ्नो राजनीतिक दृष्टिकोण (भिजन) युवामाझ पुु¥याइरहेको छ । कांग्रेससँग आर्थिक, सामाजिक रूपान्तरणको भिजन पनि छ । बीपी कोइरालाले अंगीकार गरेको आर्थिक वृद्धिसँगै आर्थिक वृद्धिको पहुँचमा आमनागरिकलाई पु¥याउने भिजन पूरा गर्न कांग्रेस प्रतिबद्ध छ ।

(नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को वार्षिक जर्नल अर्थचित्र २०८१ बाट
पूर्वअर्थमन्त्री महतसँग शम्भु रेग्मीले गरेको कुराकानीमा आधारित)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको