Like us!
Follow us!
Connect us!
Watch us!

बैंक तथा वित्तीय संस्थाहरुको सुनचाँदी धितो कर्जा ८६ अर्ब बढी, वाणिज्य बैंकको मात्रै ८० अर्ब माथि

अर्थ संसार

आइतबार, १४ मंसिर २०८२, ११ : ४४ मा प्रकाशित

बैंक तथा वित्तीय संस्थाहरुको सुनचाँदी धितो कर्जा ८६ अर्ब बढी, वाणिज्य बैंकको मात्रै ८० अर्ब माथि

बैंक तथा वित्तीय संस्थाहरुले गर्ने सुनचाँदी धितो कर्जामा उल्लेख्य मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिले तीन महिनासम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने यस्तो कर्जा ४२.३१ प्रतिशतले वृद्धि भएको हो । 

केन्द्रीय बैंकका अनुसार चालु आवको असोज मसान्तसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँदी धितो राखेर ८६ अर्ब ४० करोड ३० लाख रुपैयाँ कर्जा दिएका छन् । गत आवको सोही अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले यो शिर्षकमा ६० अर्ब ७१ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । गत आवको सुरुको तीन महिनाको अवधिको तुलनामा चालु आवको तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँदी धितो बापत २५ अर्ब ६९ करोड रुपैयाँ बढी कर्जा प्रवाह गरेका छन् ।  

वाणिज्य बैंकहरुको मात्रै ८० अर्ब

चालु आर्थिक वर्षको तीन महिनाको अवधिसम्ममा वाणिज्य बैंकहरुले मात्रै ८० अर्ब ७ करोड ४० लाख रुपैयाँको सुनचाँदी कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरुको यो रकम गत आवको सुरुको तीन महिनासम्मको अवधिको तुलनामा ४४ प्रतिशतले धेरै हो । अर्थात वाणिज्य बैंकहरुले गत आवको असोज मसान्तसम्मको अवधिको तुलनामा चालु आवको सोही अवधिसम्ममा २४ अर्ब ४६ करोड ८० लाख रुपैयाँले बढी यस्तो कर्जा प्रवाह गरेका हुन् । गत आवको असोज मसान्तसम्म वाणिज्य बैंकहरुले सुनचाँदी धितो राखेर ५५ अर्ब ६० करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै नेपाल बैंकको 

सञ्चालनमा रहेका २० वटा वािणज्य बैंकहरुमध्ये सबै भन्दा धेरै सुनचाँदी धितो कर्जा प्रवाह गर्ने बैंकमा नेपाल बैंक रहेको छ । यो बैंकले ३८ अर्ब २१ करोड ७० लाख रुपैयाँको सुनचाँदी कर्जा प्रवाह गरेको छ । यो रकम गत आवको असोज मसान्तसम्मको अवधिको तुलनामा १४ अर्ब ३८ करोड ३० लाख रुपैयाँ अर्थात ६०.३५ प्रतिशतले बढी हो । गत आवको असोज मसान्तसम्मको अवधिमा बैंकले २३ अर्ब ८३ करोड ४० लाख रुपैयाँ यस्तो कर्जा प्रवाह गरेको थियो ।

त्यस्तै यो अवधिमा राष्ट्रिय वाणिज्य बैंकको सुनचाँदी धितो कर्जा प्रवाह ३४.७३ प्रतिशत अर्थात ७ अर्ब २३ करोड १० लाखले बढेको छ । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा यस्तो शीर्षकमा २८ अर्ब बढीको कर्जा लगानी गरेको छ । त्यस्तै प्राइम कमर्सियल बैंकले ७ अर्ब २७ करोड ७० लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ६७ करोड ४० लाख र नविल बैंकले २ अर्ब १० करोड २० लाख रुपैयाँ सुनचाँदी धितो कर्जा लगानी गरेको छ । 

गत आवको सुरुको तीन महिनाको अवधिको तुलनामा ४ वाणिज्य बैंकको सुनचाँदी धितो कर्जा घटेको छ भने १० वटाको बढेको छ । यो अवधिमा कृषि विकास बैंकको यस्तो कर्जा ८१.२५ प्रतिशत, प्रभुको ९३.४२ प्रतिशत, एनआइसी एसियाको ५० प्रतिशत र एनएमबि बैंकको ७१.०१ प्रतिशतले घटेको छ । 

त्यस्तै ६ वटा बैंकले भने सुनचाँदी धितो कर्जा प्रवाह गरेका छैनन् । यस्तो शीर्षकमा कर्जा प्रवाह नगर्ने बैंकहरुमा एभरेष्ट बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, गलोबल आइएमई बैंक, सानिमा, हिमालयन  र नेपाल एसबीआई बैंकले सुनचाँदी धितोमा कर्जा प्रवाह गरेका छैनन्  । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको