अर्थ संसार, काठमाडौं- चिसो पानी पिउनका लागि प्रयोग गरिने माटोका गाग्री अहिले लोप हुन थालेका छन् । पाँच वर्षअघिसम्म जाजरकोट सदरमुकामलगायत जिल्लाका अधिकांश ठाउँमा माटाका गाग्री निकै प्रचलनमा ल्याइन्थ्योे । अहिले गाउँगाउँमा विद्युत् आएसँगै फ्रिजको प्रयोगले माटाका गाग्री हराएका हुन् । परिवारका साथै घरमा पाहुना आउँदा वा बटुवाले पानी माग्दा माटाको गाग्रीमा राखिएको चिसो पानी दिने चलन थियो । उक्त गाग्रीको चिसो पानी पिउने सन्तुष्ट हुने गरेको भेरी नगरपालिका– ३ का भीमबहादुर खत्रीले बताउनुभयो ।
पाहुनाको पहिलो राजाइ नै यस्तै गाग्रीको पानी हुने गरेकाले यसलाई महत्व दिने गरेको उहाँको भनाइ थियो । हिजोआज जिल्ला सदरमुकाम मात्र होइन, गाउँगाउँमा समेत त्यस्ता गाग्रीका पानी भेटिदैन । बढ्दो शहरीकरण, देखासिकी र विद्युतीय सामग्रीको प्रयोगले परम्परागतरुपमा स्थापित प्रयोग हुँदै आएका यस्ता सामग्री लोप भएका हुन् । कसैको मृत्युका बेला माटोको गाग्रीमा रहेको पानी दिने चलनसमेत हराएको शिवालय–९ का धर्मबहादुर बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “चर्को घाममा यात्रा गर्दा थाकेको शरीरलाई शीतल बनाउन यसरी चिसो पारिएको पानी पिउन दिइन्थ्यो तर अहिले त्यस्तो पाइँदैन ।”
कलधारा र मूलको पानी घरको भुइँतलाको कोठामा चिसो बालुवामा माटाका गाग्री राख्दा पानी चिसो हुने र त्यसबाट स्वाद तथा सन्तुष्टिसमेत हुने स्थानीयवासी बताउँछन् । आधुनिकतासँगै सिलाभरका भाँडा सस्तो दरमै बजारमा खरीद गर्न पाइने भएपछि माटोको गाग्रीको प्रयोगमा कमी आएको हो । कलकल बग्ने खोलाको पानी जस्तै चिसो अनि मीठो स्वाद भएको पानी पाउन अब अग्ला लेकतिर लाग्नुपर्ने बाध्यता रहेको बारेकोट गाउँपालिका– ५ का जनकबहादुर शाहीको भनाइ थियो ।
खोला, नदी, मूल प्रशस्तै भएको जिल्लामा पनि खानेपानीको गतिलो योजना नभएका कारण पानीको हाहाकार हुनाका साथै बोतलको पानी किनेर पिउनुपर्ने अवस्था अहिले सिर्जना भइसकेको छ । जिल्लाको सबै ठाउँमा अहिले प्लाष्टिकका भाँडा प्रशस्त पाइने, माटाको पानीका भाँडा लिन टाढा जानुपर्ने र यस्ता भाँडा बनाउने कुमाले समुदायले हिजोआज आफ्नो पेशा नै परिवर्तन गर्न थालकाले पनि यस्तो अवस्था आएकोे चौरजहारी नगरपालिकाका गोपाल रेग्मीले बताउनुभयो । बिक्री नै हुन छाडेकाले माटाका सामग्री निर्माण गर्नै छाडिएको चौरजहारीका कुमाले मानबहादुरको भनाइ थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस