Like us!
Follow us!
Connect us!
Watch us!

इन्टरनेटको शुल्क बढाउने गतिविधिप्रति क्यान महासंघको ध्यानाकर्षण

अर्थ संसार

मंगलबार, ०५ असोज २०७८, १४ : २५ मा प्रकाशित

इन्टरनेटको शुल्क बढाउने गतिविधिप्रति क्यान महासंघको ध्यानाकर्षण

विगत केहि दिनदेखि सरकारी निकाय नेपाल विद्युत प्राधिकरणको गतिविधिका कारण निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकबाट प्रदान भैरहेको इन्टरनेटको शुल्क बढ्ने र बढाउने प्रयासप्रति क्यान महासंघले ध्यानाकर्षण जनाएको छ ।

इन्टरनेट सेवालाई सर्वसुलभ बनाउन करको दरहरुलाई विभिन्न प्रकारले समिक्षा गर्न क्यान महासंघ र ईन्टरनेट सेवा प्रदायक संघले विगतका नीति तथा कार्यक्रम तथा बजेटमा बारम्बार दिएको सुझाव विपरित सरकारी निकायकै गतिविधिका कारण पुर्वाधारको लागत अझ बढ्न गई ईन्टरनेट सेवा प्रवाहमा प्रति ग्राहक १ सय पचासदेखि ३ सयसम्म शुल्क बढ्नु पक्कै पनि सुखद नरहेकाे महासंघले बताएकाे छ ।

क्यानले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, "निजी/सरकारी साझेदारीमा शुरुवात भएको इन्टरनेट सेवा तथा इन्टरनेट सेवालाई देशभर पुर्याउन निजी क्षेत्रको अर्बौंको लगानी, नेतृत्वदायी भुमिका तथा यसमार्फत देशको अर्थतन्त्रलाई पुर्याएको योगदानका कारण आज नेपालको इन्टरनेट सेवा यो अवस्थामा आएको कुरा सर्वविदितै छ । कोभिड–१९ जस्तो महामारीको परिस्थितिमा पनि बैंकिङ कारोबार, शैक्षिक क्षेत्र, स्वास्थ्य सेवा ठूला उद्योगधन्दा लगायतका अर्थतन्त्रसँग सम्बन्धित क्षेत्रहरु इन्टरनेटकै कारण चलायमान भएका कारणनै बन्दा-बन्दीको समयमा पनि नेपाल सरकारले करका लक्ष्यहरु प्राप्त गर्न सकेको हो भन्न हिच्किचाउनु पर्दैन । कोभिड–१९ को शुरुवाती दिनमा बन्दा-बन्दिको समयमा सुचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित सरकारी निकायको सुस्तताको कारण निजि क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुले प्रशासनिक सास्तीका वाबजुत पनि सेवा प्रबाहमा कुनै कमि हुन नदिएको कुरा स्मरण गर्नु सान्दर्भिक नै हुन्छ ।" 

विज्ञप्तिमा भनिएकाे छ, "इन्टरनेट सेवा सम्बन्धी चर्को करका वावजुत पनि नेपालमा निजि क्षेत्रबाट इन्टरनेट सेवा लिइरहेका करिव ९३ प्रतिशत ग्राहकहरुले तारसहितको इन्टरनेट सेवा अहिलेको दरमा उपभोग गर्न पाउनुमा विगतमा नेपाल विद्युत प्राधिकरणको सुझबुझपुर्ण निर्णयका कारण निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुले विद्युत प्राधिकरणको पोल तथा अप्टिकल ग्राउन्ड वायर भाडा समसामयिक दरमा प्रयोग गर्नाले आम उपभोक्तालाई सर्वसुलभ दरमा इन्टरनेट सेवा प्रदान गर्न सम्भव भएको हो ।"

क्यान महासंघले ऊर्जामन्त्री, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय तथा नेपाल विद्युत प्राधिकरणसँँग पोल तथा OPGW भाडादर बढाउने निर्णय फिर्ता लिन तथा पोल एवं OPGW भाडादर पुनरावलोकन समितिको प्रतिवेदन र मिति २०७७ साल भाद्र ५ गते बसेको नेपाल विद्युत प्राधिकरण संचालक समितिको बैठकको निर्णय अनुरुप भाडादर (पुरानो आर्थिक वर्षहरुको र हालैको) लागु गर्न अनुरोध गरेकाे छ । क्यान महासंघले पहिलेको अवस्था अनुरुप नै भाडादर प्रति पोलका दरले कायम गर्नका निम्ति सम्बन्धित पक्षहरुसँग अनुरोध गरेकाे छ । प्रति किलोमिटरका दरले पोल भाडादर कायम गर्दा इन्टरनेट सेवा प्रदायक, आम उपभोक्ता तथा डिजिटल नेपाल अभियानकै लागि व्यवहारिक नहुने क्यान महासंघको ठम्याई छ । साथै सो-सम्बन्धि निर्णयका निम्ति सम्बन्धित पक्षहरुबीच बैठक र छलफलहरु भैरहेको अवस्थामा भरतपुर लगायत देशका विभिन्न ठाउँहरुबाट इन्टरनेट सेवा प्रदायकहरुका दुरसञ्चार उपकरणहरु बिना अनुमति निकाल्नेरलैजाने, इन्टरनेट-सेवा मर्मत गर्न रोक लगाउने जस्ता क्रियाकलापहरु रोक्न तथा बिना अनुमति लगिएका दुरसञ्चार उपकरणहरु सम्बन्धित इन्टरनेट सेवा प्रदयाकहरुलाई तत्कालै फिर्ता गर्न सम्बन्धित पक्षहरुलाई क्यान महासंघले हार्दिक अनुरोध गरेकाे छ ।

त्यसैगरी, महासंघले सम्माननीय प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री, सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय तथा नेपाल दुरसञ्चार प्राधिकरणसँग प्रत्यक्ष रुपमा इन्टरनेट सेवाको शुल्क बढ्ने गतिविधिहरु प्रति हस्तक्षपकारी, अभिभावकिय एवं नेतृत्वदायी भुमिका तथा आवश्यक निर्णय र संयोजनको निम्ति समेत हार्दिक अनुरोध गरेकाे छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको