यो एक डलरको नोट अमेरिकाको सबैभन्दा सानो मूल्य अंकित प्रिन्टेड मुद्रा हो । यो भन्दा कम मूल्यको मुद्रा सिक्कामा मिन्ट हुने गर्छ ।
अमेरिकामा नोटको सट्टा ‘बिल’ भनेर पनि यस्लाई चिनिन्छ । अमेरिकी डलर मूल्यका हिसाबले संसारकै सबैभन्दा दह्रो मुद्रा त होइन । केहि खाडी मुलुकका रियाल, ब्रिटिश पाउण्ड र युरोको क्रयशक्ति वा भाउ डलर भन्दा माथि छ ।
तरपनि डलर यस्तो मुद्रा हो-यो सर्वस्वीकार्य (सबै देशले लिने) छ । अन्तर्राष्ट्रीय व्यापारमा मात्र होइन विदेशी विनिमय (फरेक्स एक्सचेन्ज रेट) का लागि डलर नै बेन्चमार्क मुद्रा हो । डलरमै आधारित रहेर संसारभरका मुद्राहरुको परिवर्त्य दर निर्धारण हुन्छ । कुन देशको इकोनमी माथि चढ्यो र कस्को गिर्यो भनेर जाँच्ने आधार पनि डलर मै हो । डलर संचिती कति छ र त्यसले बस्तुको आयातलाई कति थेग्न सक्छ भनेर तथ्यांक केलाएर अर्थतन्त्रको मापन गरिन्छ ।
संसारका कमजोर ईकोनमी भएका केहि देशमा यो एक डलरले ती देशका मुद्रा कति सटही गर्न सकिन्छ त ? आउनुस् एकै छिन यो रमाईलो तथ्य पढौँ । अर्थात तपाई हामी एक डलर लिएर साट्न गयौँ भने ती देशका मुद्रा कति पाईन्छ त ?
१) $१= भेनेजुएलन बोलिभार ४,१६,६९३.५२
२) $१= ईरानी रियाल ४२,१९०
३) $१= भियतनामी डोंग २२,७५८
(भियतनाममा बैंक नोटको सानो ईकाइ १००० बाट सुरु हुन्छ र ५ लाख डोंगसम्म हुन्छ ।)
४) $१= ईण्डोनेसिएन रुपिहा १४,१९८
५) $१= उज़्बेकिस्तानी सोम १०,६६९
६) $१= सिरियालियोनी लियोन १०,५९५
एक डलरको सटहीमा पाँच अंकभन्दा तल चार अंकका मुद्रा पाईने देश दर्जन भन्दा बढी छन् ।
- भियतनाम र ईण्डोनेसियाको ईकोनमी हरितन्नम त छैन । ती देशले बडो कुटील चाल चलेर आफ्नो देशको मुद्रालाई पटक पटक ‘डिभ्यालु’ गर्दै आएका छन् । कारण-विदेशी लगानीकर्तालाई आकर्षित गर्न र निर्यात बढाउन यस्तो खालको मोनीटरी टुल्सको प्रयोग गर्दै आएका छन् ।
सन् १९९० को सुरुवातताका रुसी रुबलको भाउ (क्रयशक्ति) यति क्षीण भएको थियो कि बोराभरि नोट बोकेर जाँदा पनि एउटा पाउरोटी किन्न पुग्दैनथ्यो । अहिले भेनेजुएलाको हालत त्यहि छ ।
मुद्रा बजारमा एउटा भनाई छ-मुद्रास्फितीले गाँजेका वा मुद्राको मूल्य नभएका देशहरुले जे जति फेसभ्यालू (अंकित मूल्य) का नोट छाप्छन् त्यो छापिएको कागजको भाउ पनि उठ्दैन ।
अब अन्तिममा यो पनि लेखिहालौँ- यति बलियो एक डलरको बिल प्रिन्ट गर्न चाहि ५.५ सेन्ट खर्च हुनेगर्छ । अर्थात एक डलरको बिल जारी गर्दा फेडरल रिजर्भलाई ९४.५ सेन्ट नाफा हुन्छ ।
(रामचन्द्र भट्टकाे फेसबूक प्राेफाइलबाट साभार)
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस