Like us!
Follow us!
Connect us!
Watch us!

मोबाइल र इन्टरनेट सेवाको गुणस्तर मापन गर्दै प्राधिकरण

पत्रपत्रिका

मंगलबार, २७ पुस २०७८, ०८ : ३१ मा प्रकाशित

मोबाइल र इन्टरनेट सेवाको गुणस्तर मापन गर्दै प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले देशभर मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर मापन गर्ने भएको छ । कुल १८ हजार किलोमिटर समेट्ने गरी प्राधिकरणले तीन प्याकेजमा गुणस्तर मापन परियोजना अगाडि बढाउन लागेको हो ।

प्राधिकरणका अनुसार पहिलो प्याकेजमा प्रदेश १ र २, प्याकेज २ मा बागमती र गण्डकी प्रदेश तथा प्याकेज ३ मा लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेश समावेश भएका छन् ।

मोबाइल तथा इन्टरनेट सेवालाई गुणस्तरीय तथा समयसापेक्ष बनाउने उद्देश्यले प्राधिकरणले तेस्रो पक्षबाट यति ठूलो स्केलमा गुणस्तर मापन गर्न लागेको हो । पछिल्लो समय मोबाइल तथा डेटाको गुणस्तरका विषयलाई लिएर धेरै गुनासो आउन थालेको पनि प्राधिकरणले जनाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले इन्टरनेट र मोबाइलको प्रयोगलाई व्यापक बनाएको छ । अनलाइन अध्ययन–अध्यापनदेखि ‘वर्क फ्रम होम’को अवधारणामा पनि विकास भएको छ । इन्टरनेट र मोबाइल फोनको प्रयोग बढ्दै गएसँगै गुणस्तरको कुरा पनि उठ्दै आएको छ । कोराना महामारीको तेस्रो लहर पनि आइसकेकोले सचेत रहन तथा भौतिक उपस्थिति भन्दा भर्चुअल माध्यमकै प्रयोग बढाउनुपर्ने अवस्था सिर्जना भएको छ ।

प्राधिकरणले आइतबार परामर्शका लागि आशयपत्र माग गरेको छ । प्राधिकरणका अनुसार मोबाइल सेवा अन्तर्गत सबै सेवाप्रदायकको भ्वाइस, एसएमएस तथा डेटाको गुणस्तर ड्राइभ टेस्टका आधारमा मापन गरिने भएको छ । जसमा परामर्शदाताले ग्रामीण तथा सहरी भेगका साथै राजमार्ग तथा सहायक राजमार्गमा समेत परीक्षण गर्नुपर्ने जनाइएको छ । त्यसका लागि कम्पनी आफैंले सिस्टम ल्याएर मोबाइल सेवाको गुणस्तर मापन गरी दूरसञ्चार प्राधिकरणलाई प्रतिवेदन बुझाउनुपर्ने जनाइएको छ ।

प्राधिकरणले पर्न आएका निवदेनमध्ये तीन वटा प्याकेजका लागि कम्तीमा ६ वटा आवेदनलाई सर्टलिस्ट गर्नेछ । सर्टलिस्ट मध्येबाट उपयुक्त कम्पनी छनोट गरी प्राधिकरणले गुणस्तर अध्ययनका लागि मार्ग खुला गर्नेछ । गुणस्तरका विषयमा देशव्यापी रुपमा एक साथ अध्ययन गर्न लागेको यो पहिलो पटक भएको प्राधिकरणले जनाएको छ । यसअघि पनि प्राधिकरणले गुणस्तरका विषयमा अध्ययन गर्दै आएको थियो । तथापि यो अध्ययन तेस्रो पक्षबाट गर्न लागिएकोले दूरसञ्चारका क्षेत्रमा गुणस्तर मापनलाई लिएर कोशेढुंगा बन्ने विश्वास गरिएको छ ।

यसअघि सन् २०१९ मा भक्तपुर, पोखरा, पृथ्वी राजमार्ग र बाग्लुङमा गरिएको गुणस्तर परीक्षण अनुसार अधिकांश नेपाली उपभोक्ता रहेका नेपाल टेलिकम र एनसेलजस्ता कम्पनीको सेवाको गुणस्तर कमजोर रहेको पाइएको थियो । कल कायम हुन लाग्ने समय, कल सफलता दर र आफैँ कल काटिने दरलाई हेर्दा ती कम्पनीहरूले तोकिएका मापदण्डहरू पूरा नगरेको अध्ययनले देखाएको थियो । टावर र अन्य पूर्वाधारमा कमसल उपकरणको प्रयोग हुनु, बढ्दो उपभोक्ता संख्याअनुसार क्षमता वृद्धि नगरिनु, नेटवर्क प्रवाहमा रोकावट गर्ने खालको भूगोल, गुणस्तर कायम गराउन कडा कारबाही नहुनु जस्ता समस्या छन् । प्राधिकरणका गुणस्तर व्यवस्थापनसम्बन्धी विनियमावली अनुसार मोबाइल सेवामा कल स्थापित हुने दर ९९ प्रतिशत वा त्यसभन्दा माथि हुनुपर्ने प्रावधान छ । यसको अर्थ १०० पटक फोन गर्दा ९९ पटक लाग्नुपर्छ ।

कारोबार दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको