अर्थ संसार
काठमाडौं–अपि पावरद्वारा प्रबर्धित कम्पनी सिद्धकाली पावर लिमिटेडले ७५ मेगावाट क्षमताको त्रिशुली–गल्छी आयोजनाबाट विद्युत उत्पादन गर्न अनुमतिपत्र (लाइसेन्स) पाएको छ ।
कम्पनीले ऊर्जा मन्त्रालयबाट लाइसेन्स पाएको हो । सिद्धकालीको विद्युत खरिद गर्न नेपाल विद्युत प्राधिकरणसँग गत जेठमा सम्झौता भएको थियो । आयोजनामा अपि पावरले ८० प्रतिशत लगानी गरेको छ । कम्पनीले सर्बसाधारणलाई संस्थापक सेयरमा लगानी गर्न आह्वान गरेको छ । यसअघि अपिले सुदुरपश्चिममा साढे ८ मेगावाटको नौगाड जलविद्युत आयोजना सम्पन्न गरी विद्युत उत्पादन गरिरहेको छ ।
सिद्धकाली पावरले नुवाकोट र धादिङ्ग जिल्ला भई बहने त्रिशुली नदीको पानी उपयोग गरी ७५ मेगावाट क्षमताको यो जलविद्युत परियोजना निर्माण गर्ने तयारी गरिरहेको छ । परियोजनामा नुवाकोट जिल्लाको रातमाटे–८ स्थित त्रिशुली नदीमा बाँध बनाएर टनेलमार्फत धादिङ्गको कल्लेरी गाविसस्थित हाँडीखोलाटारमा पानी खसालेर विद्युत गृह निर्माण गर्ने कम्पनीले जनाएको छ ।
यस आयोजनाबाट उत्पादन हुने विद्युत सरकारले निर्माण गर्ने न्यूमस्र्यांदी–काठमाडौं २२० केभी ट्रान्समिसन लाईनमा जोडेर राष्ट्रिय प्रसारण लाईनमार्फत देशभर आपुर्ती हुने कम्पनीका संचालक पूजा दाहालले बताइन् । परियोजनाको निर्माणपछि राजधानी शहर काठमाडौं विद्युतको आपूर्ति बढ्न गई लोडसेडिङ कम गर्न सहयोग पुग्ने कम्पनीको दावी छ ।
त्रिशुली गल्छी जलविद्युत आयोजनाको विस्तृत अध्ययन (डिपीआर) भारतको बंगलोरमा प्रधान कार्यालय रहेको डिजाइन ग्रुप कन्सल्टेन्टमार्फत भएको हो । परियोजनाको बिस्तृत संभाव्यता अध्ययन भएपछि गत जेठ १२ गते विद्युत खरिदबिक्री सम्झौता भइसकेको छ । कम्पनीले यसपछि वित्तिय व्यबस्थापन गरी सरकारबाट विद्युत उत्पादन गर्ने अनुमति लिएर आगामी माघभित्र निर्माण कार्य सुरु गर्ने लक्ष्य राखेको संचालक दाहालले बताइन् । परियोजना ४ वर्षमा निर्माण सम्पन्न गर्ने कम्पनीको लक्ष छ ।
आयोजनाको बिस्तृत डिजाइनका लागी भारतको नोयडास्थित स्ट्राटा एन्ड स्ट्रक्चर कम्पनीलाई नियुक्त गरिएको छ । ‘‘यस आयोजनामा ठूला संरचनाहरू निर्माण गर्नु पर्ने हुन्छ,’ दाहालले भनिन्, ‘यसका लागी विदेशी विज्ञ र प्रविधिको आवश्यकता पर्ने छ । ती काम स्वदेशी, चिनियाँ र भारतीय कम्पनीहरूबाट गराइनेछ ।’
यस परियोजनाको निर्माण लागत १४ अर्ब ४ करोड ३७ लाख हुने अनुमान छ । यस हिसाबले विद्युत उत्पादन हुँदा आयोजनाको लागत प्रतिमेगावाट १८.७२ करोड रुपैयाँ पर्ने छ । राजधानीबाट नजिक तथा आधारशिलाहरूको सुव्यबस्था भएकोले परियोजना लाभदायक हुने संचालक दाहालको दावी छ ।
त्रिशुली गल्छी जलविद्युत परियोजना निर्माणको लागी लाग्ने लगानीमध्ये ९ अर्ब ८३ करोड (७० प्रतिशत) लक्ष्मी बैंकको अगुवाईमा कन्सोर्टियम बनाई लगानी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ । बाँकी ४ अर्ब २१ करोड ३७ लाख शेयरधनीहरू लगानी जुटाईनेछ । सिद्धकाली पावर लिमिटेडकोे बहुमत शेयरमा अपि पावर लिमिटेडले लगानी गर्नेछ । परियोजना प्रभावित जिल्लाहरू (धादिङ्ग र नुवाकोट)का बासिन्दालाई १० प्रतिशत (४२ करोड १४ लाख) रुपैयाँ बराबरको शेयर छुट्ट्याईएको छ । सर्वसाधारण लगानीकर्ताका लागि १५ प्रतिशत छुट्ट्याइएको दाहालले बताइन् ।
यस आयोजनाबाट बार्षिक ४२.९८ करोड किलोवाट घण्टा विद्युत उर्जा उत्पादन हुनेछ । उत्पादित उर्जामध्ये ७.२४ करोड किलोवाट घण्टा हिऊँदका चार महिनाहरूमा (पुस–चैत) तथा ३५.७४ करोड किलोवाट घण्टा वर्षातका आठ महिनाहरूमा (बैशाख–मंसिर) उत्पादन हुन्छ ।
हिउँद्का चार महिनामा उत्पादन हुने विद्युतको बिक्री मूल्य ८ रुपैयाँ ४० पैसा र वर्षातका ८ महिनामा उत्पादन हुने विद्युतको विक्री मूल्य ४ रुपैयाँ ८० पैसा तोकिएको छ । यस मूल्यमा पहिलो ८ वर्षसम्म ३ प्रतिशतका दरले मूल्य वृद्धि हुने प्रावधान सम्झौतामा छ ।
त्रिशुली गल्छी जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको पहिलो वर्ष २ अर्ब २८ करोड ७४ लाख रुपैयाँ तथा नवौं वर्षदेखि बार्षिक २ अर्ब ४३ करोड १५ लाख रुपैयाँका दरले आय आर्जन गर्ने अनुमान छ । उक्त आम्दानीबाट कम्पनीको व्यबस्थापन खर्च, परियोजना संचालन खर्च, सरकारलाई तिर्नुपर्ने रोयल्टीको भुक्तानी, बैंक ऋणको सावाँ तथा व्याज भुक्तानी गरी बचेको रकमबाट शेयरधनीहरूलाई लाभांश उपलव्ध गराईने संचालक दाहालले बताइन् ।
परियोजना निर्माणको क्रममा स्थानीय जनता तथा सर्वसाधारणका लागि कम्पनीले संस्थागत लगानीकर्ताका रुपमा लगानी खुल्ला गरेको छ । ईच्छुक लगानीकर्ताले परियोजनाको शेयरमा न्यूनतम १ लाख रुपैयाँदेखि लगानी गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले थापाथलीस्थित ट्रेड टावरबाट सेयर फर्म वितरण गरिरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस