मधेसका अन्य जिल्ला सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा रहेका धनुषाको क्षेत्र नम्बर १ को मत परिणाम सार्वजनिक गर्नमा निर्वाचन आयोगले रोक लगाएको छ। रास्वपाका उम्मेदवार किशोरी साह कमल विवादमा परेपछि आयोगले यसअघि उनको मतगणनाको छुट्टै लगत राखि निर्वाचन परिणाम घोषणा गर्न निर्देशन दिएको थियो। तर दुई दिन नबित्दै आयोगको यो निर्देशन फेरिएको छ।
आयोगले उम्मेदवारी खारेजी सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतको अन्तिम आदेश नआउन्जेल मत परिणाम सार्वजनिक नगर्न भनी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरेको हो। आयोगले फागुन २४ गते जारी गरेको पत्रमा आयोगको बैठकले उक्त विषयसँग सम्बन्धित रिट निवेदन अदालतमा विचाराधीन रहेकाले कानुनी प्रक्रिया टुंगो नलागेसम्म परिणाम घोषणा नगर्ने निर्णय गरेको उल्लेख गरिएको छ। सोही आधारमा धनुषा जिल्ला स्थित निर्वाचन अधिकृतको कार्यालयलाई आवश्यक जानकारी आयोगसमक्ष पठाउनसमेत निर्देशन दिइएको छ।
साहको नाम ऋण कर्जाको कालोसूचीमा रहेको भनी उजुरी परेपछि निर्वाचनको पूर्व सन्ध्यामा आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो। उम्मेदवारी खारेज भएपनि उनलाई निकै मत परेपछि मतलाई अधिकारिकता दिन भनी लामो विवादपछि आयोगले त्यसको छुट्टै लगत राखि मत परिणाम सार्वजनिक गर्न निर्देशन दिएको थियो।
यसैबीच, अहिलेसम्मको मतगणनाको अवस्थाअनुसार रास्वपाका साहले २४ हजार मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्।
त्यसैगरी नेपाली कांग्रेस का रामपलटन साह ८ हजार ५१० मतसहित दोस्रो स्थानमा रहेका छन् भने नेपाल कम्युनिस्ट पार्टी का मातृका यादव ८ हजार ४४३ मतसहित तेस्रो स्थानमा छन्। यस्तै, नेकपा एमाले का रामचन्द्र मण्डल ७ हजार ९४२ मतसहित चौथो स्थानमा रहेका छन्। अहिलेसम्म मतगणना जारी नै छ।
मतगणना सम्पन्न भए पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले उक्त निर्वाचन क्षेत्रको अन्तिम परिणाम घोषणा भने हाललाई रोकिएको छ। अदालतबाट आउने आदेशपछि मात्रै औपचारिक रूपमा विजयी उम्मेदवार घोषणा गरिने बताइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस