ओभर द काउन्टर (ओटीसी) मार्केटमा ३ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । चालु आर्थिक वर्षको ७ महिना अर्थात, माघसम्म ओटीसीमा ३ अर्ब २६ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार विभिन्न ३० वटा कम्पनीहरुको फरक फरक मितिमा सेयर कारोबार भएको छ । स्टक एक्सचेन्जमा सूचीकृत नभएका पब्लिक कम्पनीहरुको कारोबार ओटीसी मार्केटमा हुने गर्दछ । नेप्सेले नै ओटीसी मार्केट सञ्चालन गर्ने गरेको छ । नेप्सेका अनुसार यो अवधिमा फोन पे पेमेन्ट सर्भिसको सबैभन्दा धेरै १ अर्ब ५१ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसको ११ लाख ५२ हजार ११ कित्ता सेयर किनबेच भएको छ ।
त्यस्तै, होटल फरेस्ट इनको २१ करोड ८२ लाखको सेयर किनबेच भएको छ । यद्दपि, अहिले यस कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएर कारोबार भइरहेको छ । यो सूचीकरण हुनु भन्दा अगाडि गरिएको कारोबार विवरण हो । त्यसैगरी, बिजनेस इन्ट्रेस्ट ग्रुप अफ इन्डष्ट्रिको १८ करोड ६७ लाख, बुढानिलकण्ठ हेरिटेजको विभिन्न मितिमा २९ करोड ६३ लाख, इलेक्ट्रो पावरको १४ करोड १४ लाख, इसेवाको ४ करोड ९७ लाख, स्रवोत्तम स्टिल्सको विभिन्न मितिमा २६ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । समग्रमा १ करोड ६० लाख ८८ हजार ७२९ कित्ता सेयर कारोबार भएको छ ।
७ महिनामा ओटीसी मार्केटमा ३ अर्ब २६ करोड रुपैयाँ बराबरको सेयर कारोबार हुँदा लगानीकर्ताले ३१ करोड ५ लाख ९२ हजार रुपैयाँ बराबर पुँजीगत लाभकर तिरेका छन् । जसमध्ये फोनपेको सेयर कारोबारबाट सबैभन्दा धेरै पुँजीगत लाभकर उठेको छ ।
यो कारोबारमा सरकारलाई १८ करोड ३५ लाख रुपैयाँ प्राप्त भएको छ । इसेवाको सेयर कारोबारबाट सरकारलाई ७ करोड ८२ लाख कर आम्दानी भएको छ । प्रि आईपीओको कारणले नै ओटीसीमा यसरी कारोबार बढेको छ । यहाँ कारोबार हुने धेरै कम्पनीहरुले आईपीओ जारी गर्दैछन् । ती मध्ये केही कम्पनीको संस्थाहरुले लगानीकर्तालाई आइपीओ जारी गर्नु भन्दा अगाडि नै आफूसँग भएको संस्थापक सेयर बिक्री गरेका छन् । सोही सेयर ओटीसी मार्केटमा कारोबार भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस