बैंकिङ क्षेत्रमा शाखारहित सेवाग्राहीको संख्या निरन्तर घट्दै गएको छ । मोवाईल र इन्टरनेट बैंकिङ सेवाको तुलनामा शाखारहित सेवा महँगो र झन्झटिलो भएकाकारण पनि पछिल्लो समय बैंक तथा फाइनान्स कम्पनीहरुले शाखारहित सेवा केन्द्रलाई निरुत्साहित गर्ने क्रम बढेसंगै शाखारहित सेवाग्राहीहरुको संख्या पनि घट्दै गएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो छ महिना अर्थात् पुस मसान्तसम्ममा बैंकिङ क्षेत्रमा शाखारहित सेवा केन्द्रको कुल संख्या घटेर ७८८ मा झरेको छ । जसमध्ये वाणिज्य बैंकहरुमा ७८४ र विकास बैंकहरुमा चारवटा शाखारहित सेवा केन्द्र रहेको छ भने फाइनान्स कम्पनीहरुमा यस्तो संख्या शून्य रहेको छ । गत आवको सोही अवधिमा शाखारहित सेवा केन्द्रको कुल संख्या १ हजार ६५ रहेको थियो । जसमध्ये वाणिज्य बैंकहरुमा १ हजार ४८ र विकास बैंकहरुमा १७ रहेको थियो । राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो ६ महिनाको अवधिमा बैंकिङ क्षेत्रमा शाखारहित सेवा केन्द्रका कुल ग्राहक संख्या पनि घटेर २ लाख ७६ हजार ६७५ मा झरेको छ । जसमध्ये वाणिज्य बैंकहरुमा २ लाख ७६ हजार १२८ र विकास बैंकहरुमा ५४७ रहेको छ । गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रमा शाखारहित सेवा केन्द्रतर्फको कुल ग्राहक संख्या २ लाख ९९ हजार ८४७ रहेको थियो । जसमध्ये वाणिज्य बैंकहरुमा २ लाख ९८ हजार २७३ र विकास बैंकहरुमा १ हजार ३७४ रहेको थियो ।
मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या करिब ३ करोड
बैंकिङ क्षेत्रमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या झण्डै ३ करोड पुगेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको पुस मसान्तसम्ममा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५४ वटा संस्थाहरुमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको कुल संख्या २ करोड ९० लाख २ हजार ९८४ पुगेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा झण्डै ३० लाखले बढी हो । गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रमा मोबाईल बैंकिङ प्रयोगकर्ताको कुल संख्या २ करोड ६३ लाख ३६ हजार ११७ रहेको थियो ।
चालू आवको पछिल्लो छ महिनाको अवधिमा वाणिज्य बैंकहरुमा मात्र मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ४८ लाख ५३ हजार ३० रहेको छ । यसैगरी विकास बैंक र फाइनान्स कम्पनीहरुमा यस्तो संख्या क्रमशः ३८ लाख ३० हजार ६०९ र ३ लाख १९ हजार ३४५ रहेको छ । गत आवको सोही अवधिमा भने वाणिज्य बैंक, बिकास बैंक र फाइनान्स कम्पनीहरुमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या क्रमशः २ करोड २५ लाख ५३ हजार ८५८, ३५ लाख ३६ हजार ५०३ र २ लाख ७३ हजार ७५६ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो छ महिनामा अवधिमा नेपालमा इन्टरनेट बैंकिङ ग्राहक संख्या भने २३ लाख २८ हजार ३४३ पुगेको छ । सोमध्ये वाणिज्य बैंकमा १७ लाख ४ हजार ४२९, विकास बैंकहरुमा ६ लाख ४ हजार १४१ र फाइनान्स कम्पनीहरुमा १९ हजार ७७३ रहेका छन् । गत आवको सोही अवधिमा भने यस्तो ग्राहक संख्या २१ लाख १८ हजार ३८४ रहेको थियो । जमध्ये वाणिज्य बैंकहरुमा १४ लाख ८७ हजार ३५५, विकास बैंकहरुमा ६ लाख १३ हजार ८८८ र फाइनान्स कम्पनीहरुमा १७ हजार १४१ रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस