चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमास (साउन–असोज) मा ३.४ प्रतिशतले आर्थिक वृद्धिदर प्राप्त भएको पाइएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासको तुलनामा ३.४ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको हो ।
यो त्रैमासमा सकारात्मक आर्थिक वृद्धि हुनुमा कृषि उत्पादनमा भएको वृद्धि, विद्युत् उत्पादन तथा वितरणमा भएको वृद्धि, पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको वृद्धि प्रमुख कारक रहेको कार्यालयले प्रस्ट्याएको छ ।
‘यसका अतिरिक्त यातायात क्षेत्रमा भएको वृद्धि, स्वास्थ्य सेवामा भएको वृद्धि, सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख रहेको हो । खासगरी यस अवधिमा गएको बाढी तथा पहिरोको नकारात्मक प्रभाव र निर्माण क्षेत्रको वृद्धि धनात्मक हुन नसकेकाले अर्थतन्त्रको वृद्धि सामान्य रहन गएको अनुमान रहेको छ,’ प्रतिवेदनमा उल्लेख छ ।
कुन क्षेत्रको वृद्धिदर कति ?
पहिलो त्रैमासमा सबैभन्दा उच्च दरले वृद्धि भएको क्षेत्र विद्युत् र ग्यास रहेको देखिएको छ । कार्यालयका अनुसार यो क्षेत्रको वृद्धिदर सबैभन्दा धेरै (२१.४ प्रतिशत) रहेको छ।
यातायात तथा गोदाम क्षेत्र ६.७ प्रतिशत वृद्धिदर सहित दोस्रो धेरै वृद्धि हुने औद्योगिक क्षेत्र रहेको छ।
यी औद्योगिक क्षेत्रलाई पछ्याउँदै आवास तथा भोजन सेवा क्षेत्रले ६.३ प्रतिशत वृद्धिदर कायम गरेको छ। निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा बीमा क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ५.७ प्रतिशत हुने अनुमान गरिएको छ। प्रशासनिक सहयोगी सेवा क्षेत्रको वृद्धिदर ५.४ प्रतिशत र पेशागत वैज्ञानिक तथा प्राविधिक सेवाको वृद्धिदर ५.१ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ।
अर्थतन्त्रको दोस्रो ठूलो क्षेत्र थोक तथा खुद्रा व्यापार क्षेत्रको चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ०.५ प्रतिशतले मात्र वृद्धि हुने प्रारम्भिक अनुमान छ। कृषि तथा व्यापारजन्य वस्तुहरूको स्वदेशी उत्पादनमा भएको सामान्य वृद्धि तथा प्रमुख व्यापारजन्य वस्तुको आयातमा भएको सामान्य वृद्धिका कारणले गर्दा केही सुधार देखिएको उल्लेख गरिएको छ। यो त्रैमासमा औद्योगिक वस्तु उत्पादन क्षेत्रको मूल्य अभिवृद्धि २.३ प्रतिशतले धनात्मक रहन गएको छ।
सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस