सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयवासीका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिन आज मंसिर २१ गते अन्तिम अवसर रहेको छ। कम्पनीले मंसिर ७ गतेदेखि सोलुखुम्बु जिल्लाका स्थानीय बासिन्दालाई लक्षित गर्दै आईपीओ बिक्री खुला गरेको थियो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि कुल १ करोड कित्ता सेयर निष्काशन गरेको छ। उक्त सेयरमध्ये ४० लाख कित्ता अति प्रभावित क्षेत्रअन्तर्गत पर्ने सोलु दुधकुण्ड नगरपालिकाका वडा नम्बर ७ र ११ तथा थुलुङ दुधकोशी गाउँपालिकाको वडा नम्बर १ का स्थायी बासिन्दाका लागि छुट्याइएको छ। बाँकी ६० लाख कित्ता सोलु दुधकुण्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकाका अन्य वडाका स्थानीय बासिन्दालाई वितरण गरिने व्यवस्था गरिएको छ।
यस आईपीओमा स्थानीय आवेदकहरूले न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म सेयरका लागि आवेदन दिन सक्ने छन्।
यसअघि कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १० लाख कित्ता सेयर निष्काशन गरिसकेको जनाएको छ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई कार्तिक २४ गते प्रारम्भिक सार्वजनिक निष्काशनको अनुमति प्रदान गरेको हो। बोर्डबाट प्राप्त अनुमतिअनुसार सोलु हाइड्रोपावर लिमिटेडले कुल २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता सेयर निष्काशन गर्ने स्वीकृति पाएको छ।
कम्पनीले सोलुखुम्बु जिल्लामा निर्माण गरेको ८२ मेगावाट क्षमताको लोवर सोलु जलविद्युत आयोजना निर्माण कार्य सम्पन्न गरी २०८२ साउन २४ गतेदेखि व्यापारिक रूपमा विद्युत उत्पादन सुरु गरिसकेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस