चैत २६ गतेका लागि भृकुटीमण्डपमा आमसभा गर्न चाहेको राप्रपालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले सो स्थानमा कार्यक्रम गर्न अनुमति नदिने निर्णय गरेको छ।
प्रशासनले आइतबार राप्रपामा पठाएको पत्रमा शिक्षक आन्दोलन, राष्ट्रिय जनमोर्चाका पूर्वनिर्धारित कार्यक्रम लगायतका कारण भृकुटीमण्डप हालका लागि उपयुक्त स्थान नरहेको स्पष्ट गरिएको छ। सुरक्षा संवेदनशीलताको दृष्टिले पनि त्यहाँ कार्यक्रम गर्न कठिन हुने भन्दै सिफल चौर वा बल्खु क्षेत्र वैकल्पिक रूपमा सुझाइएको छ।
राप्रपाले गत चैत २२ गते भृकुटीमण्डपको माग गर्दै प्रशासनलाई औपचारिक अनुरोध पठाएको थियो। तर, जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा उक्त माग अस्वीकार गरिएको प्रशासनले जनाएको छ।
‘अवस्था बदल्न व्यवस्था बदलौँ’ भन्ने नाराका साथ राप्रपाले आयोजना गर्न लागेको आमसभामा ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को समेत सहभागिता रहने बताइएको छ। समितिका कार्यबाहक संयोजक जगमान गुरुङले राष्ट्रिय झन्डासहित उपस्थित भएर शान्तिपूर्ण सहभागिताको आह्वान गरेका छन्।
यद्यपि, यसअघि चैत १५ गते तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनमा हिंसात्मक घटना देखिएकाले प्रशासन थप सजग बनेको बताइएको छ। सुरक्षा जोखिम न्यून पार्न र परिस्थिति नियन्त्रणमा राख्न भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिएको जनाइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस