Like us!
Follow us!
Connect us!
Watch us!

के २०२६ विश्वकपसँगै सकिनेछ लियोनेल मेस्सीको अन्तर्राष्ट्रिय यात्रा?

अर्थ संसार

मंगलबार, ३० असार २०८३, ०६ : २४ मा प्रकाशित

के २०२६ विश्वकपसँगै सकिनेछ लियोनेल मेस्सीको अन्तर्राष्ट्रिय यात्रा?

अर्जेन्टिनाका कप्तान तथा विश्व फुटबलका महान खेलाडी लियोनेल मेस्सीले फिफा विश्वकप २०२६ पछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने सम्भावनाबारे चर्चा चुलिएको छ। विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनाले बुधबार इङ्ग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नुअघि मेस्सीको भविष्यलाई लिएर विश्वभर चासो बढेको हो।

३९ वर्षीय मेस्सीले प्रतियोगिताकै बीचमा आफ्नो जन्मदिन मनाएका थिए। उमेर बढ्दै गए पनि उनको प्रदर्शन भने अझै उत्कृष्ट देखिएको छ। जारी विश्वकपमा उनले ८ गोल गर्दै फ्रान्सका स्टार खेलाडी किलियन एम्बाप्पेसँग संयुक्त रूपमा गोल्डेन बुटको दौडमा अग्रस्थानमा छन्।

यस संस्करणमा मेस्सीले विश्वकप इतिहासमा चारवटा क्वार्टरफाइनल खेल सुरु गर्ने चौथो खेलाडी बन्ने कीर्तिमान पनि बनाएका छन्। यसअघि जर्मनीका लोथार म्याथाउस, मिरोस्लाभ क्लोजे र उवे सिलरले मात्रै यस्तो उपलब्धि हासिल गरेका थिए।

अर्जेन्टिना सेमिफाइनलमा पराजित भए इङ्ग्ल्यान्डविरुद्धको खेल मेस्सीको विश्वकप करियरको अन्तिम खेल हुन सक्छ। यदि अर्जेन्टिना फाइनलमा पुगेर उपाधि जित्न सफल भए पनि सन् २०३० मा हुने अर्को विश्वकपमा मेस्सीको सहभागिता निकै कठिन मानिएको छ। अर्को विश्वकप आयोजना हुँदा उनी ४२ वर्षका हुनेछन्।

यद्यपि, मेस्सीले अहिलेसम्म विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने वा नलिने विषयमा कुनै आधिकारिक घोषणा गरेका छैनन्। त्यसैले उनको भविष्यबारे भइरहेको चर्चा अहिले अनुमानमै सीमित छ।

यसैबीच, मेस्सीका समकालीन खेलाडी क्रिस्टियानो रोनाल्डो र नेयमार जुनियरले भने आफ्नो अन्तिम विश्वकप खेलिसकेको संकेत दिइसकेका छन्। नेयमारले त अन्तर्राष्ट्रिय फुटबलबाट पनि सन्यास लिने घोषणा गरिसकेका छन्।

अब सबैको नजर अर्जेन्टिना र इङ्ग्ल्यान्डबीच हुने सेमिफाइनलमा केन्द्रित छ। अर्जेन्टिनाले फाइनल यात्रा तय गर्न सफल हुन्छ वा हुँदैन, र त्यसपछि मेस्सीले आफ्नो अन्तर्राष्ट्रिय भविष्यबारे के निर्णय गर्छन् भन्ने विषय फुटबल समर्थकमाझ सबैभन्दा ठूलो उत्सुकताको केन्द्र बनेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको