Like us!
Follow us!
Connect us!
Watch us!

आजबाट नयाँ युगको सुरुवात! नागढुंगा सुरुङमार्गको औपचारिक उद्घाटन हुँदै

अर्थ संसार

सोमबार, ११ साउन २०८३, ०८ : ०१ मा प्रकाशित

आजबाट नयाँ युगको सुरुवात! नागढुंगा सुरुङमार्गको औपचारिक उद्घाटन हुँदै

नेपालकै पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आज (साउन ११) औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का उच्च अधिकारीहरूको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरिने कार्यक्रम रहेको छ।

काठमाडौंको टोटेपाखालाई धादिङको सिस्नेखोलासँग जोड्ने करिब २ हजार ६८८ मिटर लामो सुरुङमार्ग राजधानी प्रवेश र बाहिरिने यात्रालाई सहज बनाउने अपेक्षा गरिएको छ। आयोजनाको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते गरेका थिए।

प्रारम्भमा सीमित सवारीलाई मात्रै अनुमति

सुरुङमार्ग सञ्चालनको पहिलो चरणमा एम्बुलेन्स, सुरक्षा निकायका सवारीसाधन तथा अन्य अत्यावश्यक चारपांग्रे सवारीलाई मात्र प्रवेश दिइनेछ। मोटरसाइकल, पेट्रोलियम ट्यांकर, ग्यास बुलेटलगायतका केही सवारीसाधनलाई तत्काल सञ्चालन अनुमति नदिइने जनाइएको छ।

सडक विभागका अनुसार केही दिन सुरुङमार्गको सुरक्षा, ट्राफिक व्यवस्थापन तथा सञ्चालन प्रणालीको परीक्षण गरिनेछ। परीक्षण सफल भएपछि क्रमशः अन्य सवारीसाधनलाई पनि सञ्चालनको अनुमति दिइनेछ।

परीक्षण अवधिमा निःशुल्क, त्यसपछि आरएफआईडीमार्फत शुल्क

परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कुनै शुल्क नलिइनेछ। नियमित व्यावसायिक सञ्चालनपछि भने टोल शुल्क आरएफआईडी (RFID) आधारित एन–ट्याग प्रणालीमार्फत स्वचालित रूपमा असुल गरिनेछ। सवारीधनीले सम्बन्धित बैंकमार्फत एन–ट्याग स्टिकर लिएर त्यसमा आवश्यक रकम लोड गर्नुपर्ने व्यवस्था गरिएको छ।

कुन सवारीलाई कति शुल्क?

सडक विभागले निर्धारण गरेको टोल दरअनुसार:

  • कार, जीप, भ्यान र पिकअप
    • काठमाडौं प्रवेश गर्दा: रु. ६५
    • काठमाडौं बाहिरिँदा: रु. ६०
  • मिनीबस, मिनी ट्रक, टिपर तथा ट्यांकर
    • काठमाडौं प्रवेश गर्दा: रु. ११५
    • काठमाडौं बाहिरिँदा: रु. ८०
  • ठूला बस र ट्रक
    • काठमाडौं प्रवेश गर्दा: रु. २६०
    • काठमाडौं बाहिरिँदा: रु. २००
  • बहु-अक्ष (Multi-axle) ट्रक तथा भारी उपकरण बोकेका सवारी
    • काठमाडौं प्रवेश गर्दा: रु. ६००
    • काठमाडौं बाहिरिँदा: रु. २५०

सुरुङमार्ग निर्माणका लागि प्रारम्भिक लागत करिब रु. २२ अर्ब अनुमान गरिएको थियो। तर निर्माण अवधि पटक–पटक थपिँदा आयोजनाको कुल लागत रु. ३० अर्बभन्दा बढी पुगेको छ।

आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को करिब रु. २२ अर्ब बराबरको सहुलियतपूर्ण ऋण रहेको छ भने बाँकी रकम नेपाल सरकारले व्यहोरेको हो। निर्माण कार्य जापानी कम्पनी हाज्मा–आन्दो जेभीले सम्पन्न गरेको हो।

नागढुंगा–नौबिसे सडकखण्डमा वर्षौंदेखि हुने सवारी जाम कम गर्दै काठमाडौं प्रवेश र बाहिरिने यात्रालाई छिटो, सुरक्षित र सहज बनाउने उद्देश्यले निर्माण गरिएको यो सुरुङमार्गलाई नेपालको पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ। पूर्ण रूपमा सञ्चालनमा आएपछि राजधानीको मुख्य प्रवेशद्वारको ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको