ऊर्जा मन्त्रालयमा वरिष्ठ ऊर्जा विज्ञका रूपमा कार्यरत प्रबल अधिकारीले अकस्मात पदबाट राजीनामा दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको भावनात्मक स्टाटसमार्फत उनले आफूले नयाँ वर्षको संघारमा विश्राम लिएको घोषणा गरेका हुन्।
गत भाद्र १३ गतेको मन्त्रिपरिषद् बैठकबाट ऊर्जा मन्त्रालयमा विशिष्ट श्रेणी बराबरको वरिष्ठ ऊर्जा विज्ञ पदमा नियुक्त भएका अधिकारीले ‘नयाँ बाटो’ रोज्ने निर्णय आफूले नै लिएको स्पष्ट पारेका छन्। उनले लेखेका छन्, “मैले नयाँ वर्षमा नयाँ बाटो हिँड्नुपर्छ भनेर पुरानो बाटोबाट मोडिन खोजेको हुँ। यो मैले नै तय गरेको बाटो हो। त्यसर्थ व्याख्यात्मक टिप्पणी यसले नमाग्ला भन्ने ठानेको छु।”
ऊर्जा मन्त्रालयमा कार्यकाललाई ‘फ्ल्यासब्याक’ भनेर स्मरण गरेका अधिकारीले ऊर्जा क्षेत्रप्रति आफ्नो लगाव र सिर्जनशीलता भने निरन्तर रहने उल्लेख गरेका छन्। उनका अनुसार, अबको भूमिकामा केही रुप, बनावट वा शैली फरक हुनसक्छ तर नेपालको ऊर्जा क्षेत्रमा राज्य र निजी क्षेत्रको सहकार्यमै सफलता सम्भव हुने आफ्नो धारणा यथावत् रहेको उनले बताएका छन्।
उनले ऊर्जा मन्त्रालयमा रहँदा प्राप्त अनुभव, सिकाइ, सफल र चुनौतीपूर्ण पलहरूबारे खुलेर बोलेका छन्। साथै, अब केही समय निजी तथा पारिवारिक जीवनलाई प्राथमिकता दिने संकेत दिँदै उनले “मोनोटोनस/सेड्युल्ड दिनचर्याबाट अलि रिफ्रेस हुनुछ” भनेका छन्।
प्रधानमन्त्री, मन्त्री, सचिवदेखि सल्लाहकार, निजि सचिवालयका सदस्य र सञ्चारकर्मीहरूप्रति आभार व्यक्त गर्दै अधिकारीले “धमिलो पानीमा माछा मार्ने” मानसिकता प्रति व्यंग्य प्रकट गरेका छन्। उनले स्टाटसबाहेक कुनै अन्य सञ्चार माध्यम वा फोनवार्तामा संलग्न नरहेको स्पष्ट गर्दै “मर्यादित पत्रकारिताको अभ्यास गर्न” सञ्चारकर्मीहरूप्रति विनम्र अनुरोध समेत गरेका छन्।
राजीनामाको कारणबारे उनले सीधै केही नबताए पनि ‘स्वेच्छाले नयाँ बाटो रोजिएको’ संकेत गरिएको छ। ऊर्जा मन्त्रालयमा उनको भूमिका विशिष्ट मानिँदै आएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस