अहिले सेयर बजार निकै संकुचनको अवस्थामा रहेको छ । करिब २ तिहाइको सरकार बनेपछि सेयर बजारले हालसम्मको उच्च विन्दु ३२०० पनि पार गरेर नयाँ रेकर्ड कायम गर्ने अपेक्षा गरिएको थियो । तर, नयाँ सरकार बने पछिका दिनहरुमा लगातार जसो सेयर बजारमा गिरावट नै आइरहेको छ । पुँजी बजारमा अंकको मात्रै गिरावट होइन कारोबार रकममा पनि दिन दिनै गिरावट आइरहेको छ ।
चुनावको नतिजा सार्वजनिक भए पछि एक दिन ६ प्रतिशतको वृद्धि भएर कारोबार बन्द भएको सेयर बजार त्यस पछिका दिनहरुमा भने प्यानिक अवस्थामा नै रहेको छ । बजारका लागि गर्नु पर्ने काम स्थिर र बलियो सरकारले पनि नगरेकाले अहिले पनि आम लगानीकर्ताहरु प्यानिक अवस्थामा नै रहेका छन् । अहिले ढुक्कले लगानी गर्न सकिने अवस्था नरहेको लगानीकर्ताहरुले बताउने गरेका छन् । सेयर बजारका लागि गर्नु पर्ने नीति गत कुराहरु भन्दा पनि सरकार पुरानै तरिकाले अघि बढेको एक लगानीकर्ताले बताए । अहिले आम लगानीकर्ताहरुले आगामी आर्थिक वर्षको बजेटमा कस्ता विषयहरु समावेश हुन्छन भनेर कुरिरहेको अवस्था छ ।
आगामी आर्थिक वर्षको बजेट आउनका लागि पनि अब धेरै समय बाँकी छैन । आगामी बजेट सार्वजनिक हुनु भन्दा अघि अब बजार एक दिन (आज ) मात्रै खुल्ने छ । त्यस पछि सेयर बजार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भए पछिको चौथो दिन खुल्ने छ । त्यो दिन पुँजी बजारमा पक्कै पनि बजेटको प्रभाव देखिने नै छ । पुँजी बजारका लागि गर्नु पर्ने सुधारका विषयमा बजेट बक्तव्यमा आएमा बजार बढ्ने छ भने बजारका विषयमा बजेटमा कुरा समावेश भएनन् भने बजारको ओरालो यात्रा जारी नै रहने छ । मंगलबार बजार घटेर बन्द भयो । कारोबार पनि पनि गिरावट आयो । अघिल्लो दिन दोहोरो अंकले बढेको बजार मंगलबार भने एकल अंकले घटेर कारोबार बन्द भयो ।
पुँजी बजार यो सरकार बन्नु भन्दा पहिले २९५० विन्दुको हाराहारीमा रहेको थियो । कारोबार पनि १४ अर्ब माथिको भइरहेको थियो । तर, सरकार बने आजसम्म आइपुग्दा नेप्से परिसूचक २७७७ विन्दुमा रहेको छ । आजै कुरा गर्दा जम्मा ४ अर्ब ८५ करोडको मात्रै कारोबार भएको छ । अहिले लगानीकर्ताहरुले बजेटलाई हेरिरहेको र बजार संकुचनको अवस्थामा रहेको लगानीकर्ता संजोग कोइरालाको भनाइ छ । बजेटमा क्यापिटल ज्ञान ट्याक्स परिवर्तन हुन्छ कि हुँदैन ? त्यस पछि केन्द्रीय बैंकले सार्वजनिक गर्ने मौद्रिक नीति कस्तो हुन्छ भन्ने कुराले बजारको अवस्था कस्तो हुन्छ भन्ने कुराको डिसाइड गर्ने उनले बताए ।
बजार बजेट अघि कमजोर रहे पनि बजेट पछि बजारले गति लिन सक्ने सम्भावना रहेको लगानीकर्ता सुशील कुमार महत्तो भनाइ छ । अहिले नै ठोकुवा गरेर भन्न सकिने अवस्था नभए पनि पुँजी बजारका विषयमा बजेटमा केही कुराहरु समावेश भएमा बजारले हालसम्मकै उच्च विन्दु पार गर्ने उनी बताउँछन् । यो बजेटले पुँजीगत लाभकरलाई नै अन्तिम करको रूपमा कानुनी मान्यता दिएमा पुँजी बजारमा सकारात्मक संचार आउने नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए । आगामी बजेटमा नयाँ नीति ल्याएर भन्दा पनि पुराना कुराहरुलाई नै कार्यान्वयन गर्ने तर्फ लाग्नु पर्ने उनको भनाइ छ ।
पूँजीबजारको स्थायित्वका लागि आगामी बजेटमा हाल कायम रहेको पूँजीगत लाभकरलाई नै अन्तिम करका रूपमा कानुनी मान्यता दिनु पर्ने उनको भनाइ छ । पुँजी बजारको संरचनात्मक सुधार गर्ने, गैरआवासीय नेपालीलाई बजारमा भित्र्याउने र विभिन्न सरकारी तथा निजी कोषहरूको रकम पूँजीबजारमा लगानी गर्ने वातावरण बनाउनेतर्फ सरकारले ध्यान दिनु पर्ने उनको भनाइ छ ।
बजार विश्लेषक मुक्ति अर्यालले पूँजीबजारलाई दीर्घकालीन रूपमा व्यवस्थित र लगानीकर्तामैत्री बनाउन सरकारले पूँजीगत लाभकरलाई अन्तिम करका रूपमा घोषणा गर्नुपर्ने बताए । ‘क्यापिटल गेन ट्याक्सको गणना व्यक्तिगत स्टकको आधारमा नभई लगानीकर्ताको कुल लगानी पोर्टफोलियोका आधारमा हुनु पर्छ,’ उनले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस