प्रधानमन्त्री बालेन्द्र शाहले अन्ततः सुनसरीमा भएको घटनाबारे आफ्नो मौनता तोड्दै सार्वजनिक अपिल जारी गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट घटनाबारे विज्ञप्ति सार्वजनिक भएको केही घण्टापछि मंगलबार मध्यरातमा प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत नागरिकलाई शान्त, संयमित र जिम्मेवार रहन आग्रह गरेका हुन्।
प्रधानमन्त्री शाहले आफू प्रधानमन्त्रीका रूपमा मात्र नभई देशको एक नागरिकका रूपमा पनि सुनसरीका घटनाक्रमबाट दुःखी भएको उल्लेख गर्दै घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारको दुःखलाई सरकारले गम्भीरतापूर्वक महसुस गरेको बताएका छन्।
उनले मृतकका परिवार, घाइते तथा प्रभावित सबैलाई न्यायको अनुभूति गराउन सरकारले आवश्यक सबै कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। दोषीमाथि कानुनबमोजिम कारबाही हुने र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराइने आश्वासन पनि प्रधानमन्त्रीले दिएका छन्।
प्रधानमन्त्री शाहले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु कुनै पनि अवस्थामा सामान्य विषय हुन नसक्ने उल्लेख गर्दै घटनाबारे अनुसन्धान सुरु भइसकेको जानकारी दिएका छन्। अनुसन्धानको निष्कर्षका आधारमा जिम्मेवारमाथि कानुनी कारबाही गरिने उनले स्पष्ट पारे।
उनले सरकारले सम्पूर्ण घटनाको गम्भीर समीक्षा गरिरहेको जनाउँदै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णय र सुधारका उपाय अघि बढाइने बताएका छन्। सुरुवाती चरणदेखि नै सरकार घटनामा सक्रिय भए पनि त्यो पर्याप्त हुन नसकेको स्वीकार गर्दै आगामी दिनमा थप प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सार्वजनिक अपिलमा प्रधानमन्त्री शाहले नागरिकलाई आक्रोश, उत्तेजना र प्रतिशोधको भावनाबाट टाढा रहन आग्रह गरेका छन्। उनले सामाजिक सद्भाव कायम राख्न, एकअर्काप्रति प्रेम र सम्मानको व्यवहार गर्न तथा कुनै पनि प्रकारका उत्तेजित बनाउने वा हिंसात्मक गतिविधिमा सहभागी नहुन सबैसँग अपिल गरेका छन्।
प्रधानमन्त्री शाहले "मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु हो" भन्दै सरकारको पहिलो दायित्व पनि नागरिकको सुरक्षा सुनिश्चित गर्दै पीडितलाई न्याय र दोषीलाई कानुनी दायरामा ल्याउनु रहेको उल्लेख गरेका छन्। सरकारले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरेर पीडितलाई न्याय दिलाउने र सामाजिक सद्भाव कायम राख्ने दिशामा काम गर्ने विश्वाससमेत उनले व्यक्त गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस