सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को अभौतिकीकरण (डिम्याट) प्रक्रिया अघि बढेको छ। कम्पनीले सिडिएस एण्ड क्लियरिङ लिमिटेड–सीडीएससीसँग धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौता गरेको हो।
असार २९ गते सम्पन्न सम्झौतामा सिडिएससी, कम्पनीको शेयर रजिष्ट्रार तथा सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेड सहभागी रहेका थिए। यससँगै आईपीओमार्फत वितरण गरिएका सेयरहरू डिम्याट प्रणालीमा रूपान्तरण गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।
सम्झौतापछि अभौतिकीकरण प्रक्रिया पूरा भएसँगै सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा सेयर जम्मा गरिनेछ। त्यसपछि कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुनेछ। नेप्सेमा सूचीकृत भएको भोलिपल्टदेखि कम्पनीको सेयर दोस्रो बजारमा खरिद–बिक्री गर्न सकिनेछ।
सर्वोत्तम पेन्ट्सले जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणका लागि ७ लाख ५ हजार ५०० कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गरेको थियो। कम्पनीले यसअघि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट वैशाख २ गते आईपीओ निष्काशनको अनुमति प्राप्त गरेको थियो।
सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेड विभिन्न प्रकारका पेन्ट, प्राइमर तथा अन्य रङ्गजन्य सामग्री उत्पादन तथा बिक्री–वितरण गर्दै आएको कम्पनी हो। कम्पनीका अध्यक्ष शिव सिंह कार्की रहेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस