अर्थ संसार, बागलुङ–उज्यालो नहुँदै डोकोमा दूध बोकेर बजार हिँड्नुहुन्छ ७० वर्षीय मोतीलाल सापकोटा । विसं २०५० देखि उहाँको दैनिकी यसरी नै चलेको छ । उमेर ढल्के पनि बागलुङ नगरपालिका–३ बोक्सेका सापकोटाको जाँगर भने उस्तै छ ।
दूध बोकेर बजार आउन डेढ घण्टा लाग्छ । दूधसँगै घरमा उब्जेको तरकारी पनि बिक्रीका लागि उहाँसंगै बजारमै आइपुग्छ । “बागलुङ बजारमा दूध बेच्न लागेको २५ वर्ष भयो”, सापकोटा भन्नुहुन्छ, “दूध र तरकारी गरेर मासिक रु ५० हजार जति कमाइ हुन्छ ।”
सापकोटाको घरमा तीन भैँसी छन् र चार रोपनी जग्गामा तरकारी खेती हुन्छ । “दैनिक १० लिटर दूध बेच्छु”, उहाँ बताउनुहुन्छ, “दूधसँगै तरकारी पनि बेच्छु ।” बिहानै बजारका घर र डेरा गरी बस्नेका कोठाकोठामा उहाँ दूध पु¥याउनुहुन्छ । इच्छा हुनेले तरकारी पनि सापकोेटाबाटै किन्छन् ।
बजारमा उहाँसँग दूध किन्ने नियमित ग्राहक छन् । कसैले एक लिटर त कसैले आधा लिटर दूध दैनिक राख्छन् । पैसा भने महीनाभरको एकैसाथ बुझाउँछन् । बिहानभर बजारमा दूध, तरकारी बेचेपछि खाना खाने समयमा सापकोटा घरै पुग्नुहुन्छ र बाँकी दिन भैँसी र तरकारीबालीको रेखदेख तथा स्याहारमै बित्छ ।
साधारण खेती किसानी बाउबाजेबाटै सिक्नुभएका उहाँले दूध बेच्दा कमाइ हुन थाले पनि भैँसीपालनलाई व्यावसायिक बनाउनुभएको हो । “तीन÷चार वटा भन्दा धेरै भैँसी बढाएको छैन”, सापकोटा भन्नुहुन्छ, “मलाई यति नै ठिक्क छ, तरकारीबाट पनि राम्रै आम्दानी भइरहेको छ ।”
गोलभेँडा, साग, बन्दा, काउली, करेला, धनियाँलगायत तरकारी उब्जाउ गर्दै आउनुभएका उहाँलाई टनेल बनाउन केही वर्षअघि तत्कालीन जिल्ला कृषि विकास कार्यालयले अनुदान दिएको थियोे । केही समय काममा सघाउन एक मजदूर राखे पनि अहिले सापकोटा आफैले सबै काम धान्दै आउनुभएको छ । “श्रीमती र बुहारीले पनि सघाउँछन्, धेरैजसो काममा म आफै खटिन्छु”, सापकोटा भन्नुहुन्छ, “७० वर्षको भएँ, अझै मेहनत र परिश्रम गर्नुपर्छ भन्ने सोँच आउँछ ।” बुढ्यौलीमा पनि कृषि पेशाप्रति उहाँको लगाव देखेर अरु गाउँले पनि प्रेरित छन् ।
स्वास्थ्यले साथ दिउञ्जेलसम्म कृषि पेशा नै गर्ने सापकोटाको अठोट छ । व्यक्तिगत लगानी, श्रम र मेहनतकै भरमा उहाँ कृषिमा टिक्न सफल हुनुभएको हो । “उहाँ सधँै हँसिलो, फूर्तिलो देखिनुहुन्छ, ग्राहकसँग गर्ने व्यवहार पनि राम्रो छ”, बागलुङ बजारकी कुमारी पौडेल भन्नुहुन्छ , “ सापकोटाले ल्याउने दूधमा कुनै मिसावट छैन, तरकारी पनि ताजा ल्याउनुहुन्छ ।”
श्रीमती दलदेवी, कान्छा छोरा प्रेम, बुहारी र नातिनातिनासँगै बस्दै आउनुभएका सापकोटाका जेठा छोरा रामकृष्ण र कान्छा छोरा प्रेम ‘पलम्बर’ हुन् । माइला छोरा लक्ष्मण जापानमा हुनहुन्छ । “मेहनत गर्न बुबाबाटै सिक्यौँ” रामकृष्ण बताउनुहुन्छ, “बुबा अहिले पनि काममा उत्तिकै खटिनुहुन्छ, काममै एकमन दिनुहुन्छ ।”
सापकोटा बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घका शेयर सदस्यसमेत हुनुहुन्छ । सहकारीमै दूध पठाउन चाहे पनि दूधको गाडी चल्ने सडक पायकमा नपरेपछि डोकोमै बोकेर बजार ल्याउनुपरेको उहाँको भनाइ छ । रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस