अर्थ संसार, काठमाडौं-गहुको छ्वाली (डाँठ) बाट केके बन्ला ? एक छिन काभ्रेको पनौतीका जय मानन्धरलाई भेटौं ।
उनले फ्याकिएर जाने यस्तो बस्तुबाट सबै कुरा बनाउछन, आफ्नो कला भरेर । उनले बनाएको छ्वालीको ‘स्ट्याचु अफ लिबर्टी’ यही छ्वालीबाट बनेको छ । अमेरिकालाई चिनाउने यो प्रतिमुर्तीको मूल्य उनले ४ लाख रुपैयाँ राखेका छन् ।
उनले १३ महिना लगाएर बनाएको झण्डै ३ फिट उचाइको यो मुर्ती साच्चै कलात्मक छ । फ्याँकिएर जाने छ्वालीबाट ४ लाख रुपैया पर्ने मुर्ती बन्ला भनेर कसले कल्पना गर्छ ? सरकारले मेसिन लगाएर गहु भित्र्याउन प्रतिबन्ध लगाएको छ । उसको तर्क छ, ‘गहुँ भित्रयाएको छ्वालीमा किसानले आगो लगाएर डढाउँछन् । आगोले किरा, फट्यांग्रा नस्ट गर्छ । त्यसले गर्दा वातावरण विनास हुन्छ । सरकारलाई कसले बताइ दिने, त्यही छ्वालिमा कला भरिदिने हो भने आकर्षक सामग्री बन्न सक्छन् भनेर ।
साच्चै सुन्दर छ उनको स्ट्र आर्ट । उनका कला हस्तकला माहसंघको भित्तादेखि देश विदेकका सरकारी-गैरसरकारी संघसस्थाका कार्यालय, ब्यक्तिका घरमा सजिएका छन् । उनको कला हेर्ने जोसुकैलाई यसले सजिलै आकर्षित गर्छ । सबैले सबै कुरा सिर्जना गर्न सक्दैनन् । सबैमा त्यस्तो क्षमता हुँदो हो त छ्वाली खेतमै डढाउने थिएनन् होला ।
उनले बनाएको पन्चमुखी झ्यालको मूल्य छ १ लाख रुपैया । यसलाई बनाउन ६ महिना लागेको उनी सम्झन्छन् । त्यस्तै बुद्धको मुत्र्ती बनाउन अढाइ महिना लाग्यो, त्यसको मूल्य ५० हजार रुपैयाँ छ । तस्बिरका फ्रेमहरु बनाउन उनलाई १० दिनजति लाग्छ । उनी तिनलाई २५ हजार रुपैयासम्ममा बेच्छन् ।
पहिलो पटक बेचेको सिर्जना पनौतीमा १२ बर्षे मकर मेला लाग्ने त्रिवेणी घाटको चित्र हो । त्यसलाई बेच्दा उनले ६ सय ५० रुपैयाँ पाएका थिए । यो झण्डै १ दशक अगाडिको कुरा हो । त्यतिखेर त्यति रकमले उनको परिवारैलाई १ महिना छाक टार्न पुग्ने चामल आउँथ्यो । ‘त्यसयता घरबाट खर्च लिनु परेको छैन, उनले भने, मैले नै घरखर्च चलाउन सहयोग गर्दै आएको छु ।’ चित्र विक्री हुन थालेपछि उनले महिना मर्दा १ हजार ५ सय रुपैयाँ कमाइ हुने जागिर छाडे । उनले अहिले ३ जनालाई घरमै यस्तै कला सिर्जना गर्ने काममा रोजगारी दिएका छन् ।
उनका सिर्जना लगाउने कपडा, कागज, पिपलको पातमा समेत पोखिएका छन् । छुवालीलाई चिरेर त्यसलाई ग्लुले टास्दै उनी सुन्दर कलाकृति सिर्जना गर्छन् । उनले ब्यक्तिको मुहार चित्रदेखि पशुपति, बौद्धनाथ, पाटन दरबारलगायतका स्लको चित्र, मुर्तीहरु, फोटो फ्रेम, शुभकामना कार्ड, उपहार सामग्रीहरु सिर्जना गर्ने गरेका छन् ।
उनले कलाकारिता सुरु गरेको करिव डेढ दशक भयो । त्यतिखेर उनलाई छ्वालीको कुनै समस्या थिएन । कृषकले बाली उठाएपछि छ्वाली खेतमै छाड्थे । त्यसलाई बटुलेर उनी आफ्नो कला सिर्जनामा लगाउथे । सयम फेरिएको छ । ‘गहुँ खेती घट्टै गएको छ, उनले सुनाए, खेती गर्नेहरुले बिक्री गर्न थालेका छन् ।’
उनले सिर्जना गरेका कलाकृतिको बजार अहिलेसम्म मुलुकभित्रै हो । नेपालीको क्रयशक्ति धेरै नभएकाले सस्ता कृतिमात्र विक्री हुने गरेका छन् । धेरै मेहनत गरेका महंगा कलाकृति किन्ने ग्राहक भने उनले भेटेका छै्रनन् । विदेशमा कलाको प्रबर्धन गर्न सकेको छैन, उनले भने, विदेशीले थाहा पाए पक्कै मेरा कृति मन पराउने छन् । साच्चै उनका यति सुन्दर कृति मन नपराउने को होला र !
नक्कल गर्दा सुन्दर कृति
किशोर बयमा हिँडिरहेका बेला उनी स्कुलमा हुने प्रतियोगिताहरुमा चित्र कोर्थे । यस्तै बीच उनको घरमा डेरा गरेर बस्ने एक ब्यक्ति भाडा नतिरी बेपत्ता भए । लामो समय तिनी फर्केर नआएपछि मानन्धरको परिवारले उनको ढोका खोल्यो । त्यहाँ गोर्खा दरबारको एउटा सुन्दर चित्र भेटियो । उनले त्यसलाई नक्कल गर्दै छ्वालीबाट अर्को चित्र बनाउने प्रयास गरे । उनको मेहनत खेर गएन । सम्झिए, मेरो सिर्जना फेला परेको चित्रभन्दा राम्रो पो भएछ ।’
त्यसपछि उनले आफूलाई यही कलामा समर्पित गरे । त्यसयता उनले कति कलाकृति सिर्जना गरे, उनले लेखाजोखा गरेका छैनन् । हातले सिर्जना गरिने सुन्दरकृतिको माग हरेक सभा समारोहमा टोकन अफ लभ, उपहार, मायाको चिनो, प्रमाणपत्र दिनका लागि अधिक हुन्छ । माग यति धेरै छ कि उनी सिर्जना गरेर भ्याउदैनन् ।
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरुलगायत सबैजसो विशिष्ठ ब्यक्तिहरुका घर÷कार्यालयमा उनका कृतिले शोभा बढाइरहेका छन् । ‘कार्यक्रममा बोलाइने बिशिष्ठ ब्यक्तिलाई मायाको चिनो वा उपहार दिन मैरे कलाको माग धेरै हुने गरेको छ,’ मानन्धरले सुनाए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस