अर्थ संसार, काठमाडौ – जिल्लाका अस्पतालमा चितवनसहित देशका कम्तीमा १८ जिल्लाका डेङ्गु सङ्क्रमितको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनले सङ्कलन गरेको तथ्याङ्कमा केही बिरामीको जिल्ला स्पष्ट नभएको पाइएको छ ।
कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार कम्तीमा १८ जिल्लाका डेङ्गुका बिरामीको यहाँ उपचार भएको छ । उहाँका अनुसार छिमेकी जिल्ला नवलपुर, मकवानपुर, धादिङ, पर्सा, तनहुँ र गोर्खाका बिरामी बढी रहेका छन् ।
यसैगरी नवलपरासी, लमजुङ, गुल्मी, अर्घखाँची, पाल्पा, रौतहट, बारा, रुपन्देही, सर्लाही, कञ्चनपुर र प्यूठानका बिरामीको उपचार जिल्लाका अस्पतालमा भइरहेको छ ।
केसीका अनुसार आइतबार साँझसम्म जिल्लाका स्वास्थ्य चौकीदेखि अस्पतालसम्म गरी ३४ वटा संस्थामा १० हजार ४२ जनाको डेङ्गु परीक्षण गरिएको छ । जसमध्ये तीन हजार १३८ जनामा सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो । ती बिरामीमा सबैभन्दा बढी चितवनका रहेका छन् । चितवनको सङ्ख्या दुई हजार ३९० रहेको छ ।
यस्तै नवलपुरको ३२२ र मकवानपुरका ६१ जना रहेको उहाँले बताउनुभयो । यीबाहेक अन्य जिल्लाका ३६५ जना रहेका छन् । यो सङ्ख्या साउन यताको हो । परीक्षण गरेर सङ्क्रमण देखिएका ३६५ मध्ये २५० जनाको ठेगाना प्रष्ट नभएको केसीको भनाइ छ । अरु थप जिल्लाका बिरामी पनि उपचारका लागि यहाँ आएको हुनसक्ने देखिएको छ ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी बाहिरी जिल्ला ठेगाना भएकामा रोजगार, अध्ययनलगायतका कारण यहाँ बस्ने र यहाँ राम्रो उपचार हुन्छ भन्दै बाहिरी जिल्लाबाट आउने बिरामी रहेको बताउनुभयो । कतिपयले यहीको ठेगाना लेखेर उपचार गर्ने गरेको उहाँको भनाइ छ । जिल्लामा भरतपुर, दुई ठूला मेडिकल कलेजसँगै निजी र सरकारी साना ठूला अस्पताल रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस