Like us!
Follow us!
Connect us!
Watch us!

अबको अर्थतन्त्र कस्तो ?(भिडियो)

मिलन खड्का

आइतबार, ०२ चैत्र २०७६, १६ : ५८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं –राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अमेरिकाका लागि पूर्व नेपाली राजदूत डा. शंकर शर्माले कोरोना भाइरस (कोभिड–१९) को कारण नेपालको अर्थतन्त्रमा पनि ठूलो असर परेको सुनाउँदै नेपाल सरकारले महत्वपूर्ण क्षेत्रमा विशेष प्याकेजको घोषणा गर्नुपर्ने बताएका छन् । 

डा. शर्माले कोरोनाका कारण विश्वव्यापी रुपमा पर्यटन व्यवसायमा सबैभन्दा ठूलो असर परेको र फरेन एक्सचेन्जपनि घटेको सुनाए । उनले भने,‘अहिले विश्व नै पर्ख र हेरको अवस्थामा छ, विश्वव्यापी रुपमा कोरोनाको प्रभाव परेको छ ।’ नेपाल सरकारले पूर्वाधारको क्षेत्रमा के? कति ? खर्च भैरहेको छ भन्ने कुरा बाहिर ल्याउनुपर्ने उनको भनाई छ । उनले भेन,‘सानातिना परियोजनाको बारेमा पहिचान गर्नुपर्छ । बाढी नियन्त्रणको लागि अहिलेदेखि नै बाँध बाँध्ने काम गर्नुपर्छ । ढुकुटीमा पैसा छ ।’

उनले काठमाडौंका मात्रै नभएर देशैभरिका खाल्डाखुल्डी प्राथमिकता साथ पुर्नुपर्ने पनि सुझाव दिए । उनले भने,‘काठमाडौंमा मात्रै होईन, देशभरिका जिल्ला सदरमुकाममा पनि प्राथमिकताका साथ काम गर्नुपर्छ । तराई मधेशमा ट्युवेलहरु बिग्रिएका छन् । मर्मतसम्भारका कामहरु यही बेलामा द्रुत गतिमा गर्नुपर्छ ।’ विद्यालय भवनहरु सरकारी फण्डमा राम्रो बनाउनुपर्ने र छानाबिहीनलाई छाना हाल्नुपर्ने पनि उनले सुझाए । 

शर्माले थपे,‘नगरपालिकाले मार्केट सेन्टर बनाउने कुरा गरेको छ, तरकारी र हाटबजार चाँडै बनाउनुपर्छ । यसले रोजगारी सिर्जना मद्दत गर्छ ।’ उनले निजी क्षेत्रलाई पनि सरकारले विशेष प्याकेज घोषणा गर्नुपर्ने बताए । उनले भने,‘अब र मेटरियल्सहरु भारत, बंगलादेश, मलेसेयिा, ईण्डोनेसियाबाट पनि ल्याउन सकिन्छ, यस्तो अवस्थामा सरकारले उनीहरुलाई भन्सारमा सुविधा दिनुपर्छ । वर्किङ क्यापिटल बढाउनुपर्छ ।’

त्यस्तै, विदेशी लगानी भित्र्याउनको लागि पनि सुविधा प्रदान गर्नुपर्ने उनको धारणा छ । शर्माले थपे,‘एक मिलियन डलरसम्म ईन्भेष्टमेन्ट भित्र्याउनको लागि सम्पत्ति शुद्धिकरणमा फाष्ट ट्रयाकको व्यवस्था गर्नुपर्छ । नेपालको सम्पत्ति शुद्धिकरण अलिक लामो छ । यो प्रोसेस केही सहज बनाउनुपर्छजस्तो मलाई लाग्छ ।’ शर्माले बिजनेस कम्युनिटीको लागि पनि ऋणमा रिस्केच्युलिङको व्यवस्था गर्नुपर्ने बताए । 

उनले भने,‘उनीहरुको लागि ६–७ महिनाको लागि राहत दिन सकिन्छ ।’ अमेरिकी डलरको भाउ बढेकोले नेपालले ईम्पोर्ट गर्ने सामानमा रिभाईज्ड गर्नुपर्ने पनि उनले तर्क गरे । उनले भने,‘हामीले पनि केही समयको लागि ईम्पोर्टमा नन टारिफ ब्यारिअर लागु गर्नुपर्छ ।’ उनले भैरहवामा रहेको सेजमा अहिलेसम्म ४ वटा औद्योगिक केन्द्र स्थापना भएको सुनाउँदै यो बीचमा थप निर्माण गर्न सकिने पनि सुझाए । 

सरकारले गरिब जनतालाई रोजगारी दिनेगरि अहिले रहेको २ अर्बको रकमलाई बढाएर चार अर्ब पुर्याउनुपर्ने उनको सुझाव छ । उनले भने,‘रोजगार कोषमा चार अर्बको कोष बनाएर तत्काल रिक्रुटमेन्ट गर्दै यो सम्बन्धी काम गर्नुपर्छ । हाम्रो त अहिले ७५३ वटा सरकार छ ।’ त्यस्तै, शर्माले विश्वव्यापी रुपमा एयरलाईन्समा सय बिलियन अमेरिकी डलरको नोक्शानी भैसकेकोले नेपालमा पनि ल्याण्डिङ र पार्किङ चार्जमा पन िसुविधा दिनुपर्ने धारणा राखे । 

त्यस्तै, उनले प्रधानमन्त्री अथवा अर्थमन्त्रालयको मातहतमा एक÷एक महिनामा अर्थतन्त्रको बारेमा समिक्षा गर्न बैठक बस्नुपर्ने र यसको लागि छुट्टै युनिट गठन गर्नुपर्ने पनि धारणा राखे । उनले अमेरिकी सहयोग एमसीसी सम्झौता पारित गर्नुपर्नेमा जोड दिए । 

‘अनगोईङ–प्रोजेक्ट’ मा सरकारले थप लगानी गर्नुपर्छ :प्रा. डा. प्याकुरेल


अर्थविद् एवम् पूर्व राजदूत प्रा. डा. विश्वम्भर प्याकुरेलले विश्वभरि कोरोनाको प्रभाव देखिएकोले यसबाट नेपाललाई पनि असर परिहेको बताए । उनले भने,‘विश्वका १९५ देशमध्ये १२० देशमा कोरोना फैलिसकेको छ । चीनपछि ईटालीमा सबैभन्दा धेरै यसले क्षति पुर्याएको छ । कोरोनाको कारण ग्लोबल ईम्प्याक्ट परेको छ । चीन आफैंमा पनि विश्वभरि म्यानुफ्याक्चरिङको हब मानिन्छ । उसले यसमा २० प्रतिशत हिस्सा ओगटेको छ । भारत स्वयम अहिले प्रभावित छ । त्यसैले कोरोनाको कारण अहिले मल्टिपोलार अफेक्ट परेको छ ।’
प्याकुरेलले कोरोनाका कारण कतारले नेपालसहित १४ देशलाई प्रतिबन्ध लगाएको सुनाउँदै यसबाटपनि नेपाललाई ठूलो असर परेको सुनाए । उनले भने,‘अहिलेपनि नेपालमा ५ वटा गल्फ कन्ट्रीबाट ५० प्रतिशत रेमिट्यान्स भित्रिएको छ । अहिलेपनि ठूलो संख्यामा नेपालीहरु भिसा लिएर र कोही विदामा आएकाहरु जाने तयारीमा थिए । ती सबै अहिले जान नपाउने भएका छन् । कतारबाट मात्रै नेपालमा १८ प्रतिशत रेमिट्यान्स आउने गरेको तथ्यांक छ ।’

एडिबीले पनि नेपालको जिडीपीमा ठूलो ह«ास आउने भनेर आफ्नो रिपोर्ट निकालिसकेको उनले सुनाए । उनले भने,‘एडिबीले अहिलेको अवस्थामा पनि नेपालको जिडिपी २.०४ प्रतिशतले घट्ने आँकलन गरेको छ ।’ उनले डलरको भाउ बढ्दापनि नेपाललाई ठूलो असर पर्ने बताए । नेपालले लिएको ऋण डलरमै तिर्नुपर्ने भएकोले यसको नेपाललाई प्रत्यक्ष असर पर्ने उनको तर्क छ । 

उनले साना तथा मझौला उद्योगलाई समेत सरकारले केही राहत दिनुपर्ने सुझाव दिए । त्यस्तै, पर्यटन क्षेत्रमा पनि सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाई छ । ‘स्टार रेटेड होटलहरुले पनि आफ्नो स्टाण्डर्ड मेन्टेन गर्नैपर्छ, क्वालिटीमा कुनै सम्झौता गर्नुहुँदैन् ।’–उनले भने । उनले सरकारले वित्तिय सुधार ल्याउनुपर्नेमा जोड दिए ।  उनले पुँजीगत खर्च ६ महिनासम्म १५ प्रतिशतपनि खर्च नभएको सुनाउँदै बढाउन समस्या नभएको तर्क गरे । 

उनले अहिलेको अवस्थामा अनगईङ प्रोजेक्ट (चालु परियोजना) मा थप समय र खर्च लाग्ने भएकोले यी परियोजनामा सरकारले थप लगानी गर्नुपर्नेमा पनि जोड दिए । उनले भने,‘सरकारले खर्च गर्ने कुरामा बढि जोड दिनुपर्छ । एक्सप्यान्सन फिस्कल पोलिसीपनि ल्याउने हो कि ?’ अहिलेको अवस्थाको मध्येनजर गर्दै स्वास्थ्य मन्त्रालयलाई केही पैसा पनि दिनुपर्ने उनको भनाई छ । तर, पैसा दिन शशर्त दिनुपर्ने पनि उनको तर्क छ । 

कतिपय राष्ट्रले नियमित बजेट ल्याउने मितिपनि सार्नेबारे तयारी गरेको सुनाउँदै यसतर्फ पनि सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाई छ । उनले भने,‘कोरोना भाइरस कहिलेसम्म रहन्छ भन्ने कुरा थाहा छैन्, विश्व स्वास्थ्य संगठनले सतर्कता अपनाउन भनिसकेको छ ।’ सरकारले पर्यो भने आफ्नो ढुकुटीबाट पैसा पनि खर्च गर्न सक्नुपर्ने प्याकुरेलले तर्क गरे । 

विश्व स्वास्थ्य संगठनले पनि आफ्नो आधिकारिक वेबसाईटमा कोरोनाबारे केही कुराहरु राखेकोले त्यसलाई फलो गर्न उनले सुझाए । उनले भने,‘गलत सूचना प्रवाह नगरौं, कतिपयले सरकारी निकायले नै गलत सूचना प्रवाह गरेको देखियो । यसको लागिपनि सरकारले एउटा प्राविधिक समिति गठन गर्नुपर्छ । र, सोहीअनुसार सूचना प्रवाह गरौं ।’ उनले प्रधानमन्त्री कार्यालयमात्रै धेरै अधिकार थुपारेर प्रभावकारी काम नहुने जिकिर गरे । उनले भने,‘भएभरको सबै अधिकार त्यहाँ थुपारेरमात्रै यो मुलुक चल्दैन् ।’

त्यस्तै, उनले हरेक ठाउँमा सरसफाईको अभियान चलाउनुपर्ने पनि धारणा राखे । उनले भने,‘ठाउँ ठाउँमा स्यानीटाईजेशनको व्यवस्था गर्नुपर्छ । फ्रि–मेडिकल सर्भिसको व्यवस्था गर्नुपर्छ । कोरोनाबाट प्रभावितहरुको लागि उपचारमा ध्यान दिउँ, निमोनिया, रुघाखोकी, ज्वरो देखिएपनि उनीहरुलाई समयमै उपचार गर्नुपर्छ । यो काममा सबैले हातमालो गर्नुपर्छ ।’ 


सरकारले तथ्यांकसहितको स्वेतपत्र जारी गर्नुपर्छ : डा. अधिकारी


त्यस्तै, कार्यक्रममा अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. चन्द्रमणि अधिकारीले कोरोना भाइरसको ग्लोबल ईकोनोमीमा ठूलो असर परेको सुनाउँदै नेपालमा पनि यसको प्रभाव परेको सुनाए । उनले भने,‘कोरोना कहिलेसम्म रहला ? भन्नेबारे विभिन्न देशले आ–आफ्नो तर्क छ । डब्लुएचओले जुनसम्म कम हुन्छ भनेको छ, अमेरिकाले अझै ६ महिनासम्म रहने भनेको छ, ईजरायलले तीन महिना भनेको छ ।’ 

उनले कोरोनाका कारण विश्वव्यापी रुपमा टुरिज्म ईण्डष्ट्रीमा क्षति पुगेको छ । कोरोनाको कारण विश्वव्यापी रुपमा मान्छेहरुको प्रभाव परेको छ । म्यान, मेसिन र मनी सबै काम भएको छ । उत्पादनमा असर परेको छ ।’
कोरोनाको कारण विश्व अर्थतन्त्रमा कति नोक्शानी हुन्छ भन्नेबारेपनि पछिल्लो समय टिकाटिप्पणी हुन थालेको उनले सुनाए । अधिकारीले भने,‘कसैले दश खर्बदेखि २० खर्बसम्म नोक्शानी हुन्छ भनिएको छ। यु.एन.को कष्टमर र ट्रेड विभागले भनेको छ । डलरको भाउ बढेको छ । तेलको भाउ कम भएको छ । चालु अर्थतन्त्रमा ठूलो असर परेको छ ।’

उनले कोरोनाको कारण नेपालमा जीउ ज्यानको क्षति नभएको तर अर्थतन्त्रमा परेको असरबाट भने जोगिन नसक्ने सुनाए । उनले भने,‘हामी त भारतको स्याटलाईट ईकोनोमीको रुपमा चिनिएको छ । भारतमा असर पर्दा नेपालमा पनि असर पर्छ ।’ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा पनि अहिले ठूलो प्रभाव परेको उनको भनाई छ ।  

उनले आपूर्ति व्यवस्थापनमा समेत समस्या हुने बताए । ‘अहिले स्वास्थ्यसम्बन्धी सामाग्रीको अभाव छ, मास्क तथा स्यानिटाईजेशनपनि अभाव देखिएको छ । अर्को कुरा, क्राउडेडका कारण रन टु सस्टेन सुरु भएको छ ।’ उनले नेपालको आर्थिक वृद्धि लिएको लक्ष्य पूरा नहुने पनि जिकिर गरे । उनले भने,‘सरकारले आर्थिक वृद्धिको लक्ष्य अब पूरा हुँदैन भनेको भए हुन्थ्यो, अब सरकारलाई निहुँ भएको छ । १५ औं योजनाको लक्ष्य प्राप्तिमा पनि असर परेको छ ।’ 

अहिलेपनि ५६ प्रतिशत परिवार रेमिट्यान्समा निर्भर भएकोले कोरोनाका कारण ठूलो असर परेको उनको भनाई छ । उनले भने,‘अहिलेको घडी चूनौतिपूर्ण छ। उनले ब्यांकिङ, टुरिष्ट, ईण्डष्ट्रीमा के कस्तो अवस्था छ? त्यसबारेमा पनि हेर्नुपर्छ । परियोजनाको बारेमा, औषधी सप्लाईको बारेमा पनि हेर्नुपर्छ ।’

उनले नेपालको अहिलेको अवस्था के हो ? भन्नेबारे सरकारले स्वेतपत्र जारी गर्नुपर्ने तर्क गरे । उनले थपे,‘सरकारले एउटा ह्वाईट पेपर तथ्यांकसहित जारी गर्नुपर्छ । सरकारले एकीकृत रुपमा रोड म्याप ल्याउनुपर्छ ।’ उनले बैंकिङ, ईन्भेष्टमेन्ट क्षेत्रमा विशेष राहत दिनुपर्ने तर्क गरे । उनले सरकारसँग भएको पैसा खर्च गर्ने बेला आएको पनि बताए । 

उनले भने,‘चाहिएको बेला हिरापनि फोड्नुपर्छ । राष्ट्रको ढुकुटीको पैसा सुबैले खर्च गर्नुपर्छ ।’ सरकारले आवश्यक परे रणनीति योजनापनि ल्याउनुपर्ने उनको भनाई छ । बैंकको ऋणको ब्याज र करमा केही रिल्याक्सेसन पनि गर्नुपर्ने उनले सुझाव दिए । 

 

सरकारका कारण मनोवैज्ञानिक रुपमा हामी हारेको अवस्थामा छौं : पूर्व गभर्नर क्षेत्री 

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले सरकारका कारण नेपाली जनता मनौबैज्ञानिक रुपमा पनि कमजोर र हारेको अवस्थामा पुगेको टिप्पणी गरे । उनले भने,‘स्वास्थ्यमन्त्रीले अब कोरोना प्रभावित अब आफैं क्वारेन्टाईनमा बस्नुपर्छ, सरकारले केही गर्न सक्दैन् भनेर बोलेपछि हामी मनोवैज्ञानिक रुपमा पनि हारेको अवस्थामा छौं ।’ त्यस्तै, उनले नेपालको अर्थतन्त्रमा पनि कोरोनाले ठूलो असर गरेको सुनाए ।

उनले भने,‘रिटेल व्यापर छैन्, ग्राहक नै नभएपछि व्यापार कसरी हुन्छ ? आयात रोकिएको छ । मन्दी आएको छ ।’ उनले शारिरीक तथा मानसिक रुपमा बलियो हुनुपर्ने अवस्थामा नेपालको परिस्थिति त्यस्तो नभएको टिप्पणी गरे । 

कोरोना एकबाट अर्कोमा सर्ने भएकोले यसको लक्षण देखिनेबित्तिकै उपचारको लागि स्वयम व्यक्तिले सचेतना अपनाउनुपर्नेमा क्षेत्रीको जोड छ । उनले भने,‘सबैले यसको लागि सहकार्य गर्नुपर्छ ।’ सरकार बलियो भएको उल्लेख गर्दै जनताकोलागि राहत कार्यक्रम पनि ल्याउनुपर्नेमा उनको जोड थियो । उनले भने,‘प्रधानमन्त्री रोजगार कार्यक्रममा १२ अर्ब पैसा छुट्याईको छ, १५ खर्बको बजेट ६ महिनापछि गरिएको अर्धवार्षिक समिक्षामा १३ खर्बमा झारिएको छ, त्यही पनि सरकारले साँढे ८ प्रतिशत आर्थिक वृद्धि हुन्छ भनेको छ भनेपछि सरकारको आत्मबल त अझैपनि रैछ नि ।’

उनले तीन तहकै सरकारले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा उदार नीति लिनुपर्नेमा पनि जोड दिए । उनले भने,‘कोरोनाको सवालमा प्राथमिक रोकथाममा जोड दिनुपर्छ । सरसफाईमा जोड दिनुपर्छ ।’ आर्थिक रुपमा पनि राजश्वको उपलब्धि कमी हुने भन्दै सरकारले विशेष ध्यान दिनुपर्ने उनको तर्क छ । 

उनले आजभन्दा १२ वर्षअघि नै सिल्भिया नामका एकजनाले सन् २०२० मा निमोनियाजस्तो यस्तो किसिमको रोग आउने र यसले विश्वभरि माहामारी फैलिने भनेर प्रक्षेपण गरेको सुनाए । उनले भने,‘यसमा कति सत्य छ वा छैन, त्यो अर्को विषय हो, फेरि उनले यो छोटो समयमा आफैं हराएर जान्छ भनेर पनि लेखेका छन् । र, सन् २०३० मा पनि फेरि देखा पर्छ भनेका छन् ।’ 

उनले विश्वव्यापी रुपमा यो भाईरसबाट चर्चित तथा सरकारी ओहोदामा बसेका नेताहरुसमेत प्रभावित भएको सुनाउँदै नेपालको राजनीतिक वृत्तमा नदेखिएकोले आफूहरु सुरक्षित नै रहेको मान्नुपर्ने तर्क गरे । उनले भने,‘हिजोसम्मको तथ्यांक हेर्दा चार हजार ९ सय मरिसकेका रहेछन्, र १ लाख ३२ हजार त्यसबाट
प्रभावित छन् । त्यो प्रभावित हुनेहरुमा, तपाईहरुलाई सुन्दा आश्चर्य लाग्छ, यसले राजनीतिक वृत्तका मान्छेहरुलाई छुँदो रहेछ क्या (बाहिर बाहिरतिर), बेलायतमा स्वास्थ्य राज्यमन्त्रीलाई कोरोना भाइरसले समातेपछि उनलाई आईसोलेशनमा राखिएको छ, क्यानडाको प्रधानमन्त्रीको श्रीमतीलाई यो भाइरस पोजिटिभ देखिएपछि, प्रधानमन्त्री नै अब १४ दिनको लागि गुप्तवास बस्नुपर्ने अवस्था आएको छ, स्पेनमा डेपुटी प्राईम मिनिस्टरको श्रीमतीलाई त्यो रोग लाग्या हुनाले उहाँपनि आईसोलेशनमा बस्दैहुनुहुन्छ भनिएको छ, लक्कीली भनौं कि अनलक्किल्ली भनौं हाम्रो राजनीतिक वृत्तमा यस्तो किसिमका खबरहरु नआएका हुनाले हामी सुरक्षित नै रहेछौं भन्ने कुराहरु मान्नुपर्ने भयो ।’

अहिलेसम्म नेपालमा एकजनाको मात्रै डाईग्नोसिस भएको र उनको उपचार भएर डिस्चार्ज भैसकेको अवस्थामा विश्व स्वास्थ्य संगठनले नेपाललाई असाध्यै ठूलो जोखिममा राखेकोमा उनले केही गुनासो पोखे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको