Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउनमा कस्ताे रह्याे प्रहरीकाे सफलता ?

निशा हुमाँगाई

आइतबार, १४ बैशाख २०७७, १४ : ४२ मा प्रकाशित

लकडाउनमा कस्ताे रह्याे प्रहरीकाे सफलता ?

अर्थ संसार, काठमाडौं - विश्वभर महामारीका रूपमा फैलिएकाे काेराेनाका कारण देश एक महिनाभन्दा लामो समयदेखि बन्दाबन्दी (लकडाउन) मा छ । देशमा कोभिड–१९ को सम्भावित सङ्क्रमणको रोकथाममा राज्यका सबै निकाय आ–आफ्नो जिम्मेवारी र प्रयासमा सक्रिय छन् । सङ्घीय राजधानी काठमाडौँमा पनि यो अभियान जारी छ र यही कोरोना महामारीविरुद्धको लडाइँको अग्रमोर्चामा खटिएको छ नेपाल प्रहरी ।

काठमाडौँ उपत्यकाको शान्ति सुरक्षाको जिम्मेवारी लिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख डिआइजी विश्वराज पोखरेल गत चैत ८ गतेदेखि रानीपोखरीमा चौबीसघण्टे ‘ड्युटी’ मा छन् । नेपाल प्रहरीको शान्ति सुरक्षाको अहम् जिम्मेवारीका अतरिक्त महामारीजन्य परिस्थितिले यतिखेर नेपाल प्रहरीलाई नयाँ दायित्व पनि थपिदिएको छ । उपत्यकामा हातधुने अभियान सञ्चालन गर्ने, राहत वितरणदेखि लिएर प्रहरीको आफ्नो दैनिक नागरिक सुरक्षाको जिम्मेवारी त छँदैछ ।

सङ्घीय राजधानी काठमाडौँमा झण्डै ४० लाखको बसोबास छ । राजधानी भित्रने र बाहिरिनेको सङ्ख्या त्यसमा जोडिँदैन । महानगरीय प्रहरी कार्यालय मातहत काठमाडौँ, भक्तपुर र ललितपुरमा २३८ युनिटमार्फत शान्ति सुरक्षाको जिम्मामा खटिएको छ नेपाल प्रहरी । झण्डै नौ हजार प्रहरी जनशक्ति परिचालन गर्ने ‘मेट्रो वान’ राजधानीवासीलाई कुनै पनि समस्या पर्न नदिन क्रियाशील छ । बन्दाबन्दी पालना गराउनेदेखि राहत वितरणमा समेत खटिएको महानगरीय प्रहरीले पछिल्ला दिनमा काठमाडौँबाट बाहिर जान चाहने यात्रुलाई समेत अवस्था हेरेर सहजीकरण गरिरहेको छ ।

डिआइजी पोखरेल विषम परिस्थितिमा लकडाउनका बेला कुनै घटना भइहाल्छ कि भनेर २४ चौबीसै घण्टा कार्यालय र कार्यक्षत्रमा खटिएको र सकल दर्जा परिचालित भएको बताउनुहुन्छ । आफू खटिँदा प्रहरी कर्मचारीको मनोबल बढ्छ भन्ने विश्वासले उहाँलाई काम गरेको छ । संसारले नै पहिलोपटक व्यहोरेको लकडाउनको समयमा नेपाल प्रहरीलाई पनि भिन्न परिस्थितिको सामना गर्नुपर्ने र नयाँ–नयाँ काम गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

हात धुने अभियानको अभियन्ता

कोरोना सङ्क्रमणको शुरुमा स्वास्थ्यविज्ञले कोरोना भाइरसबाट बच्न साबुनपानीले हात धुने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, भीडभाड नगर्ने, सामाजिक दूरी कायम गर्न सुझाए । त्यो बेला नागरिकमा चेतना आइसकेको थिएन । साबुनपानीको व्यवस्था गर्नसके त्यसले पनि नागरिकको स्वास्थ्य सुरक्षामा सहयोग पुग्छ भन्ने लागेर उहाँले उपत्यकाको १६ स्थानमा पाँच हजार लिटरको ट्याङ्कीसहित साबुनपानीको व्यवस्था गर्नुभयो । त्यस प्रयासमा माछापुच्छ्रे बैंकले साथ दियो । राजधानीमा हातधुने अभियान शुरु गर्दा त्यसले मुलुकभर नै सन्देश प्रवाह गर्याे । चोक–चोकमा पानीका ट्याङ्की र साबुन राखियो । यसले आम नागरिकलाई कोरोनाविरुद्ध लड्न एक ठाउँमा पुर्याएको अनुभव उहाँलाई छ ।

त्यसपछि लकडाउने समस्या पार्नसक्ने अवस्थालाई ध्यानमा राखी बैंकमा सहकार्य गरेर राहत दिने योजना ल्याइयो । हामीलाई सम्पर्क गर्नुहोस् हामी खाद्यान्न उपलब्ध गराउँछौँ भनेर उहाँले सार्वजनिक आग्रह पनि गर्नुभयो । जहाँ कठिनाइ छ त्यहाँ जनप्रतिनिधि तथा समुदायको सहयोगमा प्रहरीले राहत वितरण गर्ने वातावरण सिर्जना भयो । सबै काम पारदर्शीरूपमा भयो । डिआइजी पोखरेल भन्नुहुन्छ, “हामीले कहीँकतै पनि पैसा लिएका छैनौँ, सहयोग गर्नेले सामान ल्यादिन्छन्, ती सामान हामी सहज तरिकाले पुर्याउँछौँ ।”

स्थानीय तहसँगको समन्वयमा खाद्यान्न वितरण भइरहेको छ । उक्त कार्यालयकै प्रयासमा दुई हजार ५०० ले राहत पाइसकेका छन् । अभाव झेलेका जनता छनोट गरेर सहयोग गर्ने गरिएको छ । उहाँ भन्नुहुन्छ, “मान्छेको पेट भोको भएकै कारणले अपराध हुने अवस्थाको अन्त्य भएको छ, स्थानीय निकायको राहत वितरण, सङ्घसंस्थाको सहयोग, सरकारको लगानी तथा राज्य संयन्त्रको विभिन्न निकायकै कारण भोको बस्नुपर्ने अवस्था अन्त्य भएको छ र शान्ति सुरक्षामा ठूलो सहयोग भएको छ ।” राहत वितरणमा प्रहरीले समन्वय गरेर पुर्याइदिने काम मात्रै गर्छ अरु काम सम्बन्धित संस्थाले नै गर्ने गरेको छ ।

राहत वितरणमा शुरुका दिनमा बालबालिका, वृद्धवृद्धा अनाथ राखिएको ठाउँमा अभाव देखिएकाले त्यहाँ वितरण गरिएको थियो । पछिल्लो समयमा फोनमा आएको जानकारीका आधारमा वितरण भइरहेको छ । “अभाव भन्ने विषय सुरक्षासँग जोडिन्छ, अभाव भयो भने मानिसले अपराध गर्छ, त्यसलाई रोक्न आधारभूत आवश्यकतालाई सम्बोधन गर्नुपर्छ, चुलो बल्ने अवस्था सिर्जना गर्नुपर्छ भनेर ने राहत अभियान शुरु गरेको”, पोखरेल थप्नुहुन्छ ।

लकडाउन सफल

लकडाउनका बेला पहिले प्रहरीलाई व्यवस्थित ढङ्गले अगाडि बढाउने कुरा चुनौतीपूर्ण थियो । अर्को लकडाउन के हो भनेर बुझाउने र यो अवस्थामा नागरिकको समस्या र अप्ठ्यारो के हो भनेर बुझ्नुपर्ने हुन्छ । त्यसलाई ध्यानमा राखेर नै प्रहरीले दैनिक उपभोग्य सामग्री खरिद बिक्रीका लागि सहजीकरण गर्दै बजार आपूर्ति व्यवस्थालाई सहजीकरण गर्न प्रहरीले ध्यान दियो । यो सबै परिस्थितिको चिजको समुचित व्यवस्थापनले नै लकडाउन सफल बनाउन सकिएको हो भन्नुहुन्छ पोखरेल ।

लकडाउन उल्लङ्घन गर्नेलाई पहिले समातेर छाड्ने गरिएको थियो । त्यसले रोगको सङ्क्रमण हुनसक्ने तथा अन्य समस्या हुनसक्ने भएकाले सडकमै निश्चित समय उभ्याउने र कोरोनाबारे शिक्षा दिने अभियान पनि महानगरीय प्रहरी कार्यालयले नै थालेको थियो । यो योजना प्रभावकारी भएकाले देशभर लागू गरिएको छ ।

अपराधिक घटनाका उजुरी न्यून

लकडाउनको अवधिमा आपराधिक घटना भने न्यून छ । पोखरेलका अनुसार यो अवधिमा कूल २०२ घटना तीन जिल्लामा भएको पाइएको छ । त्यसमध्ये काठमाडौँमा १६५ घटना भए । ललितपुरमा २८ र भक्तपुरमा नौ घटनाको उजुरी परेको छ ।

जसमा सबैभन्दा बढी भवितव्य ज्यानसम्बन्धी ५८ घटना भएको छ भने बैंकिङ कसुरका ३३ उजुरी परेको छ । ज्यानसम्बन्धी कसुरका ३५ र २१ जनाले आत्महत्या गरेको फेला परेको छ । प्रहरी सडकमा छन्, नागरिक घरमा छन्, त्यसैले पनि अपराध रोकिएको प्रहरीको निष्कर्ष छ ।

पोखरेलका अनुसार सबै अपराध एकदमै न्यून छ, घटनाको हिसाबले आत्महत्या र भवितव्य ज्यानका घटना भएका छन्, केही बलात्कारका घटना छन्, अन्य घटना नगन्य छ । नागरिक परिवारसँगै घरमा छन्, प्रहरीहरु सडकमा छन्, यसको मुख्य कारण यही हो । हिजोका दिनमा नागरिक समाजमा आउँथे, घुलमिल पछि विमति हुन्थ्यो, होटल रेष्टुरेन्टमा झगडा हुन्थ्यो र अपराध हुन्थ्यो । अहिले नागरिक घरमा प्रहरी सडकमा भएकाले नै यो सफल भएको हो ।

संसारभर नै लकडाउनका कारण महिला हिंसामा वृद्धि भइरहेको विवरण सार्वजनिक भइरहेको छ । नेपालको अवस्था के होला त ? हाम्रो जिज्ञासामा उहाँ भन्नुहुन्छ, “उपत्यकामा अहिलेसम्म उजुरी परेको छैन, अन्याय भयो भन्नेलाई बाहिर आउन खुला नै छ, हिंसा भयो भन्ने जानकारी आउनेबित्तिकै प्रहरी पुगेको छ, तर यस्ता घटना शून्य नै छ ।”

कमीकमजोरी सुधार हुन्छ

लकडाउनको समयमा राजधानीका केही स्थानमा प्रहरीले ज्यादती गरेको घटना पनि आएको थियो । कलङ्कीमा औषधी बोकेको व्यक्ति होस् या महाराजगञ्जमा चिकित्सकमाथि दुव्र्यवहार भएको घटना । यस्तै ग्यासको सिलिण्डर बोकाएर बसाएको विषय पनि सार्वजनिक भएको थियो । यस्ता विषयमा नागरिक र सुरक्षाकर्मीको बीचमा केही असमझदारी भएको सहजै बुझ्न सकिन्थ्यो । उहाँका अनुसार प्रहरीले पनि दबाबमा काम गरिरहेको हुन्छ । चौबीसै घण्टा काम गर्नुपर्ने, सयौँ मानिससँग भेटघाट हुने, परिवारिक समस्या पनि पर्ने हुँदा त्यो परिस्थितिमा काम गर्दा कुनै वातावरणले प्रहरी र नागरिकलाई त्यस्तो उत्तेजित पार्न सक्ने उहाँको भनाइ छ ।

बाहिरको अवस्था हेर्दा भने नेपालमा अत्यन्तै न्यून छ भन्नुहुन्छ पोखरेल । महाराजगञ्जको कुरा हेर्दा चिकित्सककै सहमतिमा सबै टुङ्गिसकेको र प्रहरी अधिकृत काममा फर्किसकेको भन्दै उहाँले सानातिना कमीकमजोरीको पनि समीक्षा गरेर सुधार गर्दै लगेको उहाँले बताउनुभयो । कमीकमजोरी प्रहरीको पाटोबाट मात्र छैन, तत्कालीन परिवेश र परिस्थितिलाई उत्तेजित बनाउने कुराले पनि हुने भएकाले सबैले त्यसतर्फ सचेत हुनुपर्ने उहाँको धारणा छ ।

सरकारको सबैभन्दा ठूलो चिन्ता कुनै पनि नागरिकले दुःख भोग्न नपारोस् भन्ने हो । यसमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट स्पष्ट निर्देशन आएकाले पनि लकडाउनलाई सफल बनाउने र नागरिकले दुःख नपाओस् भनेर प्रहरी एकदमै चिन्तित रहेको पोखरेल बताउनुहुन्छ । अप्ठ्यारोमा परेको व्यक्तिलाई सहजीकरण गर्ने काम पनि प्रहरीले गरिरहेको छ ।

“आजको दिनमा हेर्दा कुनै पनि नागरिकले कठिनाइ पर्याे, यहाँ जानुपर्याे भनेर कोही अलपत्र हुने अवस्था छैन, भोको कोही बस्नुपरेको छैन, कुनै समस्या काठमाडौँमा छैन, कोही भए प्रहरीलाई खबर गर्नुहोस् हामी समन्वय गर्छौँ र व्यवस्थापन गर्छाैँ ।” पोखरेलले भन्नुभयो, “जनताको खुशी नै प्रहरीको सफलता हो”, उहाँ भन्नुहुन्छ ।

लकडाउन उल्लङ्घनविरुद्ध कारवाही

उपत्यकाको तीन जिल्लामा लकडाउनको एक महिनाको अवधिमा १६ हजार महिलासहित ७३ हजार १६१ जनालाई कारवाही गरिएको छ । झण्डै १३ हजार सवारी नियन्त्रणमा लिइएको छ । प्रहरीले अत्यावश्यक काम परेमा हटलाइन १०० वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न भनेको छ । दैनिकरूपमा उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने दुई हजार कारवाहीमा परिरहेका छन् ।

पोखरेल भन्नुहुन्छ, “कस्तो हुँदोरहेछ लकडाउन भनेर हेर्न निस्कने, मापसे गरेर निस्कने, एक जना गए हुने काममा धेरै जना जाने, उपत्यकाबाट घर फर्कने मानिसको सङ्ख्या धेरै हुनेलगायत कारणले उल्लङ्घन भएको पाइयो, सबैलाई सम्झाइबुझाइ समस्यामा परेकालाई समन्वय गर्ने काम प्रहरीले गरिरहेको छ ।”

यस्तो बेलामा प्रहरीको भूमिका थप बढी छ । हिजोको दिनमा भन्दा बढी प्रहरी खटिएका छन् । एक प्रहरीले १२ देखि १६ घण्टा काम गरिरहेको छ । सडकमा प्रहरीको उपस्थिति निरन्तर देखाउनुपर्ने चुनौती पनि छ । लकडाउन कार्यान्वयन गर्नका लागि पनि प्रहरीको उपस्थिति जरुरी छ । उहाँ भन्नुहुन्छ, “प्रहरीले त्यति नगर्ने हो भने लकडाउन आजको भोलि नै उल्लङ्घन बढ्ने र नागरिक बाहिर आउने अवस्था हुन्छ, प्रहरीको जिम्मेवारी अझ बढी छ ।”

लकडाउनको शुरूवाती चरणमा प्रहरीलाई नै स्वास्थ्य सामग्रीको निकै अभाव थियो । कपडाको मास्कले काम गर्नुपर्ने अवस्था थियो । प्रहरीलाई मास्क, स्यानिटाइजर, पञ्जा अभाव नै थियो । विस्तारै स्वास्थ्य मन्त्रालय, आफ्नो विभागबाट प्राप्त भयो । आफैँले पनि किन्न शुरु गर्याैँ, सहयोगी हातहरु आए । उत्पादन हुँदै आयो र प्रहरीप्रतिको सहानुभूति बढेकाले अहिले आधारभूत कुरा व्यवस्थापन गर्न र किन्न समस्या छैन । यो समस्यालाई नागरिकले राम्ररी बुझेकाले सफल हुँदै गएको छ ।

काममा जटिलता

काठमाडौँ धेरै मनिस भाडामा बस्ने शहर हो । धेरै मानिस एउटै कोठामा बस्ने अवस्था छ । एउटा फ्ल्याटमा पनि धेरैको बसोबास छ । घरभित्र मानिसलाई अड्याउन कठिन पनि भयो । केही दिनपछि मानिस उकुसमुकुस हुँदा अडिन नसक्ने अवस्था आयो । मनोवैज्ञानिकरूपमा रोकिरहँदा असहजता देखियो । त्यसले उनीहरु घर जान पाए हुने भन्ने भयो, मानिस निस्कन थाले । प्रहरीलाई पनि सङ्क्रमित मान्छे आएकी भन्ने त्रास बढ्यो ।

बिस्तारै समय बित्दै जाँदा समुदायमा सङ्क्रमण छैन भनेपछि नागरिक र प्रहरीमा मनोबल बढ्यो । विभिन्न कारणले मानिस हिँडेरै घर जान थाले । प्रधानमन्त्रीबाटै सङ्क्रमण नफैलियोस् र कोही पनि नेपालीले दुःख नपाउन् भन्ने निर्देशन आयो । त्यसपछि अझै सहजीकरणको काममा प्रहरीले थप सक्रियता देखायो । बाटोमा आएका व्यक्तिलाई विस्तारै घर पठाउन थालियो र अहिले सबै कुरा सहज हुँदै गएको छ ।

भोकका कारण हुने अपराध रोक्न राहत

अभावमा परेको भनेर गुनासो गर्ने व्यक्तिलाई स्थलगतरूपमा गएरै पनि राहत वितरण गर्ने काममा महानगरीय प्रहरी कार्यालयले उदाहरण प्रस्तुत गरेको छ । कार्यालयका प्रमखु डिआइजी पोखरेल आफैँ गएर रातहत वितरण गर्नुहुन्छ ।

अहिलेसम्म झण्डै २ हजार ५०० परिवारलाई उहाँकै समन्वयमा राहत वितरण भएको छ । राहत वितरणको घोषणा हुने अघिदेखि नै पोखरेलले नयाँ योजना बनाएर राहत वितरण थाल्नुभएको थियो । त्यसका लागि एनआइसी एशिया बैंक, महालक्ष्मी विकास बैंक र प्राइम बैंकले सहकार्य गरेको थियो । सडकमा विभिन्न चोकमा हात धुने साबुन, ट्याङ्कीसहितको पानी व्यवस्थापनमा माछापुच्छ्रे बैंक र मास्क नेपाल बङ्गलादेशले सहयोग गर्याे । सबैभन्दा पहिला नागरिकको कुनै पनि समस्या प्रहरीकोमा आइपुग्छ ।

“भोकले अपराध निम्त्याउँछ भनेर नै सर्वप्रथम कोही पनि भोको हुन नपरोस् भनेर नै प्रहरीले राहत अभियान थालेको हो, बैंकहरुमा योजना सुनायौँ, उहाँहरु सहयोगका लागि उत्सुक हुनुभयो, अनि पहिलो चरणमा असहायको संरक्षण गरिरहेको संस्थाबाट थालएको थियो, अहिले अभाव भयो भनेर प्रहरीमा जानकारी आएपछि अवस्था बुझेर वास्तविक अभाव भएकालाई राहत वितरण जारी छ”, पोखरेल भन्नुभयो । भोकले अपराध निम्त्याउन सक्छ भन्ने निष्कर्षका साथ थालिएको अभियान प्रभावकारी छ । – रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको