Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र दलाललाई लगामः के छ कानुनी व्यवस्था ?

अर्थ संसार

सोमबार, १४ असार २०७८, १३ : ५० मा प्रकाशित

धितोपत्र दलाललाई लगामः के छ कानुनी व्यवस्था ?

अहिले नेपालको धितोपत्र बजारको सञ्चालन गर्ने एक मात्र निकायका रुपमा नेपाल स्टक एक्सचेन्ज रहेको छ । विश्वका कतिपय मुलुकहरुमा १ भन्दा बढी धितोपत्र बजारहरु भएता पनि नेपालमा नेप्सेले मात्र धितोपत्र बजारको सेवा प्रदान गरिरहेको छ । अहिले सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले अर्को स्टक एक्सचेन्ज स्थापनाका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको जनाएको छ । 

पूँजी बजारमा ५० वटा धितोपत्र व्यवसायी (ब्रोकर) हरुले सेवा प्रवाह गरिरहेका छन् । सेयर बजारमा लगानीकर्ताहरुको संख्या व्यापक बृद्धि भए तापनि धितोपत्र व्यवसायीहरुको संख्या भने थप गरिएको छैन । लगानीकर्ताहरुले विभिन्न सामाजिक सञ्जालमार्फत ब्रोकरको सेवा प्रवाहमा असन्तुष्टि जनाउँदै ब्रोकरहरुको लाईसेन्स खारेजसम्मको माग गरिरहेको देखिन्छ । 

के लगानीकर्ताहरुले माग गर्दैमा नियामक निकायले ब्रोकरहरुको लाईसेन्स खारेज गर्न सक्छ त रु अवस्य पनि सक्दैन । नेपालको पूँजी बजार पनि विभिन्न ऐन नियमको अधिनमा सञ्चालित छ । नेपाल धितोपत्र बोर्डसम्बन्धी नियमावली २०६४ ले स्पष्ट रुपमा कस्तो अवस्थामा धितोपत्र बजार र धितोपत्र व्यवसायीको अनमति पत्र निलम्बन गर्न सकिने र कस्तो अवस्थामा खारेज गर्न सकिने भन्ने व्यवस्था गरेको छ । नियामावलीको नियम ३० मा अनुमतिपत्र निलम्बनसम्बन्धि व्यवस्था गरिएको छ भने नियम ३१ मा अनुमतिपत्र खारेज सम्बन्धी व्यवस्था गरेको देखिन्छ । 

नेपाल धितोपत्र बोर्डसम्बन्धि नियमावली २०६४ ले धितोपत्र बजार वा धितोपत्र व्यवसायीको अनुमतिपत्र निलम्बन तथा खारेजी सम्बन्धमा गरेको व्यवस्था यस्तो छः
 
नियम(३०) अनुमतिपत्र निलम्बनः (१) कुनै धितोपत्र बजार वा धितोपत्र व्यवसायीको अनुमतिपत्र निलम्बन गर्नुपर्ने अवस्था परेमा त्यसरी अनुमतिपत्र निलम्बन गर्नुअघि त्यसको कारण र आधार खुलाई बढीमा पन्ध्र दिनको समय दिई बोर्डले सम्बन्धित धितोपत्र बजार वा धितोपत्र व्यवसायीसंग स्पष्टीकरण माग गर्नु पर्नेछ ।

तर देहायका अवस्था विद्यमान भएको कुरामा बोर्ड सन्तुष्ट भएमा बोर्डले स्पष्टीकरण माग नगरी एक पटकमा बढीमा छ महिनासम्मको लागि अनुमतिपत्र निलम्बन गर्न सक्नेछः

(क) तत्काल निलम्बन नगरी काम गरिरहन दिंदा झुठ्ठा कारोबार हुन सक्ने, लगानीकर्ता विरुद्ध जालसाज हुन सक्ने वा पूँजी बजारमा गंभीर प्रतिकूल असर पर्न सक्ने संभावना देखिएमा,
(ख) तत्काल निलम्बन नगरी काम गरिरहन दिंदा लगानीकर्तालाई हानी नोक्सानी हुने संभावना देखिएमा ।

(२) उपनियम (१) बमोजिम स्पष्टीकरण माग गरेकोमा प्राप्त स्पष्टीकरण उपर जाँचबुझ गर्दा धितोपत्र बजार वा धितोपत्र व्यवसायीले ऐन वा ऐन अन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत जारी गरिएका कुनै आदेश वा निर्देशन वा बोर्डले तोकिदिएका शर्तहरु बमोजिम गर्नुपर्ने काम नगरेको वा गर्न नहुने कुनै काम गरेको देखिएमा बोर्डले त्यस्तो धितोपत्र बजार वा धितोपत्र व्यवसायीलाई एक पटकमा बढीमा एक बर्ष सम्मको लागी निलम्बन गर्न सक्नेछ ।

(३) बोर्डले उपनियम (२) बमोजिम अनुमतिपत्र निलम्बन गर्दा निलम्बन अवधिभित्र पूरा गर्नुपर्ने काम वा शर्तहरु समेत तोकिदिनेछ ।

(४) उपनियम (३) बमोजिम धितोपत्र बजार वा धितोपत्र व्यवसायीले पूरा गर्नुपर्ने काम वा शर्त तोकी निलम्बन गरिएकोमा सम्बन्धित धितोपत्र बजार वा धितोपत्र व्यवसायीले बोर्डले तोकिदिएको कार्य वा शर्तहरु पूरा गरेको जानकारी बोर्डलाई दिएमा बोर्डले सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ ।

(५) उपनियम (४) बमोजिम जाँचबुझ गर्दा आवश्यक कार्य वा शर्तहरु पूरा गरेको व्यहोरा मनासिव देखिएमा बोर्डले जुनसुकै बखत त्यस्तो निलम्बन फुकुवा गर्न सक्नेछ ।

(६) निलम्बनमा रहेको अवधिभित्र बोर्डले तोकिदिएको काम वा शर्त पूरा गर्न नसकिने अवस्था परी सम्बन्धित धितोपत्र बजार वा धितोपत्र व्यवसायीले म्याद थप मागेमा र त्यस्तो माग मुनासिब लागेमा बोर्डले निलम्बनको अवधि बढीमा तीन महिनासम्म थप गरी दिन सक्नेछ ।

(७) बोर्डले यस नियम बमोजिम निलम्बन गरेको वा निलम्बन फुकुवा गरेको व्यहोराको जानकारी सम्बन्धित धितोपत्र बजार वा धितोपत्र व्यवसायीलाई तुरुन्त दिई त्यसको सूचना राष्ट्रियस्तरको कुनै एक दैनिक पत्रिकामा समेत प्रकाशन गर्नु पर्नेछ ।

नियम ३१. अनुमतिपत्र खारेजः (१) ऐनको दफा ८९ को उपदफा (१) मा उल्लिखित कुनैे अवस्था परी धितोपत्र बजार वा धितोपत्र व्यवसायीको अनुमतिपत्र खारेज गर्नु पर्ने भएमा बोर्डले अनुमति पत्र खारेज गर्नु पर्नाको कारण र आधार खुलाई बढीमा पन्ध्र दिनको समयावधि तोकी स्पष्टीकरण माग गर्नेछ ।

(२) उपनियम (१) बमोजिम स्पष्टीकरण मागिएकोमा निर्धारित समयावधिभित्र पेश गरेको स्पष्टीकरण मनासिव र सन्तोषजनक देखिएमा अनुमतिपत्र खारेज गरिने छैन ।

(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि जुन कारणबाट अनुमति पत्र खारेज गर्नु परेको हो सो सम्बन्धमा सुधार गर्न सम्बन्धित धितोपत्र बजार वा धितोपत्र व्यवसायीले समय माग गरेमा र बोर्डले मुनासिब देखेमा निश्चित अवधि तोकी त्यस्तो सुधार गर्न समय दिन सक्नेछ ।

(४) उपनियम (३) बमोजिम बोर्डले तोकिदिएको समयभित्र गर्नुपर्ने सुधार कार्य पूरा नगरेमा वा पूरा गर्न नसकेमा वा उपनियम (१) को समयावधिभित्र स्पष्टीकरण पेश नगरेमा वा पेश गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएमा बोर्डले अनुमतिपत्र खारेज गर्न सक्नेछ ।

(५) उपनियम (४) बमोजिम अनुमतिपत्र खारेज भएको कुरा बोर्डले सार्वजनिक जानकारीको लागि सूचना प्रकाशन गर्नेछ र त्यस्तो सूचना राष्ट्रिय स्तरको दैनिक पत्रपत्रिकामा समेत प्रकाशन गर्नु पर्नेछ ।

(६) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि नियम ३० बमोजिम धितोपत्र बजार वा धितोपत्र व्यवसायीले गर्नुपर्ने काम वा पूरा गर्नुपर्ने शर्त तोकी निलम्बन गरिएकोमा बोर्डले तोकिदिएको समयमा तोकिदिएको काम वा शर्त पूरा नगरेमा बोर्डले त्यस्तो धितोपत्र बजार वा धितोपत्र व्यवसायीको अनुमतिपत्र खारेज गर्न सक्नेछ र त्यसरी अनुमतिपत्र खारेज गर्दा यस नियम बमोजिमको कार्यविधि पूरा गर्न आवश्यक पर्ने छैन ।

(७) अनुमतिपत्र खारेज भएको धितोपत्र बजार वा धितोपत्र व्यवसायीले आप्mनो अनुमतिपत्र खारेज भएपछि धितोपत्र बजार वा धितोपत्र व्यवसाय सञ्चालन गर्न पाउने छैन र त्यसरी अनुमतिपत्र खारेज भएको एक महिनाभित्र धितोपत्र कारोबारबाट सृजित दायित्व पूरा गरी सक्नु पर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको