Like us!
Follow us!
Connect us!
Watch us!

सेयर शिक्षा : लगानी विविधिकरण भनेको के हो ? कस्ताे सेयरमा जोखिम हुन्छ ?

अर्थ संसार

विहीबार, १७ असार २०७८, १४ : १९ मा प्रकाशित

सेयर शिक्षा : लगानी विविधिकरण भनेको के हो ? कस्ताे सेयरमा  जोखिम हुन्छ ?

आफुसँग भएको पुँजीलाई धितोपत्र लगायतका विभिन्न सम्पत्तिमा लगानी गर्ने कार्यलाई लगानी विविधिकरण भनिन्छ । धितोपत्रमा मात्रै लगानी गर्दा पनि केही धितोपत्रमा नोक्सानी भएमा अन्य धितोपत्रमा नाफा हुँदा खुद नाफामा वृद्धि हुन सक्दछ ।

लगानीकर्ताले आफूसंग भएको रकम लगानी गर्दा कुन कुन धितोपत्रहरु बढी जोखिमयुक्त तथा उच्च प्रतिफल दिने खालका छन् भन्ने तथ्य बुझी लगानी विविधिकरण गर्नु बुद्धिमानी हुन्छ ।

विभिन्न प्रकृतिका धितोपत्रहरुका विभिन्न परिमाणमा लगानी गरी जोखिमलाई न्यून गर्ने तथा लगानी प्रतिफलमा वृद्धि ल्याउने विधिको प्रयोग बढ्दै गइरहेको छ । नेपाल धितोपत्र बोडर्डबाट अनुमति प्राप्त लगानी व्यवस्थापकहरु बाट पोर्टफोलियो लगानी सेवा पनि प्राप्त गर्न सकिन्छ ।

धितोपत्र र जाेखिम 

सबै खाले धितोपत्रमा गरिने लगानी जोखिममुक्त हुँदैन । साधारण सेयरमा गरिने लगानीलाई अन्य धितोपत्रमा गरिने लगानीभन्दा बढी जोखिमपूर्ण मानिन्छ । किनभने यसमा लाभांशको ग्यारेन्टी गरिएको हुँदैन । त्यसैगरी सेयरको बजार मूल्य सधैं बढीरहन्छ भन्ने पनि निश्चित हुँदैन ।

निजी क्षेत्रका पब्लिक कम्पनीले जारी गर्ने ऋणपत्र (डिबेन्चर)को हकमा तोकिएको समय र दरमा ब्याज तथा साँवा भुक्तानी गर्ने शर्त रहने हुँदा यसलाई सेयर भन्दा कम जोखिमपूर्ण मानिन्छ । बजार मूल्यमा उतारचढावको जोखिम भने यसमा पनि रहेकै हुन्छ ।

यस्तै सरकारी धितोपत्रमा तोकिएको समय र तोकिएको दरमा ब्याज प्रदान गरिने र तोकिएको अवधिमा सावाँ भुक्तानी समेत निश्चित हुने हुँदा यस्ता धितोपत्रलाई जोखिममुक्त मानिन्छ ।

कम जोखिमयुक्त धितोपत्र

धितोपत्र बजार सम्बन्धी पर्याप्त जानकारी नभएका र बढी जोखिम लिन नचाहने लगानीकर्ताहरुले सामूहिक लगानी कोषहरु (म्युचुअल फन्ड)मा लगानी गर्न सक्दछन् । यस्ता कोषहरुले लगानीकर्ताहरुलाई एकांक निष्कासन गर्दछन् र संकलित रकम विभिन्न किसिमका धितोपत्रहरुमा दक्ष तथा ब्यावसायिक रुपमा लगानी गर्ने कोषहरुको उद्देश्य रहेको हुन्छ ।

यसरी गरिएको लगानीबाट प्राप्त प्रतिफलमा कोषले व्यवस्थापन शुल्क तथा अन्य खर्चहरु कटाई बाँकी रकम सम्बन्धित लगानीकर्ताहरुलाई नै वितरण गर्दछ ।

म्युचुअल फन्डको खुलामुखी योजनामा लगानीकर्ता जुनसुकै समयमा पनि सहभागी हुनसक्छन । यस्तो योजना परिपक्व हुने निश्चित अवधि तोकिएको हुँदैन । लगानीकर्ताले आफुँसँग भएको एकांक जनुसुकै समयमा बेच्न सक्छन् र किन्न पनि सक्छन् । प्रचलित खुद सम्पत्ति मूल्यका आधारमा यसको किनबेच हुन्छ ।

म्युचुअल फन्डको बन्दमुखी योजना निश्चित परिमाण र निश्चित समयका लागि सञ्चालित हुन्छ । पूर्व निर्धारित समयावधिमा लगानीकर्ताले योजनाको एकांक किन्न पाउँछन् । योजना परिपक्व भएपछि लगानीकर्ताले प्रचलित खुद सम्पत्ति मूल्यमा एकांक बिक्री गर्छन् ।

(श्राेत : नेपाल स्टक एक्सचेञ्ज)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको