आइतबार, २६ असोज २०८२, नेपाली पूँजी बजारका लागि चुनौतीपूर्ण दिन बन्यो। बिहीबार दोहोरो अंकले उक्लिएको बजार आइतबार ७८.८३ अंकले घट्दै २५०३.३५ बिन्दुमा पुग्यो। बजारमा ३२४ कम्पनीका १ करोड ४३ लाख ६४ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७० करोडको कारोबार भयो। तर, कारोबारको यो संख्याले पनि बजारको निराश मनोविज्ञानलाई रोक्न सकेन।
१३ वटै उपसूचकहरू राताम्य बने। होटल तथा पर्यटन समूह सबैभन्दा बढी ४.८४ प्रतिशतले घट्यो। वाणिज्य बैंक, विकास बैंक र फाइनान्स समूहमा पनि २ देखि ३.५ प्रतिशतसम्मको गिरावट देखियो।
सबैभन्दा बढी कारोबार नेपाल पुनर्बीमा कम्पनीमा भयो — ३८ करोड ७ लाख रुपैयाँको। त्यसपछि एनएलजी इन्स्योरेन्स ३७ करोड १७ लाख रुपैयाँको कारोबारसहित दोस्रो स्थानमा रह्यो। नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले भने ६ प्रतिशत नाफा कमाए भने बुटवल पावरका लगानीकर्ताले ९ प्रतिशत घाटा बेहेर्नु पर्यो।
नेपाल राष्ट्र बैंकले हालै जारी गरेको परिपत्रमार्फत २५ करोडको कर्जा सीमा हटाएर लगानीकर्तालाई ठूलो राहत दिएको थियो। तरलता प्रशस्त छ, ब्याजदर ऐतिहासिक रूपमा न्यून छ, र सुधारका संकेतहरू निरन्तर देखिँदै छन्। यस्ता परिस्थितिमा बजार घट्नु स्वाभाविक होइन।
इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारका अनुसार, “राजनीतिक अस्थिरता र असोज मसान्तको ब्याज दबाबले बजार घटेको हो।”
लगानीकर्ता तिलक कोइरालाले भने धितोपत्र बोर्डले आफ्नो काम नगर्दा बजार नकारात्मक भएको बताए। उनका अनुसार, “राष्ट्र बैंकले सुधारका काम गरेको छ, तर सेबोनले कुनै ठोस कदम चालेको छैन।”
सेयर विश्लेषक मुक्ति अर्यालले बजारमा मनोबलको संकट देखिएको बताए। उनका शब्दमा, “सकारात्मक संकेत हुँदाहुँदै पनि लगानी असुरक्षित छ भन्ने हल्लाले बजार मनोवैज्ञानिक रूपमा धरमराएको छ।”
आइतबार बजार बन्द भएपछि लगानीकर्ताहरूको भीड नेपाल धितोपत्र बोर्ड (सेबोन) कार्यालयमा जम्मा भयो। उनीहरूले ११ बुँदे मागसहित सेबोन घेराउ गरे र घोषणा गरे — “माग पुरा नभएसम्म कुनै सदस्यलाई बाहिर निस्किन दिइने छैन।”
मागहरूमा मुख्यतः आईपीओ स्वीकृति रोक्ने, संस्थापक सेयर रूपान्तरण स्थगित गर्ने, एनआरएनलाई दोस्रो बजारमा प्रवेश दिने, सर्किट ब्रेकर परिमार्जन गर्ने, र ब्याज भुक्तानी ३० दिन सार्ने जस्ता सुधार प्रस्ताव समावेश थिए।
साँझ सेबोनले प्रेस विज्ञप्ति निकाल्दै तीन महिनाभित्र सुधारका कार्य पूरा गर्ने प्रतिबद्धता जनायो। तर, उक्त विज्ञप्तिमा कुनै हस्ताक्षर थिएन। यही हस्ताक्षरबिहीन कागजले लगानीकर्ताको आक्रोश झन् बढायो। उनीहरूले उक्त विज्ञप्ति सेबोनकै अगाडि च्यातिदिए।
त्यसपछि स्थिति बिग्रिँदै गयो। प्रहरीले हस्तक्षेप गरेर सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई भ्यानमा राखी कार्यालयबाट सुरक्षित निकासी गर्यो। आन्दोलनकारी लगानीकर्ताले भने स्पष्ट भने — “अब हामी तिहारपछि फेरि आउनेछौं, जबसम्म माग पूरा हुँदैन।”
नेपाल राष्ट्र बैंकले लगानीमैत्री नीति ल्याएको बेला सेबोनको मौनता अझै पनि रहस्यमय छ। एकातिर राष्ट्र बैंकले तरलता विस्तार, कर्जा सीमा हटाउने र लगानीमा लचिलोपन दिने निर्णय गर्यो, अर्कोतिर सेबोनले बजारमा माग सिर्जना गर्ने ठोस कदम चाल्न सकेको छैन।
लगानीकर्ताले सेबोनमाथि आरोप लगाइरहेका छन् कि उनले आफ्नो नियामक भूमिकालाई औपचारिकतामा मात्र सीमित पारेको छ। नीति निर्माणमा ढिलाइ, लगानीकर्ताको सुझाव बेवास्ता र बजार स्थायित्वमा सक्रियता नदेखाउँदा बजारको आत्मविश्वास घटेको छ।
बजारमा अहिले एक प्रश्न उठेको छ — “के यो बजारको स्वाभाविक गिरावट हो, वा कसैले नियोजित रूपमा बजार पारेको हो ?”
नयाँ नीति सार्वजनिक भएपछि धेरैले ठूलो रकम लगानी गरेका थिए। तर, केही विश्लेषकहरू भन्छन् — बजारमा त्रास फैलाएर केही समूहले सस्तोमा सेयर किन्ने रणनीति बनाएको सम्भावना पनि नकार्न सकिँदैन। सुधारका सबै संकेत सकारात्मक हुँदा पनि यस्तो भयावह गिरावट ‘पैनिक सेलिङ’ भन्दा बढी नियोजित देखिन्छ।
यदि बजार वास्तवमै नियोजित रूपमा गिराइएकाे हो भने, यसको उद्देश्य सस्तो मूल्यमा केहि खेलाडीहरूलाई प्रवेश गराउने हुन सक्छ। यसले आम लगानीकर्ताको विश्वास हल्लाउने, अनि पछि बजार उक्लिएपछि उनीहरूलाई पछुतोमा पार्ने सम्भावना रहन्छ।
हालको अवस्थामा लगानीकर्ताले डर होइन, धैर्य देखाउन जरुरी छ। बजारका आधारभूत सूचकहरू बलिया छन् — ब्याजदर न्यून छ, तरलता प्रशस्त छ, र राष्ट्र बैंकको नीति बजारमैत्री छ।
तर, राजनीतिक स्थिरता र सेबोनको नीतिगत तत्परता नआएसम्म बजारमा उतार–चढाव रहिरहने निश्चित छ। दीर्घकालीन दृष्टिकोणका लगानीकर्ताले राम्रो कम्पनीका सेयरमा बिस्तारै लगानी थप्ने समय यही हो।
नेप्सेमा हरेक संकट नयाँ अवसर पनि हो — तर त्यसका लागि हल्ला होइन, विश्लेषणमा आधारित निर्णय आवश्यक छ।
नेपालको पूँजी बजार अहिले ऐतिहासिक मोडमा उभिएको छ। राष्ट्र बैंकले सुधारको ढोका खोलेको छ, लगानीकर्ताले आफ्नो आवाज बुलन्द पारेका छन्, तर सेबोनले अझै जवाफदेहीताको संकेत दिन बाँकी छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस