तिहार पर्व सकिएसँगै लगानीकर्ताका लागि सेयर बजारमा केहि लाभांश सुरक्षित गर्ने अवसर देखिएका छन् आगामी साताभित्र नै धेरै कम्पनीहरूले लाभांश वितरण र साधारणसभा प्रयोजनका लागि बुक क्लोज मिति तय गरिसकेका छन्। लाभांश लिन चाहने लगानीकर्ताले बुक क्लोज मितिभन्दा अघि नै सम्बन्धित कम्पनीको सेयर किन्नुपर्नेछ।
अर्थसंसारले संकलन गरेको विवरणअनुसार सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक, मुक्तिनाथ कृषि कम्पनी र गुराँस लघुवित्त वित्तीय संस्था ले निकट भविष्यमै लाभांश बाँड्ने तयारी गरेका छन्। लगानीकर्ताका लागि यी अवसरहरू तिहारपछिको बजारमा सेयर खरिद गर्ने आकर्षक विकल्प बन्न सक्छन्।
सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मिति कात्तिक १६ गते रहेको छ। बैंकले लाभांश र साधारणसभा प्रयोजनका लागि कात्तिक १७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। त्यसैले कात्तिक १६ गतेसम्म सेयरधनी बनेकाले मात्र लाभांश पाउने र साधारणसभामा सहभागी हुन सक्नेछन्।
बैंकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश (करसहित) समावेश छन्।
बैंकको २४औं वार्षिक साधारणसभा यही कात्तिक ३० गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लब मा बिहान १० बजेबाट सुरु हुनेछ। सभाले बोनस वितरणपछि प्रबन्धपत्र संशोधन, स्वतन्त्र सञ्चालक नियुक्ति र वार्षिक प्रतिवेदन पारित गर्नेछ।
ग्लोबल आइएमई बैंकले ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ। बैंकको साधारणसभा कात्तिक २६ गते हुने तय भएको छ भने, बुक क्लोज मिति कात्तिक १६ गते तोकिएको छ।
यस अनुसार, कात्तिक १६ गतेअघि सेयर खरिद गर्ने लगानीकर्ताले लाभांश पाउनेछन्। यो बैंकले लगातार लाभांश वितरण गर्ने परम्परा कायम राख्दै आएको छ, जसले दीर्घकालीन लगानीकर्तालाई स्थायित्वको सन्देश दिन्छ।
सिटिजन्स बैंकले ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।
बैंकको साधारणसभा प्रयोजनका लागि बुक क्लोज मिति असोज १७ गते तोकिएको थियो। यद्यपि लाभांश प्रस्ताव राष्ट्र बैंकको स्वीकृतिपछि मात्र कार्यान्वयनमा आउनेछ। गत वर्ष बैंकले ४.२१ प्रतिशत लाभांश वितरण गरेको थियो।
नियमित लाभांश दिने सिटिजन्स बैंकमा पनि लगानीकर्ताको ध्यान केन्द्रित हुने अपेक्षा छ।
मुक्तिनाथ कृषि कम्पनीले सेयरधनीका लागि ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने घोषणा गरेको छ।
कम्पनीले कात्तिक २१ गते साधारणसभा बोलाएको छ र बुक क्लोज मिति कात्तिक १४ गते तोकेको छ। त्यसैले कात्तिक १३ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले लाभांश पाउनेछन्।
बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी ७० करोडबाट बढ्नेछ, जसपछि कम्पनीले ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने योजना समेत बनाएको छ। हाल कम्पनीको सेयर मूल्य १५ सय रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ।
गुराँस लघुवित्तले कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ, जसमा १४.५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (करसहित) समावेश छन्।
संस्थाले कात्तिक २३ गते धनकुटास्थित हिले कान्जिरोवा मकालु होटलमा बिहान ९ बजेदेखि १०औं वार्षिक साधारणसभा गर्नेछ।
लाभांश वितरण र सभा प्रयोजनका लागि कात्तिक १४ गते बुक क्लोज गर्ने निर्णय भएको छ। त्यस अनुसार कात्तिक १३ गतेसम्म कायम सेयरधनी मात्र लाभांशका लागि योग्य हुनेछन्।
यी पाँच कम्पनीका बुक क्लोज मिति नजिकिँदै गर्दा, लगानीकर्ताले आफ्नो पोर्टफोलियो पुनः मूल्याङ्कन गरी लाभांश सुरक्षित गर्न सेयर खरिद गर्न सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस