Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले सूचकाङ्क गणना प्रणालीबारे आधिकारिक सूचना जारी, सेबोनको निर्णयपछि लगानीकर्तालाई राहत

अर्थ संसार

आइतबार, ०५ असोज २०८२, ०९ : ४० मा प्रकाशित

नेप्सेले सूचकाङ्क गणना प्रणालीबारे आधिकारिक सूचना जारी, सेबोनको निर्णयपछि लगानीकर्तालाई राहत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचकाङ्क गणनाको तरिकाबारे आधिकारिक सूचना जारी गरेको छ। धितोपत्र बोर्ड (सेबोन) बाट प्राप्त निर्देशनअनुसार अबदेखि अन्तिम कारोबार मूल्यका आधारमा सूचकाङ्क गणना हुने व्यवस्था लागू हुने भएको हो।

नेप्सेले शुक्रबार (असोज ५ गते) सार्वजनिक गरेको सूचनामा भनिएको छ, “विनियमावलीअनुसार २:४५ देखि ३:०० बजेसम्मको भारित औसत मूल्यलाई क्लोजिङ प्राइस मान्ने व्यवस्था स्थगित गरिएको छ। अबदेखि अन्तिम कारोबार मूल्यलाई नै अन्तिम मूल्य मानिनेछ।”

सूचनामा प्राविधिक परीक्षण सम्पन्न आजको कारोबारमा गरेर र भोलि सार्वजनिक बिदा भएकाले असोज ७ गतेदेखि नयाँ व्यवस्था लागू हुने उल्लेख छ।

यसअघि, धितोपत्र बोर्ड (सेबोन) ले विगत केही दिनदेखि विवादित बनेको १५ मिनेटको औसत मूल्य गणना गर्ने प्रणाली तत्काल स्थगित गर्ने निर्णय गरेको थियो।

शनिबार बसेको आकस्मिक बैठकले लामो समयदेखि आलोचित हुँदै आएको उक्त अभ्यासलाई आइतबारदेखि नै कार्यान्वयन नगर्ने निर्णय गरेको हो।

लगानीकर्ताले बिहानैदेखि सेबोन परिसरमा नाराबाजी गर्दै दबाब सिर्जना गरेका थिए। तीव्र विरोधबीच भएको छलफलले अन्ततः लगानीकर्ताको माग स्वीकृत गरेको हो।

अर्थमन्त्री रामेश्वर खनालले एक दिनअघि नै सेबोनलाई विवादास्पद प्रावधान खारेज गर्न निर्देशन दिएका थिए। सो निर्देशनले निर्णय सहज बनाउन सहयोग गरेको विश्लेषण गरिएको छ।

पछिल्लो समय बजार नकरात्मक सर्किटमा परेपछि लगानीकर्ताको असन्तुष्टि बढ्दै गएको थियो। 

उता, अर्थ मन्त्रालयले पनि बजार सुधारतर्फ सक्रियता बढाएको छ। सेबोनका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरी पाँच दिनभित्र सुधार कार्ययोजना ल्याउन निर्देशन दिइएको छ।

विश्लेषकहरूका अनुसार, १५ मिनेटको औसत मूल्य गणना प्रणाली हटेसँगै लगानीकर्ताले तत्काल राहत पाउने देखिए पनि बजारको दीर्घकालीन सुधारका लागि नियामक, नीतिनिर्माता र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य छ।

68cf77e0a1f9a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको