नेपालमा सरकार नियामक निकाय त बजारमैत्री थिएनन् नै । पछिल्लो समय अर्थतन्त्रमा विज्ञता हासिल गरेकाहरुले नै बजारका बारेमा जथाभावी बोल्दा बजार धेरै प्रभावित भइरहेको अनुभवी लगानीकर्ता एवं सेयर विश्लेषक राजु पौडेल बताउँछन् ।
पोखरा बसेर सेयर कारोबार गर्दै आएका उनी काठमाडौंपछि सबैभन्दा बढी सेयर कारोबार हुने ठाउँ पोखरा भएको बताउँछन् । पोखरामा वा मोफसलमा बसेर सेयर कारोबार गर्दा त्यस्तो कठिनाइ नभए पनि लगानीकर्ताहरुको विभिन्न फोरमहरुमा जाने विभिन्न जानकारीहरु प्राप्त गर्ने अवसरहरु भने कम प्राप्त हुने बताउँछन् पौडेल ।
पहिले जसरी केही सीमित घरानिया वर्गहरुको सेयर बजारमा प्रभुत्व थियो, त्यो अहिले भने हटेको उनको भनाइ छ । "अहिले नेपालको सेयर बजारमा सबै वर्ग र समुदायका व्यक्तिहरुको उपस्थिति छ । यो सबै कुरा सेयर कारोबार अनलाईन प्रणालीमा गएकै कारण सम्भव भएको हो । यसका लागी हामीले नेप्सेलाई धन्यबाद दिनै पर्छ । तर अझै पनि नेप्सेमा विभिन्न समस्याहरु छन् । ती समस्याहरुको बिस्तारै समाधान गर्दै अगाडि बढ्नुपर्छ", उनले भने ।
अहिलेको अवस्थामा धेरै लगानीकर्ताहरुले अन्धाधुन्ध रुपमा लगानी गरिरहेको देखिने बताउँदै पौडेलले यसले जोखिम निम्त्याउने बताए । यो दोस्रो लकडाउनपछि सेयर बजारमा प्रवेश गरेका लगानीकर्ताहरुले त झनै हाइड्रो र फाइनान्स बाहेकका सेक्टरहरु नेपालको सेयर बजारमा छैनन् जस्तै गरी जसरी कारोबार गरिरहेको देखिएको उनको भनाइ छ । अहिले बजारमा प्रवेश गरेका नयाँ साथीहरुलाई सेयर शिक्षाको धेरै धेरै खाँचो रहेको पौडेलेले बताए ।
नेप्से परिसूचक ३२ सयको विन्दुमा हुँदा बजार प्रवेश गरेका लगानीकर्ताहरु २५ को विन्दुमा पुग्दा धेरै लगानीकर्ताहरु प्यानिक भएको उनको बुझाई छ । बजारमा कहिले काँही करेक्सन आँउदा लगानीकर्ताहरु आत्तिएर भन्दा पनि संयमित लगानी गर्नुपर्ने तर्क उनको छ ।
अहिलेका अर्थमन्त्री जनार्दन शर्मालाई अर्थतन्त्रका विषयमा कुनै पनि ज्ञान नभएको भन्दै उनले भने, "अहिलेसम्ममा मैले देखेका अर्थमन्त्रीमध्य सबैभन्दा बढी सेयर बजारमैत्री अर्थमन्त्री भनेकै बिष्णु पौडेल हुन्। बाबुराम भट्टराईले सेयर बजारलाई जुवाघर भनेकै कारण नेप्से ११ सयबाट झरेर ३०० भन्दा तलको बिन्दुमा आएको थियो ।" अहिलेका अर्थमन्त्रीले सेयर बजारको विकास भएमात्र देशको अर्थतन्त्रको विकास हुन्छ भन्ने कुरा नबुझेको उनले बताए ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केहि समय अघि भारतका भेट्रान लगानीकर्ता राकेश झुन्झुन्वालालाई गरेको सम्मानको स्मरण गर्दै उनले भने, "विदेशमा लगानीकर्ताहरुलाई सरकार र प्रशासनिकतन्त्रले सम्मान गर्छ । हाम्रामा त उनीहरुले न लगानीकर्ताहरुलाई राम्रो व्यवहार गर्छन् । अझ उनीहरुले त लगानीकर्ताहरुलाई लुटेरै जस्तो व्यवहार गर्ने गर्छन् ।"
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस