अर्थ संसार, काठमाडौँ– काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनमा निजी क्षेत्रको सहभागिता गराउँदा स्थानीय तहका जनप्रतिनिधिलाई पनि संलग्न गराइनुपर्ने औँल्याइएको छ ।
आज यहाँ लगानी बोर्डले आयोजना गरेको उपत्यकाको एकीकृत फोहोर व्यवस्थापनमा काठमाडौँ जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख र कार्यकारी अधिकृतसहित सरोकारवाला सबैलाई सहभागी गराउन पर्ने जनप्रतिनिधिले औँल्याए ।
कामपाका उपप्रमुख हरिप्रभा खड्गीले जनप्रतिनिधिको सहभागितामा फोहोरलाई उद्योग सञ्चालनको कच्चा पदार्थका रुपमा उपयोग गर्न निजी क्षेत्रको क्षमता उपयोग गर्ने र त्यसबाट लाभ लिने गरी प्रक्रिया अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।
अन्तरक्रियामा प्रस्तुतीकरण र जनप्रतिनिधिको जिज्ञासा मेट्दै सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले एकीकृत फोहोर व्यवस्थापनमा निजी क्षेत्रको सहभागिता गराउँदा हुने सम्झौता अमूर्त भाषामा लेखिनु नहुने विचार व्यक्त गर्नुभयो ।
फोहोर व्यवस्थापन कार्यमा फोहोर सङ्लग्न गरेर मात्र हुँदैन, सङ्कलित फोहोरलाई प्रशोधन गर्ने विधि र स्थानको व्यवस्थापन गरिने स्थानको वैज्ञानिक विकास तथा नगरपालिकाहरुले फोहोर व्यवस्थापन लिने नीति महत्वपूर्ण हुने धारणा राख्दै कामपाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले कार्य विभाजनमा नागरिक जिम्मेवारीसमेत किटान हुनु पर्ने बताउनुभयो ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले दिगो रुपमा फोहोर सङ्कलन र व्यवस्थानका लागि पछिल्लो समय केही उपलब्धि भए पनि यस बारे अझै धेरै काम बाँकी रहेको बताउनुभयो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले काठमाडौँ उपत्यकामा निस्कने फोहोरमैला व्यवस्थापनका लागि दिगो रुपमा समाधान हुने उपाय अपनाउन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस