Like us!
Follow us!
Connect us!
Watch us!

लघुकथा: सुख र समृद्धिको कामना

हरिहर बजगाईं

अर्थ संसार

सोमबार, १८ मंसिर २०८०, ०७ : ४२ मा प्रकाशित

लघुकथा: सुख र समृद्धिको कामना

देशमा व्याप्त वेथितिका कारण सबै मानिसले चरम संकट भोग्न बाध्य भएपछि यो समस्याको समाधान अनि सुख र समृद्धिको कामना गर्दै एक जना मानिसले भगवानको तपस्या गर्न थाल्छन् । उनले कठिनभन्दा कठिन विधि र प्रकृया पूरा गर्दै तपस्या गरेको देखेर भगवान प्रशन्न हुन्छन् र ति मानिसको मनोकामना पूरा गर्न उनका सामु प्रकट भई भन्छन्,“हे भक्त , म तिम्रो तपस्या देखि प्रशन्न भएँ । म तिमीलाई तिम्रो मनोकांक्षा अनुरुपको वरदान दिन्छु । के माग्छौ, माग । तर ख्याल राख कि म एकवटा मात्र वरदान दिनेछु ।”

ति मानिसले भगवानलाई आफ्नो अगाडि देख्दा अब आफ्नो देशका सारा मानिसको समस्याको समाधान हुने भो र सुख र समृद्धिको कामना पनि पूरा हुने भो भनी सोच्छन् र भावविह्वल हुँदै प्रणाम गर्दै भन्छन्,“हे भगवान, यदि हजुर मेरो तपस्याबाट साँच्चै नै प्रशन्न हुनुहुन्छ भने मेरो एउटा इच्छा पुरा गरिदिनुहोस् ।” यति भन्दै ति मानिसले आफ्नो खल्तीबाट एउटा कागज झिकेर भगवानलाई दिन्छन् र फेरि भन्छन्, “यस कागजमा नाम लेखिएका मानिसहरुको तुरुन्तै मृत्यु होस् । म यही चाहन्छु ।”

मानिसको यस्तो अचम्मको इच्छा सुनेर भगवानले आश्चर्य मिश्रित भावमा सोध्छन्, “प्रिय भक्त, तिम्रो यस्तो अचम्म लाग्दो साथै निर्मम इच्छाको कारण के होला? ”

मानिसले लामो स्वास फेर्दै भन्छन्,“भगवान्, मेरो देशका सबै मानिसहरु दुख र अभावको संकटमा छन् । म उनिहरुलाई यस संकटबाट मूक्त गराउन चाहन्छु । त्यसैले मेरो यो इच्छा पूरा गरिदिनुहोस् ।”

मानिसको यस्तो कुरा सुनेर भगवान् झनै अचम्मित हुन्छन र भन्छन्, “हे भक्त, तिमीलाई तिम्रो देशका मानिसहरुलाई दुख र अभावको संकटबाट मूक्त गराउनु छ भने सुख र समृद्धिका लागि चाहिने वस्तुहरु नमागेर किन यि मानिसहरु मरुन् भन्ने चाहन्छौ ? ”

मानिसले ठूलो विष्मयका साथ भन्छन्, “भगवान, मेरो देशका सबै मानिसहरु पहिला सुखी र समृद्ध थिए । तर, जब यि मानिसहरु विभिन्न पद र ओहोदामा पुगे, यिनले सिर्जना गरेको चरम वेथितिले मेरो देशको सुख र समृद्धि सबै नाश भयो । त्यसैले यि मानिसहरु बाँकी हुँदासम्म हजुरले दिएका सम्पूर्ण वैभवको पनि नाश नै हुने भएकाले मेरो देशका मानिसको संकटको समाधान हुन सक्दैन । त्यसैले हजुरले यि मानिसहरुलाई नै नस्ट गरिदिनुहोस् ।”

मानिसको कुरा सुनिसकेपछि भगवानले मानिसलाई सम्झाउँदै भन्छन्, “भक्त मैले तिमीलाई अघिनै भनेको छु कि म एकवटा मात्र वरदान दिनेछु । तसर्थ अझै सोच विचार गरी आफ्नो इच्छा प्रकट गर ।”

यसपछि मानिस दृढताका साथ भन्छन्, “हे जगदिश्वर, यि राक्षसहरुको राक्षसी कृत्यको अन्त्य भयो भने हजुरको आशिर्वादको साथमा मिहिनेत र पौरख गरी म र मेरो देशका मानिसहरु सुखी र समृद्ध हुनेछौं । तसर्थ यिनको मृत्यु नै मेरो एकमात्र इच्छा हो ।”

मानिसको यस्तो दृढ इच्छा सुनेपछि भगवानले उक्त कागज सरसर्ती हेर्छन् । उक्त कागजमा ति मानिसको देशका ठूला भनिएका नेताहरु, प्रशासन, न्यायलय, शान्ति सुरक्षा लगायत महत्वपूर्ण क्षेत्रका उच्च पदस्थ कर्मचारी, केहि व्यावसायी तथा बौद्धिक भनिएका भ्रष्ट मानिसहरुको नाम लेखिएको थियो । 

त्यसपछि भगवानले कुनै जवाफ दिन सक्दैनन् र त्यहाँबाट अन्तर्ध्यान हुन्छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको