Like us!
Follow us!
Connect us!
Watch us!

उत्कृष्ट करदातालाई आन्तरिक राजस्वको सम्मान

मंगलबार, ०७ मंसिर २०७३, १७ : १८ मा प्रकाशित

उत्कृष्ट करदातालाई आन्तरिक राजस्वको सम्मान

अर्थ संसार
धनगढी–आन्तरिक राजस्व कार्यालय सेतीले सुदूरपश्चिम क्षेत्रका उत्कृष्ट करदातालाई मंगलबार सम्मान गरेको छ । 
कार्यालयले गत आर्थिक वर्षमा नियमित कर तिर्ने ५ वटा व्यवसायिक फर्मलाई कर सप्ताहको अन्तिम दिन आयोजित कार्यक्रममा सम्मान गरेको हो । 

यस्तै कर कार्यालयले संचालन गर्ने करदाता शिक्षा कार्यक्रममा सहयोग गर्ने एक संस्था र कर कार्यालयका दुई जना कर्मचारीलाई उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गरियो । आर्थिक वर्ष २०७१÷०७२ का आधारमा कर सहभागिता जनाउने किसान  बहुउद्देश्यीय सहकारी संस्था लम्की कैलाली, लवकुश सप्लायर्स दिपायल डोटी, लक्ष्मी इन्टरप्राईजेज साँफेबगर अछाम, आरएस ट्रेड एण्ड सप्लायर्स बाजुरा र सुर्मादेवी बोहरा जनरल स्टोर बझाङलाई सम्मान गरिएको हो ।

कर दाता शिक्षा कार्यक्रममा सहयोग गरेवाफत उद्योग वाणिज्य संघ बाजुरालाई सम्मान गरियो । त्यस अबसरमा कर कार्यालयमा कार्यरत नायव सुब्बा जगतराम चौधरी र कार्यालय सहयोगी मोहनबहादुर अधिकारीलाई पनि सम्मान गरिएको थियो । नासु चौधरीलाई आन्तरिक राजस्व कार्यालय सेती र कार्यालय सहयोगी अधिकारीलाई आन्तरिक राजस्व विभागले उत्कृष्ट कर्मचारीका रुपमा छनौट गरेका हुन् । 

कार्यक्रममा प्रमुख अतिथि रहेका कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नागरिकले तिरेको कर देश विकासमा खर्च गरिने भएकाले सबै नागरिकले कर तिर्नुपर्ने बताए । आन्तरिक राजस्व कार्यालय सेतीका प्रमुख कर अधिकृत कृष्णबहादुर बोहराले सबैलाई करको दायरामा ल्याउन आन्तरिक राजस्व कार्यालयले विभिन्न कार्यक्रम गर्दै आएको बताए । 
कर सप्ताहअन्तरगत कार्यालयले व्यवसायी तथा अन्य सरोकारवालासँग करका बारेमा छलफल, अन्तरक्रिया गर्ने, सचेतनामूलक र्यालीलगायतका कार्यक्रम गरेको थियो । गत आर्थिक वर्षसम्म ३४ हजार ६ सय ५८ भ्याटमा दर्ता भएकासहित ३४ हजार ३ सय ७८ करदाता रहेका छन् । करको दायराभन्दा बाहिर रहेका करदाताको संख्या उल्लेख्य छ । आन्तरिक राजस्व कार्यालय सेतीले गत आर्थिक वर्षमा करिब १ अर्ब ६२ करोड रुपैया कर संकलन गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको