Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको लगानी घट्दै

शुक्रबार, १४ पुस २०७४, १४ : ५७ मा प्रकाशित

सेयर बजारको लगानी घट्दै

अर्थ संसार, बनेपा– दुई सातादेखि निरन्तर ओरालो लागेको सेयर  बजार परिसूचक नेप्सेको प्रभाव मोफसलको सेयर बजारमा पनि पर्न थालेको छ ।

मोफसलमा खुलेका ब्रोकर कार्यालयका शाखामा शेयर बजारप्रति आकर्षण घटेका कारण लगानीकर्ताको मनोबल कमजोर देखिएको छ ।

काभ्रेपलाञ्चोकको बनेपा बजारमा रहेका दुईवटा ब्रोकर कार्यालयले दिएको जानकारीअनुसार लगानीकर्ता अहिले ‘हेर’ र ‘पर्ख’ को रणनीति बनाउँदै छन् ।

खचाखच भरिने बनेपाका ब्रोकर कार्यालय सुनसान जस्तै देखिँदा यस क्षेत्रका लगानीकर्तामा सेयर बजारप्रतिको उत्साह कम देखिएको छ ।

बनेपाको भिजन सेक्युरिटिज प्रालि ९३४० नम्बरले यस साता चार दिनको अवधिमा ७४ हजार ९०५ कित्ताको रु तीन करोड ४५ लाख १२ हजार ४८१ बराबरको कारोबार गरेको छ । सो सेक्युरिटिज प्रालिले यसअघि ७२ हजार सात कित्ताको रु पाँच करोड २६ लाख ४६ हजार २०१ बराबरको कारोबार गरेको थियो ।

“बैंकले गरेको ब्याजको वृद्धि, नयाँ सरकार निर्माणमा भएको ढिलाइको प्रभाव यहाँ पनि परेको छ ।” बनेपाको भिजन सेक्युरिटिज प्रालि ९३४० नम्बरका प्रमुख प्रकाश अधिकारीले भन्नुभयो ।

उहाँले वाणिज्य बैंक, माइक्रोफाइनान्सजस्ता कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको उल्लेख गर्दै शेयर बजारका लागि काठमाडौँ जाने लगानीकर्ताले पनि बनेपाबाट नै कारोबार गरेको बताउनुभयो ।

बनेपाको क्रियटिभ सेक्युरिटिज प्रालि ९४०० नम्बर ब्रोकर कार्यालयले पनि यस सातामा रु एक करोड ६८ लाख ५० हजार ७३३ बराबरको मात्रै कारोबार गरेको छ । उक्त सेक्युरिटिज प्रालिले अघिल्लो साता रु दुई करोड १२ लाख २६ हजार ६४६ बराबरको कारोबार गरेको थियो ।

बनेपाको क्रियटीभ सेक्युरिटिज प्रालि ९४०० नम्बरका प्रमुख राजेन्द्र मर्हजनले शेयर बजारमा गिरावट आएपछि लगानीकर्ता शेयरमा लगानी गर्न हिचकिचाइरहेको जानकारी दिनुभयो ।

धुलिखेल, पनौती, पाँचखाल, भक्तपुर लगायतका क्षेत्रबाट सेयर कारोबार गर्न लगानीकर्ता बनेपा आउँछन् ।

बनेपामा तीनवटा ब्रोकर कार्यालयले सेयर खरिद, बिक्रीको काम गर्दै आएका छन् । सेयर बजार बढ्दा बनेपाका ब्रोकर कार्यालयमा रु छ करोडदेखि रु १० करोडसम्मको कारोबार हुँदै आएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको