Like us!
Follow us!
Connect us!
Watch us!

रसुवागढीले एक अर्ब बढीको साधारण सेयर जारी गर्दै, सरकारी कर्मचारी मालामाल हुँदै

शुक्रबार, २१ पुस २०७४, १५ : २४ मा प्रकाशित

रसुवागढीले एक अर्ब बढीको साधारण सेयर  जारी गर्दै, सरकारी कर्मचारी मालामाल हुँदै

अर्थ संसार, काठमाडौ– नेपाल धितोपत्र बोर्डले चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनीलाई रु एक अर्ब ६४ करोड बराबरको साधारण सेयर निष्काशनको अनुमति दिएको छ ।

बोर्डले बिहिबार रसुवागढी जलविद्युत् आयोजनाको प्रवद्र्धक रसुवागढी हाइड्रोपावर कम्पनीलाई साधारण सेयर (आइपिओ) निष्काशनको अनुमति दिएको हो ।

कम्पनीले कर्मचारी संचय कोषका सञ्चयकर्ता, कोषका कर्मचारी र ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई गरी रु एक अर्ब ६४ करोड २१ लाख ४ बराबरका एक करोड ६४ लाख २१ हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

बोर्डका प्रवक्ता निरज गिरिले सबै कागजातको अध्ययनपछि रसुवागढी हाइड्रोपावर कम्पनीलाई साधारण सेयर र निष्काशनको अनुमति दिइएको बताए ।  कम्पनी प्रमुख माधव कोइरालाले रसुवागढीले पहिलो चरणमा २४ प्रतिशत साधारण सेयर (आइपिओ) निष्काशन गर्ने अनुमति प्राप्त भएको जानकारी दिए ।  

रसुवागढी हाइड्रोको साधारण सेयर निष्काशनको बिक्री प्रबन्धकमा यसअघि नै ग्लोबल आइएमइ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । यस्तै सहायक बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड, सिद्धार्थ क्यापिटल लिमिटेड र एसनआइबीएल क्यापिटल लिमिटेड रहेका छन् ।

रसुवागढीले पहिलो चरणको साधारण सेयर निष्काशन गरेपछि दोस्रो चरणमा आयोजना प्रभावित रसुवावासीलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत गरी झण्डै रु एक अर्ब ७५ करोड बराबरको साधारण सेयर बिक्री गर्नेछ ।

कम्पनीको लगानी संरचनाअनुसार ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ ।

रसुवागढी हाइड्रोले कुल १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना रसुवा जिल्लामा निर्माण गरिरहेको छ । आयोजनाको काम करिब ६० प्रतिशत सम्पन्न भएको आयोजना प्रमुख कोइरालाले जानकारी दिए ।  

गोरखा भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण केही समय समस्यामा परेको आयोजनाले पछिल्लो दिनमा निर्माण कार्यले गति लिएको छ । आयोजना प्रमुख कोइरालाले हाल सुरुङ खन्ने, बाँधलगायत अन्य पूर्वाधार निर्माणको काम युद्धस्तरमा भइरहेको जानकारी दिए ।  

कुल चार हजार १८५ मिटर लामो सुरुङमध्ये दुई हजार ६०० मिटर निर्माण सकिएको र बाँकी रहेको  सुरुङ खन्ने काम आगामी चार महिनाभित्र सम्पन्न हुने पनि उनले बताए ।  

पूर्वनिर्धारित कार्यतालिकाअनुसार आगामी भदौमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको थियो । तर विविध कारणले गर्दा २०१९ को डिसेम्बरमा सक्ने गरी कार्ययोजना बनाइएको छ ।


आयोजनाको निर्माण चाइना वाटर एन्ड इलेक्ट्रिसिटी कर्पोरेशनले गरिरहेको छ । यस्तै इलेक्ट्रोमेकानिकलतर्फ भारतको भ्वाइथ हाइड्रो लिमिटेड रहेको छ । कुल रु १३ अर्ब ६८ करोड लागत अनुमान गरिएको उक्त आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३, नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीय बासिन्दालाई १०, लगानीकर्ता कर्मचारी सञ्चय कोषका कर्मचारी तथा विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी तीन दशमलव पाँच प्रतिशत एंव सञ्चयकर्ताको १९ दशमलव ५ प्रतिशत लगानी रहनेछ ।

 यसअघि बोर्डले सान्जेन जलविद्युत् कम्पनीलाई रु दुई अर्ब ७३ करोड ७५ लाख बराबरको साधारण शेयर जारी गर्ने अनुमति दिइसकेको छ । सरकारी स्वामित्वका जलविद्युत् आयोजनाले एक पछि अर्को गर्दै साधारण शेयर जारी गर्ने तयारी गरेको र अनुमति समेत पाएकाले लगानीकर्तामा भने उत्साह बढेको छ ।

 बोर्डकाअनुसार यस वर्ष विभिन्न १६ जलविद्युत् कम्पनीले साधारण सेयर जारी गर्न बोर्डमा आवेदन दिएका छन् । केही दिन पहिले मात्रै राधी हाइड्रो पावर कम्पनीले रु ६१ करोड ५० लाख बराबरको साधारण सेयर जारी गरेको छ ।

यस्तै चिलिमे कम्पनीको अर्को सहायक कम्पनी मध्य भोटेकोशीको पनि साधारण शेयर जारी गर्ने तयारी भईरहेको छ । एकपछि अर्को गर्दै साधारण शेयर जारी गर्ने तयारीमा जलविद्युत् कम्पनीहरु लागेपछि कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतका संस्थाले हितग्राही खाता नभएकालाई तत्काल हितग्राही खाता खोल्न सूचना मार्फत आग्रह गरिरहेका छन् ।

कोषका प्रमुख प्रशासक दीपक रौनियारले हितग्राही खाता नभएकालाई खाता खोल्न आग्रह गरिएको जानकारी दिएका छन् ।  

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको