बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीसहित तीनजना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार गाउँपालिकाका लेखा हेर्ने छैटौं तहका अधिकृत सुमनकुमार पुरी, जनकपुर टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक एवं जनकपुर टुडे मिडिया ग्रुप प्रालिका अध्यक्ष वृजकुमार यादवविरुद्ध मिलेमतो गरी सार्वजनिक खरिद ऐनविपरीत ठेक्कासम्बन्धी सूचना गुपचुप राखेर आर्थिक अनियमितता गरेको पाइएको भन्दै मुद्दा दायर गरेको हो ।
पत्रकार यादवमाथि विज्ञापन नै प्रकाशित नगरी ६ लाख ४४ हजार रुपियाँको फर्जी बिल तयार पारेको आरोप छ । आयोगका अनुसार, धनुषाको बटेश्वर गाउँपालिकाका वडाहरूमा स्वास्थ्य चौकी भवन र डिप बोरिङ निर्माणमा बोलपत्र आह्वान गर्नुपर्ने थियो । राष्ट्रिय स्तरको दैनिक पत्रिकामा बोलपत्रको सूचना प्रकाशित गर्नुपर्नेमा जनकपुर टुडेका प्रधानसम्पादक एवं अध्यक्ष यादवले बोलपत्र स्वीकृतिको सूचना लुकाई सूचना प्रकाशित नै गरेनन् ।यादवले गाउँपालिकाको अभिलेखमा राख्ने गरी एकप्रति मात्रै पत्रिका प्रकाशित गरेको आयोगका प्रवक्ता राजेन्द्रकमार पौडेलले बताए । पाँच वर्षअघिको घटनामा प्रधान सम्पादक यादवले विज्ञापन प्रकाशित गरेको भनी ६ लाख ४४ हजार रुपियाँको बिल तयार गरेका थिए । त्यही रकम भुक्तानी गरेको आरोपमा आयोगले मुद्दा दायर गरेको हो ।
गाउँपालिकाको ठेक्काको अभिलेखमा राख्ने गरी जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिकाको एक प्रतिमात्र बोलपत्र आह्वान र बोलपत्र स्वीकृतको सूचना गाउँपालिकामा पेस गरी-गराई सोही झुटो विवरणसहितको पत्रिकाको आधारमा भुक्तानी लिएको पुष्टि भएको आयोगले जनाएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसूरजन्य कार्यको नगद तथा गैरकानुनी लाभ प्राप्त गर्ने प्रकृतिको मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसूरमा मुख्य कसूरदारहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम यादवलाई मुख्य कसूरदारसरह सजाय गरी बिगो असुलउपर हुन मागदाबी लिई मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस