काठमाडौंको पुरानो सिनामंगलस्थित एक घरमा चिनियाँ नागरिकले सरकारी अनुमति बिना नै इलेक्ट्रोनिक उपकरण उत्पादन गर्ने अवैध कारखाना सञ्चालन गरेको खुलेको छ। उक्त कारखानाबाट करिब २ करोड १९ लाख रुपैयाँभन्दा बढीको कर छली भएको प्रारम्भिक विवरणमा उल्लेख छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोप्य सूचनाका आधारमा मंगलबार दिउँसो करिब साढे ४ बजे छापा हानेको थियो। छापाको क्रममा ३८ वर्षीय चिनियाँ नागरिक यु वाङ पक्राउ परेका छन्, जो चीनको स्यान्डोङ प्रान्तका हुन् र हाल काठमाडौं–३२, पञ्चमुखी चोकमा बसोबास गर्दै आएका थिए।
प्रहरीका अनुसार, वाङले एचपी, डेल, एसर, एसुस, लेनोभो लगायतका ब्राण्डका ल्यापटपका ब्याट्री र पार्टपूर्जा, साथै सिसी क्यामेरा उपकरणहरू समेत उत्पादन तथा भण्डारण गर्दै आएका थिए। प्रहरीले सो घरबाट १ करोड १९ लाख रुपैयाँ बराबरको ल्यापटप ब्याट्री, ३ हजार ९२ थान ल्यापटप र १ हजार ४७९ थान सिसी क्यामेरा उपकरण बरामद गरेको जनाएको छ।
प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार, कारखाना न त कुनै सरकारी निकायमा दर्ता थियो, न त औद्योगिक स्वीकृति वा कर दस्तुर तिरेको प्रमाण फेला परेको छ। उनले भने, “व्यक्तिगत आवासलाई गोदाम र उत्पादन केन्द्र बनाई, बिल-बिजकबिनै कच्चा पदार्थ प्रशोधन गरी वस्तु उत्पादन र बिक्री वितरण गरिएको पाइएको छ।”
प्रहरीले यो कार्यलाई ठूलो परिमाणको कर छली तथा अनधिकृत व्यापारिक गतिविधि मानेको छ र थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा मुद्दा बुझाइएको जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस