Like us!
Follow us!
Connect us!
Watch us!

साञ्जेनको आइपिओ आउँदै,कर्मचारीले मात्रै भर्न पाउने

विहीबार, २५ माघ २०७४, ११ : ११ मा प्रकाशित

साञ्जेनको आइपिओ आउँदै,कर्मचारीले मात्रै भर्न पाउने

अर्थ संसार, काठमाडौं – चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनीले साधारण शेयर(आएपिओ) जारी गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र कम्पनीका संस्थापक संस्थाहरु नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवा जिल्लाका तत्कालिन जिविस र गाविसहरु­) का कर्मचारीलाई शेयर दिने भएको हो ।

यस्तै ऋणदाता संस्था कर्मचारी संचयकोषका कर्मचारीका लागि छुट्टयाइएको सेयर निश्कासन गर्न लागेको छ । उनीहरुका लागि क्रमश ः १९.५, ३.५ र १ प्रतिशत सेयर छुट्याइएको छ ।

कम्पनीले ४९ प्रतिशत साधारण सेयर मध्ये सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीलाई छुट्याइएको २४ प्रतिशत अर्थात रु ८७ करोड ६० लाख बराबरको शेयर पहिलो चरणमा निश्कासन गर्न लागिएको हो ।

दोस्रो चरणमा आयोजना प्रभावित रसुवावासीलाई छुट्याएको १० प्रतिशत शेयर र अन्तिम चरणमा मुलुकभरका सर्वसाधारणका लागि छुट्याएको १५ प्रतिशत शेयर निश्कासन गरिने छ । कम्पनीको प्रति सेयर मूल्य रु १०० रहने छ ।

कम्पनी र कर्मचारी सञ्चय कोषबीच ऋण सम्झौता भएको २०६८ मंसिर २२ गतेमा बहाल रहेका र त्यसपछि विवरणपत्र स्वीकृत भएको २०७४ मंसिर २६ सम्ममा थप भएका संचयकर्ता, संस्थापक संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचारीहरुले सेयरमा आवेदन दिन सक्ने छन् ।

सञ्चयकर्ताहरुका लागि छुट्याएको रु ७१ करोड १७ लाख ५० हजार बराबरको सेयरका लागि सञ्चयकर्ताले  आगामी फागुन ११ गतेदेखि ३० फागुनसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

कर्मचारी संचय कोषका संचयकर्ताहरु कर्मचारीहरुले न्युनतम ५० कित्ता र सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम ३०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यस कम्पनीको संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुलाई १२ करोड ७७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर छुट्याइएको छ । र संस्थापक संस्थाका कर्मचारीहरुले न्यूनतम ५० कित्ता र सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम ३०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यसैगरि, कर्मचारी संचय कोषका कर्मचारीहरुले न्यूनतम ५० कित्ता र सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम १००० कित्ता सम्म सेयरमा आवेदन दिन सक्ने छन् । उनीहरुका लागि रु ३ करोड ६५ लाख बराबरको शेयर छुट्याइएको छ । संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीहरुले आगामी ५ गतेदेखि १३ चैत सम्म आवेदन दिन सक्ने छन् ।

आवेदन दिंदा अनिवार्यरुपमा  डिम्याट खाता नम्बर उल्लेख गर्नु पर्ने र सी—आश्वा प्रणाली मार्फत आवेदन गर्नु पर्ने व्यवस्था गरिएको छ । धितोपत्र निष्काशन तथा विक्री प्रवन्धकको काम नागरिक लगानी कोषले गर्ने छ ।

सान्जेन जल विद्युत कम्पनी लिमिटेडको अधिकृत पूँजी ३ अर्ब ७५ करोड तथा जारी पूँजी तीन अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीमा चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३९.३६ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १०.३६ प्रतिशत, रसुवाका स्थानीय तहको १.२८ प्रतिशत संस्थापक सेयर छ । कम्पनीले निर्माण गरिरहेको माथिल्लो सान्जेन (१४.८ मेगावाट) र सान्जेन (४२.५ मेगावाट) जलविद्युत आयोजनाको अनुमानित लागत क्रमश रु  दुई अर्ब २२ करोड र रु पाँच अर्ब २ करोड छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको