Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ रसुवागढी हाइड्रो : फागुन ११ देखि खुल्दै आइपिओ

आइतबार, २८ माघ २०७४, १० : ५४ मा प्रकाशित

यस्तो छ रसुवागढी हाइड्रो :  फागुन ११ देखि खुल्दै आइपिओ

अर्थ संसार, काठमाडौं– रसुवागढी हाइड्रोपावर कम्पनीले रसुवा जिल्लामा निर्माण भइरहेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना निर्माणका लागि वित्तिय व्यवस्थापन गर्न कम्पनीको स्वपुँजी अन्तर्गतको सर्वसाधारण समुहका सेयरधनीलाई छुट्याइएको ४९ प्रतिशत मध्ये पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १९.५ प्रतिशत र कम्पनीका संस्थापक संस्थाहरु (नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवा जिल्लाका सम्बन्धित स्थानिय तह­) का कर्मचारीका लागि ३.५ प्रतिशत तथा ऋणदाता संस्था (कर्मचारी संचयकोष) का कर्मचारीहरुका लागि १ प्रतिशत गरी जम्मा २४ प्रतिशत सेयर निष्काशन गर्न लागेको छ ।

कम्पनी र कर्मचारी सञ्चय कोषबीच ऋण सम्झौता भएको मिति २०६८ मंसिर २२ गतेमा बहाल रहेका र त्यसपछि नेपाल धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत भएको मिति २०७४ पुस २० सम्ममा थप भएका संचयकर्ता, संस्थापक संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचारीहरुले हाल निष्काशन गर्न लागिएको सेयरमा आवेदन दिन सक्नेछन् ।

यस प्रयोजनका लागि २०७४ माघ २८ गते आव्हानपत्र निष्काशन गरिएको थियो ।

कर्मचारी संचयकोषका संचयकर्ता कर्मचारीहरुको लागि छुट्याइएको रु १०० अंकित दरका रु १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता (रु.१,३३,४२,०९,५००) सेयरका लागि फागुन ११ देखि ३० गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीका संस्थापक संस्थाहरु (नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवा जिल्लाका सम्बन्धित स्थानिय तह­) का कर्मचारीको लागि छुट्याइएको रु १०० अंकित दरका २३ लाख ९४ हजार ७३५ कित्ता (रु.२३,९४,७३,५००) शेयर तथा ऋणदाता संस्था (कर्मचारी संचयकोष) का कर्मचारीहरुका लागि छुट्याइएको रु १०० अंकित दरका ६ लाख ८४ हजार २१० कित्ता  (रु.६,८४,२१,०००) शेयरका लागि आगामी चैत ५ देखि १३ सम्म आवेदन दिन सकिने छ ।

कर्मचारी संचय कोषका संचयकर्ताहरु र संस्थापक संस्थाका कर्मचारीले न्युनतम ५० कित्ता र सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम ५०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यसैगरि, कर्मचारी संचय कोषका कर्मचारीहरुले न्युनतम ५० कित्ता र सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम २५०० कित्ता सम्म सेयरमा आवेदन दिन सक्ने छन् ।

आवेदकहरुले देशभरी रहेका सिआश्वा सेवा प्रदान गर्ने सम्पूर्ण बैक तथा वित्तीय संस्थाहरुमा आफ्नो कर्मचारी परिचयपत्र तथा संचयकर्ताको हकमा संचयकर्ता परिचयपत्र पेश गरी आवेदन दिनुपर्नेछ ।

साथै आवेदकहरुको डिम्याट खाता पनि अनिवार्य रहेको छ । कम्पनीले दोस्रो चरणमा आयोजना प्रभावित रसुवाबासीलाई छुट्याइएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १०० कित्ता (रु.६८,४२,१०,०००) शेयर र अन्तिम चरणमा सर्वसाधारणका लागि छुट्याइएको १५ प्रतिशत अर्थात १ करोड २ लाख ६३ हजार १५० कित्ता (रु.१,०२,६३,१५,०००) सेयर निश्कासन गर्नेछ ।

यस कम्पनीको अधिकृत पूँजी रु.७ अर्व तथा जारी पूँजी रु. ६ अर्व ८४ करोड २१ लाख रहेको छ । कम्पनीका संस्थापक सेयरधनी समूहले कबोल गरेको ५१ प्रतिशत अर्थात रु १०० अंकित दरका ३ करोड ४८ लाख ९४ हजार ७१० कित्ता सेयरको जम्मा रु.३,४८,९४,७१,००० चुक्ता गरिसकेका छन् ।

उक्त संस्थापक सेयरधनी समूह अन्तर्गत चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३२.७९ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १८ प्रतिशत र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तहको ०.२१ प्रतिशत संस्थापक सेयर रहेको छ । 

कम्पनीले ५० प्रतिशत स्वपूँजी र ५० प्रतिशत ऋण रकमबाट आयोजना निर्माणको लागि आवश्यक वित्तीय व्यवस्था गरेको छ ।

रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिकाको वडा नम्बर १ र २ मा निर्माणाधीन आयोजनाको अनुमानित लागत विद्युत खरिद बिक्री सम्झौता (पीपीए) बमोजिम रु १३ अर्ब ६८ करोड ४२ लाख रहेको छ ।

उक्त लागत अनुमान तयार पारेको समयमा भन्दा हाल विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन भएको, महाभूकम्प, बाढीपहिरो, नाकाबन्दी लगायतका कारणहरुले निर्माण प्रभावित हुँदा आयोजना सम्पन्न गर्ने अवधि समेत बढ्न गएकोले आयोजनाको लागत केही बढ्न जाने देखिएको छ । ।

आयोजनाले २०७६ साल पुस १५ देखि विद्युत उत्पादन शुरु गर्ने लक्ष्य राखेको छ । हालसम्म आयोजनाको निर्माण करिब ६० प्रतिशत सकिएको छ ।

आयोजनाबाट वार्षिक रुपमा ६१ करोड ३० लाख युनिट विद्युत उत्पादन हुनेछ । नेपाल विद्युत प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु ८.४० र रु ४.८० मा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक रु ३ अर्ब २५ करोड आम्दानी हुनेछ ।

रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले आगामी फागुन ११ गतेदेखि एकै पटक उक्त परिमाणको सीमित साधारण सेयरबिक्री गर्ने भएका हुन् ।

दुवै कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा सेयरर संरचना तथा लगानीसम्बन्धी जानकारी पेश गरेपछि सीमित साधारण सेयर जारी गर्ने तयारी गरिएको हो । सोही जानकारी बुझाउन केही समय लागेका कारण सीमित साधारण शेयर बिक्री गर्ने अवधिक एक महिना पर सरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको