Like us!
Follow us!
Connect us!
Watch us!
एक प्राध्यापकको भागमा जम्मा १३ विद्यार्थी

त्रिविमा प्राध्यापक बढ्दै, विद्यार्थी घट्दै

आइतबार, १० पुस २०७३, १० : ३८ मा प्रकाशित

त्रिविमा प्राध्यापक बढ्दै, विद्यार्थी घट्दै

काठमाडौं– त्रिभुवन विश्वविद्यालयमा केही वर्षयता विद्यार्थी संख्या ह्वात्तै घटेको छ । विभिन्न तहका प्राध्यापक संख्या भने क्रमशः बढेको छ । विद्यार्थी घटेपछि प्राध्यापकको भारसमेत कम हुँदै गएको छ ।

त्रिविको आंगिक क्याम्पसमा एकै वर्षमा

स्नातक र स्नातकोत्तर तहमा झन्डै आधा लाख विद्यार्थी घटेका छन् । त्रिविको अद्यावधिक तथ्यांकअनुसार आर्थिक वर्ष ०७१/७२ मा एक लाख ४८ हजार एक सय ४१ विद्यार्थी रहेकोमा चालू आव ०७२(७३ मा ९९ हजार ४५ मा झरेको छ । ४९ हजार ९६ विद्यार्थी संख्या घटेको त्रिविको रेकर्ड छ ।आव ०७०/७१ मा भने आंगिक क्याम्पसमा दुई लाख ७३ हजार तीन ४९ विद्यार्थी रहेको त्रिवि योजना महाशाखाले जनाएको छ । ०७१/७२ मा अघिल्लो वर्षको तुलनामा एक लाख २५ हजार दुई सय आठ विद्यार्थी घटेका थिए ।

एक प्राध्यापक १३ विद्यार्थी

त्रिविमा सहायक प्रशिक्षकदेखि प्राध्यापकसम्म गरी सात हजार पाँच सय ९२ शिक्षक रहेको योजना महाशाखाको तथ्यांक छ । यस हिसाबले एक शिक्षकलाई १३ विद्यार्थीको भार पर्छ । अझै शिक्षक संख्या थपिँदै छन् । यस वर्ष खुला प्रतिस्पर्धाबाट झन्डै ६ सय उपप्राध्यापक थपिने त्रिविका रजिस्ट्रार डिल्ली उप्रेतीले जानकारी दिए । उपप्राध्यापक तहको लिखित नतिजा आएपछि अहिले धमाधम अन्तर्वार्ता भइरहेको छ । नयाँ थपिएपछि शिक्षकको भार झन् कम हुनेछ ।

भार नपुगेपछि कार्यक्रम मर्जको तयारी

त्रिविको नियममा स्नातक तहमा एक सातामा १२ पिरियड पढाउनुपर्ने व्यवस्था छ । तर, सबै प्राध्यापकले यो भार पूरा गरेका छैनन् । योजना महाशाखा प्रमुख प्रा.डा.रिद्धिशकुमार पोखरेलले पनि विद्यार्थी संख्या कम भएका विषय र केही क्याम्पसमा प्राध्यापकले भार पूरा नगरेको जानकारी दिए । विद्यार्थी कम हुने विषयमा विभिन्न कलेजको कार्यक्रम र सिफ्ट मर्ज गर्ने त्रिविको तयारी छ । मानविकी तथा सामाजिकशास्त्र संकायले विद्यार्थी कम हुने विषय सबै क्याम्पसमा सञ्चालन गर्न नदिने भएको छ ।

थोरै–थोरै विद्यार्थी धेरै क्याम्पसमा भर्ना हुँदा जनशक्ति र भौतिक पूर्वाधार व्यवस्थापनमा समस्या हुने हुँदा त्रिविले १० भन्दा कम विद्यार्थी भएमा कार्यक्रम सञ्चालन नगर्न सर्कुलर गरेको छ । १० जनाभन्दा कम विद्यार्थीले आवेदन फारम भरेमा त्यो फारम डिन कार्यालयमा पठाउन निर्देशन दिइएको छ ।

नेपाल भाषा, हिन्दी, उर्दूलगायतका भाषा तथा इतिहास, भूगोल, संस्कृत, राजनीतिशास्त्रलगायतका विषयमा विद्यार्थी संख्या निकै कम हुँदै गएको छ । धेरै क्याम्पसले थोरै–थोरै विद्यार्थी पढाउँदा भौतिक पूर्वाधार धेरै खपत हुने र जनशक्ति व्यवस्थापनमा समस्या हुँदै आएको त्रिविका अधिकारीको भनाइ छ ।

त्रिविमा विद्यार्थी घट्नुका तीन कारण
प्रा.डा. रिद्धिशकुमार पोखरेल
प्रमुख, योजना महाशाखा, त्रिवि
१. अहिले विद्यार्थी धेरै स्कोप भएका विषय अध्ययन गर्न खोजिरहेका छन् । त्रिविका आंगिक क्याम्पसमा मात्र होइन अवसर प्राप्त हुने विषय अध्ययनका लागि अरू क्याम्पस र विश्वविद्यालयमा पनि गएका छन् । तर, त्रिविका अध्यापन हुने प्राविधिक विषयमा आवेदन दिनेको संख्या वृद्धि भइरहेको छ ।
२.विदेशमा पढ्न जाने विद्यार्थीको संख्या पनि बढिरहेको छ । कतिपय विद्यार्थी पढाइ छाडेर कामका लागि पनि हिँडेका छन् ।
३. त्रिविले कतिपय विषयमा समयसापेक्ष कोर्स परिमार्जन गर्न सकेको छैन, त्यसले पनि विद्यार्थीको आकर्षण घटेको छ ।
भवानीश्वर गौतम /नयाँ पत्रिका

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको