प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले सुनसरीको देवानगञ्ज नगरपालिका-३ कप्तानगञ्जको घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गर्न माग गरेका छन्। शान्ति, सुव्यवस्था कायम गर्न नसक्नु गृह मन्त्रालयको गम्भीर कमजोरी भएको उनको भनाइ छ । संवेदनशील अवस्थामा सबै पक्षले उच्चतम संयतता अपनाउनु पर्ने उनको भनाइ छ।
हिंसा, आगजनी, तोडफोड र प्रतिशोधले कुनै पनि समस्याको समाधान नगर्ने भन्दै दुवै समूहलाई शान्त रहन, सहिष्णुता कायम राख्न र आपसी सद्भाव जोगाउन आग्रह गरेका छन् ।
पछिल्लो समय सरकारप्रति नागरिकहरूमा तीव्र असन्तोष पैदा भएको उनको भनाइ छ। सबैको साझा दायित्व शान्ति, सामाजिक सद्भाव र आपसी विश्वासलाई जोगाउनु भएकाले कुनै पनि उक्साहट वा अफवाहको पछि नलागी संवाद, सहिष्णुता र कानुनी प्रक्रियामार्फत समस्याको समाधान खोज्न आग्रह गरेका छन्।
उनले भनेका छन्, ‘सुरक्षाकर्मीले पनि कानुनको पालना गर्दै अधिकतम संयतता अपनाएर शान्ति र सुरक्षाको वातावरण कायम गर्नुपर्छ । सरकारले घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्छ । शान्ति, सुव्यवस्था कायम गर्न नसक्नु गृह मन्त्रालयको गम्भीर कमजोरी हो । यो घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ र तत्काल गृहमन्त्रीले यसको जवाफ दिनुपर्छ । परिणामतः आत्मदाह गर्ने जस्ता भयावह घटना, समाजमा शान्ति सुरक्षा र सहिष्णुतासँग सम्बन्धित संवेदनशील घटनाहरू बारम्बार दोहोरिनु सरकार कौशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नबाट चुकेको देखिन्छ । साथै, जिम्मेवार व्यक्तिहरूले यस्तो संवेदनशील बेलामा सामाजिक सञ्जालबाट थप असहिष्णुता फैल्याउने कार्य गर्न हुँदैन।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस