अर्थ संसार, काठमाडौँ – भरतपुर महानगरपालिकाले आव का लागि रु तीन अर्ब ३४ करोड पाँच लाखको बजेट प्रस्ताव गर्ने भएको छ ।
महानगरपालिकाको आजदेखि शुरु हुने परिषद्मा उक्त बजेट प्रस्तुत हुँदैछ । महानगरपालिकाका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीका अनुसार आज साँझसम्ममा बजेटको सम्पूर्ण तयारी पूरा हुँदैछ । जसअनुसार चालूतर्फ रु एक अर्ब ७० करोड ४९ लाख अर्थात् कूल बजेटको ५१.०४ प्रतिशत छ भने पूँजीगततर्फ रु एक अर्ब ६२ करोड ५६ लाख अर्थात् ४८.६६ प्रतिशत रहेको छ ।
त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ रु एक करोड अर्थात् ०.३० प्रतिशत बजेट प्रस्ताव गरिएको उहाँले बताउनुभयो । बजेटले आर्थिक विकासमा रु चार करोड ५० लाख, पूर्वाधार तथा शहरी विकासमा रु ५९ करोड, वातावरण तथा विपद् व्यवस्थापनमा रु १२ करोड, संस्थागत तथा सेवा प्रवाहमा रु ३५ करोड ६४ लाख, सामाजिकमा तीन करोड ५० लाख र वित्तीय व्यवस्थापन तथा प्रशासनतर्फ रु ७१ करोड रुपैयाँ प्रस्ताव गरिएको उहाँले बताउनुभयो ।
महानगरपालिकाका लेखा उपसचिव खडानन्द अधिकारीका अनुसार महानगरले राजश्व प्रक्षेपणबाट रु ५५ करोड, केन्द्र सरकारबाट बजेट रु एक अर्ब ३३ करोड, प्रदेश सरकारको बजेट रु १५ करोड, राजश्व बाँडफाँड केन्द्रबाट रु २७ करोड, राजश्व बाँडफाड प्रदेशबाट रु १५ करोड, बैंक मौज्दात रु ३० करोड, सामाजिक सुरक्षा अनुदान केन्द्रबाट रु ४५ करोड र उपभोक्तालागत २० करोड गरी बजेट व्यवस्थापन गरिएको छ ।
सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यमा आइतबार परिषद्को उद्घाटन गरिँदै छ । बजेट निर्माणअघि महानगरपालिकाले केन्द्रबाट विज्ञ झिकाएर बृहत छलफल गरेको थियो । स्थानीय विज्ञ, सरोकारवालालगायतसँग छलफल गरी बन्न लागेको गुरुयोजना अनुरुपका बजेट ल्याउन लागिएको महानगरले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस