Like us!
Follow us!
Connect us!
Watch us!

रसुवामा पनि तयार भयो करका दायरासम्बन्धी आर्थिक ऐन

मंगलबार, ०१ साउन २०७५, ११ : १० मा प्रकाशित

रसुवामा पनि तयार भयो करका दायरासम्बन्धी आर्थिक ऐन

अर्थ संसार, काठमाडौँ–  स्थानीय सरकारले आफ्नो कार्य क्षेत्रमा असुली गर्ने करका दायरासम्बन्धी आर्थिक ऐन जारी गरेको छ ।

गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत ६ वटा वडाका आधार इलाका क्षेत्रमा यही साउन १ गते देखि लागू हुने गरी सो ऐन जारी भएको उक्त गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तमाङले जानकारी दिनुभयो ।

गाउँसभाद्वारा पारित करका दायरासम्बन्धी आर्थिक ऐनले सम्पत्ति, घरबहाल, व्यवसाय, जडीबु्टी, कवाडी, सवारी साधन, विज्ञापन, मनोरञ्जन र पार्किङ क्षेत्रमा वार्षिक शुल्क निर्धारण गरेको छ ।

गाउँपालिकाले आव २०७५/७६ लाई पर्यटन वर्षको रुपमा मनाउने र सो समयावधिमा ३० हजार पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । पर्यटकको भव्य स्वागत गरी रसुवासँग प्रगाढ सम्बन्ध स्थापित गराउने लक्ष्य पनि गाउँपालिकाको छ ।

गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत गोसाइँकुण्ड लाङटाङ र बृद्धिममा घरबास तथा नाकथली लगायत पर्यटकीय क्षेत्र छन् । समुन्द्री सतहबाट तीन हजार ९०० मिटरदेखि चार हजार ३८० मिटर उचाइ सम्म ती पर्यटकीय क्षेत्र रहेका छन् ।

पर्यटकको सुरक्षाका लागि जिपिएसद्वारा हरेक मार्गमा ट्र्याक गर्ने विभिन्न भागमा सिसी क्यामरा जडान गर्ने, गाउँगाउँमा गएका पर्यटकलाई स्थानीय जैविक खाना खुवाउने, स्वागतका लागि खादा लगाउने बानीको विकास गर्ने, तामाङ संस्कृतिको झलक दिने र धुञ्चेस्थित नेपालको एक मात्र तामाङ सङग्रहालयको अवलोकन गराउने लक्ष्य लिएको अध्यक्ष तमाङले जानकारी दिनुभयो ।

पर्यटन प्रवद्र्धनका साथै समुन्नत र समृद्ध गोसाइँकुण्ड गाउँपालिका निर्माणका लागि प्रत्येक वडाका टोल/टोलमा मोटरबाटो निर्माण गरी यातायातको पहुँच पुर्याउने, लाङटाङको यात्रा सहज पार्न थाङसापसम्मको सडक, गोसाइँकुण्डको धार्मिक क्षेत्रका लागि धुञ्चे गोसाइँकुण्ड छोटो दूरीको केबुलकार निर्माण गर्ने कार्यलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेर योजना तर्जुमा गर्ने गृहकार्य अगाडि बढाएको छ ।

त्यस्तै शिक्षाको गुणस्तर बढाउन शिक्षकलाई प्रोत्साहन भत्ता र विद्यार्थीलाई दिवाखाजा कार्यक्रम अगाडि बढाउने नीति गाउँपालिकाले लिएको छ । सबै नागरिकलाई स्वच्छ पानी, जिल्ला अस्पतालमा उपकरण व्यवस्थापन, ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई लौरी र टर्चलाइटको व्यवस्थापन गर्नेे नीति पनि सो गाउँपालिकाले लिएको छ ।

यसैगरी, स्याफ्रु मैलुङ सडक निर्माण भइसकेको र निर्माण भइरहेका पासाङ ल्हामु मार्ग लामो दूरीको भएकाले धुञ्चेमा रहने केबुलकारको सबस्टेसन पुग्ने छोटो दूरीको धुञ्चे–खोदल सडक तुरुन्तै निर्माण गर्ने योजना रहेको पनि अध्यक्ष तामाङले बताउनुभयो ।

गाउँपालिकाले लक्षित कार्यक्रम सम्पन्न गर्न आव ०७५÷७६ का लागि रु २७ करोड ७४ लाख २७ हजारको अनुमानित आय व्यय प्रस्ताव गरेको छ भने केबुलकारको हकमा डिपिआर तयारका लागि बजेटसमेत स्वीकृत गरिएको छ ।

 यसैगरी, कृषि, पशु, उद्योग वाणिज्य, सांस्कृतिक संरक्षण, आदिवासी, जनजाति उत्थान, पूर्वाधार निर्माण शहरी विकास, विपद् व्यवस्थापन, बालबालिका संरक्षण, लैंगिक समानता तथा सामाजिक समावेशी लगायत विविध कार्यक्रम सञ्चालन गरिने योजना रहेको गाउँपालिकाका कार्यकारी प्रमुख पुरुषोत्तम सापकोटाले बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको