Like us!
Follow us!
Connect us!
Watch us!

सुख्खाग्रस्त क्षेत्रमा खानेपानी पुर्याउन एक अर्ब लगानी

आइतबार, २२ पुस २०७५, १३ : ०७ मा प्रकाशित

सुख्खाग्रस्त क्षेत्रमा खानेपानी पुर्याउन एक अर्ब लगानी

 रवीन्द्र काफ्ले

अर्थ संसार, फिदिम– नेपाल सरकारले करीब रु एक अर्ब लगानी गरेर पाँचथरको सुख्खाग्रस्त क्षेत्रका २२ हजार स्थानीयवासीलाई खानेपानीको सुविधा उपलब्ध गराउन लागेको छ ।

पाँचथरको कुम्मायक र तुम्बेवा गाउँपालिकाका सात वटा वडाका २२ हजार ७० जना स्थानीयवासीलाई खानेपानीको सुविधा उपलब्ध गराउन सरकारले ९६ करोड ५० लाख २२ हजार रुपैयाँ बजेट छुट्याएको छ । यही बजेटबाट अहिले लिफ्टिङ तथा पम्पिङ प्रणालीका दुई खानेपानी आयोजनाहरु निर्माण भइरहेका छन् ।

पानीका मुहानहरु सुक्दै गएपछि खानेपानीको चर्को अभाव झेल्दै आएका स्थानीय बासिन्दाको समस्या समाधानका लागि यासोक क्षेत्र खानेपानी आयोजना र आङ्ना मौवा क्षेत्र खानेपानी आयोजना निर्माणाधीन अवस्थामा रहेका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाँचथरका प्रमुख सुरतलाल चौधरीले बताउनुभयो । खानेपानीको सङ्कट भोगिरहेका सात वडाका स्थानीय बासिन्दाको जनसङ्ख्या जिल्लाको कुल जनसङ्ख्याको १० प्रतिशतभन्दा बढी हो ।

यासोक आयोजनाको निर्माण कार्य २०७२ पुस १६ गतेदेखि शुरु भएको हो । यो आयोजनालाई प्रसारण लाइन र वितरण लाइन गरी दुई खण्डमा विभाजन गरेर काम अघि बढाइएको छ । सम्झौता मुताबिक प्रसारण लाइन निर्माणको कार्य २०७४ पुस १५ गतेभित्र सम्पन्न गरिनुपर्ने थियो ।

तर, परामर्शदाताको कमजोरीका कारण योजनाको लागत अनुमानमा पहुँच सडक निर्माणको योजना समावेश नहुँदा र मुहान यकिन हुन नसक्दा उत्पन्न विवादले निर्माण कार्यमा विलम्ब भएको हो । प्रसारण लाइन निर्माणको कार्य अहिले अन्तिम चरणमा पुगेको डिभिजन कार्यालयका प्रमुख चौधरीको भनाइ छ ।

यासोक आयोजनाबाट कुम्मायक गाउँपालिकाका वडा नं १, ३, ४ र ५ का ३ हजार ४३ परिवारका १३ हजार ८४० जना लाभान्वित हुनेछन् । यहाँ सन् २०३० सम्ममा १७ हजार १३२ जनसङ्ख्या पु¥याउने लक्ष्य आयोजनाले लिएको छ ।

तमोर नदीको लोरिपा दोभानमा इनार जस्तो मूल ट्याङ्की बनाई विद्युतीय पम्पिङ प्रविधिबाट सात वटा लिफ्ट ट्याङ्कीको सहायताले एक हजार ६८७ मिटर उचाइमा पानी वितरण गर्ने महत्वाकाङ्क्षी लक्ष्यका साथ कार्य भइरहेको इन्जिनीयर रवीन्द्र रायले बताउनुभयो । कुल १७ किलोमिटर ४८ मिटर लामो प्रसारण लाइनबाट तमोर नदीको पानी यासोक बजार छेउको थापागाउँसम्म ल्याई वितरण गरिनेछ । नदीको सतहदेखि सात वटै लिफ्टसम्म सडक र विद्युत्को पहुँच पु¥याइएको छ भने यहाँ चौकीदार र भवनको समेत व्यवस्था हुनेछ । प्रेरा स्वामी नारायण जे।भी। ललितपुरले रु १७ करोड ३० लाख ६५ हजार ६०८ रुपैयाँको लागतमा प्रसारण लाइन निर्माणको जिम्मा लिएको हो ।

आयोजनाको वितरण लाइनमा तीन प्रकारका पाइप प्रयोग गरिएका छन् । वितरण लाइनको ६ हजार ५४५ मिटरमा डी।आइ। पाइप प्रयोग हुनेछ भने १७ हजार ३०४ मिटर वितरण लाइनमा जी।आइ। पाइप प्रयोग हुनेछ । यस्तै, १ लाख ८६ हजार ६६७ मिटरमा एच।डी।पी।इ। पाइपको प्रयोग हुने आयोजनाले जनाएको छ । वितरण लाइन निर्माणको जिम्मा कन्काई–महादेव खिम्ती–स्वामी नारायण जे.भी. सुनसरीले लिएको छ । वितरण लाइनको ठेक्का सम्झौता रकम रु २२ करोड १० लाख ८ हजार रहेको छ ।

वितरण लाइन निर्माणको सम्झौता २०७३ फागुन ६ गते भएको हो । वितरण लाइन यसै वर्षको फागुन ५ गतेभित्र सम्पन्न गर्नुपर्ने भएपनि निर्धारित समयमा काम सम्पन्न हुने अवस्था नरहेको उपभोक्ता समितिका महासचिव अमरसिंह थापाले जानकारी दिनुभयो । उहाँका अनुसार करीब २० प्रतिशत निर्माण कार्य बाँकी रहेको छ । आगामी वैशाखसम्ममा निर्माण कार्य सम्पन्न हुने अपेक्षा गरिएको छ । पाँचथरको साविकका यासोक, स्याबरुम्बा र रानीगाउँ गाविसलाई सरकारले २०६८ सालमा सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

पाँचथरको साविकका आङ्ना र मौवा गाविसमा खानेपानीको समस्या हल गर्न आङ्ना मौवा क्षेत्र खानेपानी आयोजनाको निर्माण थालिएको हो । यस आयोजनाबाट तुम्बेवा गाँउपालिकाको वडा नं १, २ र ३ का १ हजार ६०४ घरधुरीका ८ हजार २३० स्थानीय बासिन्दा लाभान्वित हुनेछन् । आयोजना निर्माणपछि सन् २०३० मा यस क्षेत्रको जनसङ्ख्या १० हजार १७६ पुग्ने अनुमान गरिएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाँचथरले आयोजना निर्माणका लागि कन्काई–प्रेरा जे।भी। काठमाडौँसँग २०७३ असार २५ गते निर्माण सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७६ पुस २५ गतेसम्ममा निर्माण कार्य सम्पन्न गर्नुपर्ने यो आयोजनाका लागि रु ४५ करोड २० लाखमा ठेक्का सम्झौता भएको डिभिजन कार्यालयका प्रमुख चौधरीले जानकारी दिनुभयो । यो आयोजनाको प्रसारण लाइनमा सात वटा लिफ्ट ट्याङ्कीहरु रहनेछन् । यहाँ सात वटै अपरेटिङ घर निर्माण गरिनेछ ।

विद्युतीय पम्पिङ प्रविधिबाट एक ट्याङ्कीबाट अर्को ट्याङ्कीसम्म पानी पुर्याइनेछ । तमोर नदीबाट मौवा बजार छेउसम्मको प्रसारण लाइन ७ हजार २९५ मिटर लामो छ । यसमा १५० मिलिमिटरको स्टिल पाइप प्रयोग हुनेछ । यस आयोजना अन्तर्गत एक लाख २१ हजार ८९१ मिटर लामो वितरण पाइप लाइन निर्माण हुनेछ जसमा एच।डी।पी।इ। पाइपको प्रयोग हुनेछ ।

यस आयोजनाका निर्माण कार्य करीब २५ प्रतिशत पूरा भएको उपभोक्ता समितिका नवनिर्वाचित अध्यक्ष देवेन्द्र खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच वटा लिफ्टिङ रिजर्भ ट्याङ्कीहरुको निर्माण कार्य सकिएको तथा सबै ट्याङ्कीहरुसम्म पहुँच मार्ग पु¥याइसकिएको छ । आगामी फागुनसम्ममा विद्युतीकरणको कार्यसमेत सम्पन्न हुने बताइएको छ । यस आयोजनामा उपभोक्ता समिति गठन हुन नसक्दा लामो समयसम्म निर्माण कार्य प्रभावित भएको थियो । उपभोक्ता समितिलाई वैधानिकता दिएर केही महिनामै आयोजना निर्माणलाई गति दिने लक्ष्य लिइएको अध्यक्ष खत्रीले बताउनुभयो ।

दुवै आयोजनासँग बढ्दो बसाइँ सराइलाई तत्कालै रोक्नुपर्ने जिम्मेवारी छ । बसाइँ सराइ रोक्ने मुख्य उद्देश्यका साथ झण्डै एक अर्ब रुपैयाँको लगानीमा खानेपानी आयोजनाहरु निर्माण भइरहेका छन् । “हाम्रो मुख्य समस्या बसाइँ सराइ हो, बसाइँ सराइ रोक्न तथा बसाइँ सरेर अन्यत्र गएका स्थानीयवासीलाई फर्काउन आयोजना निर्माणलाई गति दिएर आशा जगाउनुपर्ने दायित्व हामीमाथि छ,” खत्रीले भने – “अबको दुई महिनामा परिणाम आउँछ क।”

यी दुई आयोजनाको निर्माणमा स्थानीय बासिन्दाका भने आ–आफ्नै स्वार्थ छन् । स्वार्थकै कारण यासोक आयोजनाको मुहान झण्डै एक वर्षसम्म यकिन हुन सकेन । मुहान पर्ने क्षेत्रमा पहुँच मार्गको रुपमा ग्राभेल सडक विस्तार हुने भएका कारण स्थानीय बासिन्दाले आफ्नो क्षेत्रबाट पानी ल्याउनुपर्ने माग गरेका थिए । पूर्व सामान्य प्रशासन राज्यमन्त्री डम्बरसिंह सम्बाहाम्फे उपभोक्ता समितिको अध्यक्ष बन्नुभएपछि यासोक आयोजनाले थप गति लिएको छ । सम्बाहाम्फे नेकपाका केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । उपभोक्ता समितिको महासचिवमा नेकपाका प्रदेश कमिटी सदस्य अमरसिंह थापा रहनुभएको छ ।

आङ्ना आयोजनाका अध्यक्ष दलीय भागबण्डाका आधारमा नेकपाले पाएको थियो । तर, कसलाई अध्यक्ष बनाउने भन्ने विषयमा निर्णय लिन नसक्दा आयोजना निर्माणको कार्य करीब २५ प्रतिशत सम्पन्न भएपछि मात्रै उपभोक्ता समितिले पूर्णता पायो । समितिको अध्यक्षमा नेकपाका जिल्ला नेता देवेन्द्र खत्री चयन हुनुभएको छ । यी आयोजनाहरु सम्पन्न गर्न स्थानीय तहहरुले विशेष चासो र प्राथमिकता दिँदै आएका छन् । जनप्रतिनिधिहरु चुनिएपछि आयोजना निर्माणका काम सहज बनेको निर्माण व्यवसायीहरु बताउँछन् । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको