चालु आवको वैशाख मसान्तसम्ममा वाणिज्य बैंकको नाफा करिब ५६ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ५६ अर्ब ४७ करोड ५० लाख रुपैयाँ नाफा कमाएका हुन् ।
बैंकहरुले कमाएको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.१६ प्रतिशतले बढी हो । अघिल्लो वर्षको वैशाखसम्म बैंकहरूले ४७ अर्ब ७९ करोड ४० लाख रुपैयाँ नाफा कमाएका थिए । राष्ट्र बैंकका अनुसार यो अवधिमा १३ वटा वाणिज्य बैंकको नाफा बढ्दा ७ बैंकको नाफा घटेको छ । यो अवधिमा राष्ट्रिय वाणिज्य बैंक, सानिमा, माछापुच्छ्रे, प्राइम, सिटिजन्स, नेपाल एसबिआई, एनएमबि, सिद्धार्थ, हिमालयन, लक्ष्मी सनराइज र स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि नाफा वृद्धि गरेका छन् ।
यो अवधिमा प्रभु बैंक, एनआईसी एशिया, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक र ग्लोबल आइएमई बैंकको नाफा घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । नाफा आर्जनको दौडमा नबिल बैंकले आफ्नो विरासत कायम राख्दै सबैलाई पछाडि पारेको छ । नबिलले यो अवधिमा कुल ७ अर्ब ६६ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाउँदै आफूलाई नाफाका हिसाबले सबैभन्दा अघि राख्न सफल भएको छ। गत वर्ष यो बैंकको नाफा ५ अर्ब ६० करोड रुपैयाँ रहेको थियो। यो अवधिमा बैंकको नाफा ३६.८६ प्रतिशतले वृद्धि भएको हो ।
नाफामा नबिललाई पछ्याइरहेको ग्लोबल आइएमई बैंकले यो अवधिमा ५ अर्ब १९ करोड १० लाख रुपैयाँ नाफा कमाए पनि उसको नाफामा गत वर्षको तुलनामा ३.०७ प्रतिशतको गिरावट देखिएको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा कुमारी बैंकले आफ्नो नाफामा ८३३.१० प्रतिशतको बढोत्तरी गर्दै ४ अर्ब ४९ करोड ६० लाख रुपैयाँ पुर्याएको छ, जबकि गत वर्षको यसै अवधिमा यसको नाफा मात्र ४८ करोड १० लाख रुपैयाँ थियो।
यो अवधिमा राष्ट्रिय वाणिज्य बैंकले ८१.६४ प्रतिशत र प्राइम बैंकले ३१.७४ प्रतिशतले नाफा बढाएर आफ्नो वित्तीय अवस्थामा सुधार गरेका छन्। सिद्धार्थ बैंक र सानिमा बैंकको नाफामा पनि क्रमशः १८.७८ र ४३.६६ प्रतिशतको वृद्धि देखिएको छ।
यो अवधिमा एनआइसी एशिया बैंकको नाफा ३०.४४ प्रतिशतले खुम्चिएर ३३ करोड २० लाखमा झरेको छ । नेपाल बैंकको नाफामा पनि ९.१४ प्रतिशतले गिरावट आएको छ । त्यस्तै प्रभु बैंकको नाफा ४१.७० प्रतिशतले घटेको छ । कृषि विकास, ग्लोबल आइएमई, हिमालयन र सिटिजन्स बैंकको नाफामा गिरावट देखिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस