अर्थ संसार, काठमाडौं-समृद्ध सिन्धुली अभियानले ऐतिहासिक हरिहरपुरगढीलाई तत्कालीन गोर्खाली सेनाले अंग्रेजी सेनालाई परास्त गरेको सिन्धुलीगढीसँग जोड्ने पदमार्गको पहिलो खण्ड निर्माण पूरा गरेको छ ।
नेपाल एकिकरणका क्रममा तत्कालीन गोर्खाली सैनिकहरू हिँडेका ऐतिहासिक स्थलहरूलाई पर्यटकीय पदमार्गले जोड्ने योजना अनुसार अभियानले पहिलो खण्ड हरिहरपुरगढीको घण्टेदेखि मरिण गाउँपालिकाको सीमाना सेपाहासम्म पदमार्ग निर्माण सम्पन्न गरेको हो । पृथ्वीनारायण साहकी पत्नी इन्द्रकुमारीले घन्ट चढाएको घण्टेस्थित महादेवको मन्दिरबाट पदमार्ग निर्माण गरिएको हो ।
पदमार्ग निर्माणमा दैनिक १ सय जनाभन्दा बढी उपभोक्ता डेढ महिनासम्म खटिएका थिए । पदमार्ग निर्माण गर्न गठन गरिएको उपभोक्ता समितिका अध्यक्ष तथा समृद्ध सिन्धुली अभियानका संयोजक लीलानाथ घिमिरेले बताए । घण्टेबाट सुरुभएको पदमार्ग ऐतिहासिक हरिहरपुरगढी किल्ला, जितपुरगढी, भिमगढहुँदै सेपाहा पुगेको थियो । पदमार्गको सुरुआत स्थल घण्टेमा कलात्मक प्रवेशद्वार बनाइएको छ ।
त्यस्तै खोरभञ्ज्याङ र जितपुरमा काठको कलात्मक प्रतीक्षालय निर्माण गरिएको छ । खोरभञ्ज्याङको प्रतीक्षालय घन्टे र पीपलमाढीबाट जाने पदयात्रीलाई सुविधा हुने गरी दोबाटोमा बनाइएको छ । जितपुरको डाँडामा बनाइएको प्रतीक्षालयबाट दक्षिणतिरको मरिण फाँट, चुरे र तराईको दृष्यावलोकन गर्न सकिन्छ । यहाँबाट उत्तरी क्षेत्रको हिमालय पवर्त श्रृङ्खलासमेत देखिन्छ । धरान–चतरा जोड्ने मदनभण्डारी लोकमार्गमा पर्ने घन्टेबाट पदमार्ग सुरु हुन्छ ।
निर्माण सम्पन्न भएको पदमार्ग यही असार ७ गते पूर्वमन्त्री हरिबोल गजुरेलले उद्घाटन गर्नु हुने छ । उक्त पदमार्ग निर्माण गर्न गजुरेलले स्थानीय विकास साझेदारी कार्यक्रमबाट ४० लाख रुपैयाँ बजेट छुट्याउनु भएको थियो । स्थानीय उपभोक्ताले पदमार्ग निर्माण गर्न ४ लाख रुपैयाँ बराबरको श्रमदान गरेका छन् । ‘पदमार्ग बनेपछि मदन भण्डारी लोकमार्गहुँदै यात्रा गर्नेहरू एक घण्टामै ऐतिहासिक हरिहरपुरगढी पुग्न सक्ने घिमिरेले बताए । चौधौं सताब्दीमा बनेको ऐतिहासिक किल्ला हेर्न हरेक नेपालीलाई पदमार्गले सघाउने उनको विश्वास छ ।
चौधौं सताब्दीमा बनाइएका हरिहरपुरगढी र सिन्धुलीगढीलाई जोडेर पर्यटन प्रबर्धन गर्न पदमार्ग निर्माण गरिएको हो । सेपाहादेखि सिन्धुलीगढीसम्मको पदमार्ग अर्को बर्ष निर्माण गरिने अध्यक्ष घिमिरे बताए ।
हरिहरपुरगढी किल्ला हरिसिंहदेवले विक्रम संवत १३८१ मा बनाएका थिए । बाराको सिम्रौनगढमा बंगाल मुसलमानको भिषण आक्रमणबाट सिम्रौनगढ राज्यको पतन भएपछि बाराका तत्कालित राजा हरिसिंह सिन्धुली आएर सानो किल्ला बनाएर बसेका थिए । त्यही किल्लाले राज्यको रूप लिएको थियो । यस किल्लालाई राजा हरिसिंह देवकै नामबाट हरिहरपुरगढी भन्न थालियो । झण्डै ७ सय बर्षअघि बनेको यो किल्ला पुरानै स्वरुपमा जस्ताको तस्तै छ ।
बनेको सिन्धुलीगढी तत्कालीन ब्रिटिस सेनालाई पराजित गरेको गौरवशाली इतिहास बोकेर बसेको छ । यी दुई स्थल पदमार्गले जोड्न सकिने आफ्नो अध्ययनले देखाएको घिमिरेले बताए । अभियानका संयोजक लीलानाथ घिमिरेसहित प्राविधिक, समाजशास्त्री, पत्रकारलगायत ८ जनाको टोलीले गत महिना पदमार्गको अध्ययन गर्न हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्म ७ दिन लगाएर यात्रा गरेको थियो ।
सिन्धुलीगढी भारतमा शासन गरिरहेको तत्कालीन अंग्रेज सेनालाई काठमाडौंतर्फ आउँदै गर्दा गोर्खाली फौजले पराजित गरेको ऐतिहासिक स्थल हो । पृथ्वीनारायण शाहको नेपाल एकिकरण अभियानलाई रोक्न आएका अंग्रेजी फौजलाई विक्रम संवत १८२४ मा वीर गोर्खालीले सिन्धुलीगढीमा घरेलु हतियारको भरमा लडेर परास्त गरेका थिए । संसारमा आफ्नो साम्राज्य खडा गर्न अगाडि बढेको बेलायती साम्राज्यलाई परास्त गरेको सम्झनामा हरेक बर्ष विजयोत्सव मनाइन्छ ।
अभियानले पदमार्गमा पर्ने गाउँवस्तीमा घरबास (होमस्टे) प्रबर्धनमा पनि सघाउने छ । ‘हामी पदमार्गमा पर्ने बस्तीहरुमा होमस्टे संचालन गर्न स्थानीय बासिन्दालाई तालिम दिने छौं,’ अर्का अभियन्ता सौरभ ढकालले भने, ‘होमस्टेमा बसेर, स्थानीय परिकार खाँदै, स्थानीय जातजाती र तिनका कला संस्कृति अबलोकन गर्दै यात्रा गर्ने अबसर एकिकरण पदमार्गले दिने छ ।’
हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्मको मुख्य पदमार्ग, सहायक मार्ग, चक्रीय मार्गको पहिचान पनि अभियानले गरेको छ । म्ख्य पदमार्गको लम्बाइ ७५ किलोमिटर छ । उक्त दुरी पार गर्न ७ दिन लाग्छ । थोरै दिन हिँड्न चाहनेहरु सहायक मार्ग, चक्रिय मार्गमा यात्रा टुंग्याउन सक्छन् । नेपाललाई चिनाउने ऐतिहासिक स्थललाई जोडेर तिनको प्रर्धन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर देशकै आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्याउन अभियान लागेको अभियन्ता दीपक श्रेष्ठले बताए । अभियानले यस पदमार्गमा यसै बर्ष यस खण्डमा पदयात्रीलाई घुमाउन लैजाने योजना रहेको उनले सुनाए ।
अभियानले पदमार्गको प्रबर्धन गर्न डकुमेन्ट्री बनाएको छ । श्रब्यदृष्य समाग्री समेटिएको वेवसाइट हरिहरपुरगढी डटकम पनि यसै अबसरमा सुरु गरिएको छ । यस वेवसाइटमा पदमार्गको भिडियो, हरिहरपुरगढीबारे जानकारी, बाटोमा पर्ने गन्तब्यहरु र तस्बिरहरु समेटिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस