Like us!
Follow us!
Connect us!
Watch us!

प्रदेशको बजेट खर्च हुन सकेन

रबिन दङगाल

सोमबार, ०९ असार २०७६, १४ : ५३ मा प्रकाशित

प्रदेशको बजेट खर्च हुन सकेन

अर्थ संसार, चितवन-  जिल्लामा प्रदेश सरकारबाट प्राप्त बजेट न्यून मात्र खर्च भएको छ । चालू आर्थिक वर्षको ११ महीना पूरा हुँदा पूँजीगत खर्च २६ दशमलव ३७ प्रतिशत मात्र भएको छ । 

कोष तथा लेखा नियन्त्रण कार्यालय भरतपुरले दिएको जानकारीअनुसार जिल्लामा पूँजीगततर्फ रु एक अर्ब ८८ करोड २४ लाख आएकामा जेठ मसान्तसम्ममा रु ४९ करोड ६३ लाख ६८ हजार मात्र खर्च भएको हो । चालूतर्फ रु ४२ करोड दुई लाख ५७ हजार आएकामा रु २१ करोड ६४ लाख मात्र खर्च भएको छ ।

कार्यालयका सूचना अधिकारी कृष्ण अधिकारीका अनुसार पहिलो चौमासिकको उत्तरार्धमा बजेट आएको र संस्थागत संरचना एवं ठेक्का व्यवस्थापन ढिला भएकाले बजेट खर्च कम भएको हो । प्रदेशसभा सदस्य विजय सुवेदीले कार्यालय मङ्सिरमा खुलेका, ताकेता पुर्याउन नसकिएको र स्थानीय सरकारको चासो कम पुगेकाले बजेट खर्च हुन नसकेको बताए।

अर्का प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठले प्रदेशसभा सदस्यलाई रु एक करोडका दरले विनियोजन गरिएको विकास बजेटबाहेक अन्य खर्च निकै कम भएको जानकारी दिए । सङ्घ, प्रदेश र स्थानीय सरकारबीच तालमेलको कमीले पनि बजेट खर्चमा कमी आएको श्रेष्ठको ठम्याइ छ ।

प्रदेशतर्फ जेठ मसान्तसम्म रु ५० करोड छ लाख ३७ हजार राजस्व सङ्कलन भएको छ । यस्तै सङ्घीय बजेटमा पनि अपेक्षाकृत खर्च हुन सकेको छैन । अधिकारीका अनुसार जिल्लामा जेठ मसान्तसम्मको पूँजीगततर्फ कूल बजेट रु आठ अर्ब ७९ करोड ८८ लाख ७५ हजार विनियोजन भएको थियो । उक्त आँकडामा पूँजीगत रु चार अर्ब ३८ करोड ४१ लाख ८९ हजारमध्ये रु दुई अर्ब २८ करोड ५६ लाख ८५ हजार मात्र खर्च भएको छ । यो पूँजीगत खर्चको ५२ दशमलव १३ प्रतिशत हो । त्यस्तै चालूतर्फ रु सात अर्ब ७७ करोड ७० लाख ६७ हजार मध्ये ८८ दशमलव ३९ प्रतिशत खर्च भएको छ । सङ्घतर्फ जेठ मसान्तसम्म रु २८ अर्ब २३ करोड ५५ लाख १३ हजार राजस्व सङ्कलन भएको अधिकारीले जानकारी दिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको