Like us!
Follow us!
Connect us!
Watch us!

पानी परेसँगै राजधानीको ट्राफिक व्यवस्थापन जटिल

अर्थ संसार

शुक्रबार, २७ असार २०७६, १० : २२ मा प्रकाशित

पानी परेसँगै राजधानीको ट्राफिक व्यवस्थापन जटिल

 अच्युत रेग्मी

अर्थ संसार, काठमाडौं– अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बनेको छ । उपत्यकामा भएका साँघुरा सडक समयमा कालोपत्र नहुँदा र अविरल वर्षाका कारण सवारीसाधन ओहोरदोहोरमा समस्या उत्पन्न भएको हो ।

काठमाडौँ उपत्यकाभित्रको सवारी आगमनको सुरक्षित प्रवाह गराउने उद्देश्यका साथ स्थापना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखामा थोरै जनशक्ति र धेरै सवारीसाधनका कारण उक्त समस्या उत्पन्न भएको छ । चाबहिल–साँखु, कलङ्की–नागढुङ्गा, बल्खु–दक्षिणकाली, सामाखुशीचोक–टोखा र भित्री सडकमा पानी जमेका कारण यातायात सञ्चालनमा कठिन बन्न पुगेको हो ।
 
काठमाडौँ उपत्यकामा विसं १९५८ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशम्शेरले छिमेकी मुलुक भारतदेखि भीमफेदी हुँदै सवारीसाधन बोकाएर काठमाडौँ ल्याएका थिए । सर्वसाधारणमा गोपाल खोपासीले विसं १९७० को दशकमा सवारीसाधन भित्र्याएर प्रयोग गरेका थिए । काठमाडौँ उपत्यकाको जनसङ्ख्या वृद्धिसँगै सवारीसाधनको सङ्ख्या पनि अत्यधिकरूपमा बढेर गएको छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३४ लाख तथा काठमाडौँ उपत्यकामा ११ लाखको हाराहारीमा सवारीसाधन रहेको पाइन्छ ।

विसं २००४ देखि सवारीसाधन दर्ता प्रक्रिया शुरु भए पनि विसं २००७ बाट मात्र ट्राफिक व्यवस्थापनका लागि रामदलको स्थापना भएको थियो । कम बाटो र सीमित सवारीसाधनका कारण विसं २०१२ मा केन्द्रीय ट्राफिक कम्पनीका रूपमा १२५ को सङ्ख्यामा ट्राफिक प्रहरीले काम गर्ने गरे पनि हाल एक हजार ३४६ ट्राफिक कार्यरत रहेको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिनुभयो ।
 
“उपत्यकामा दिनानुदिन जनसङ्ख्या र बस्ती बढेको छ, सडक विस्तार र सडक पूर्वाधार निर्माण हुनसकेको छैन, यातायात क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसक्दा ट्राफिक व्यवस्थापन जटिल हुँदै गएको छ”, उहाँ भन्नुहुन्छ । महाशाखाका प्रमुख पन्त काठमाडौँमा सवारीसाधनको चापअनुसार ट्राफिक खटाउने हो भने दुई हजारभन्दा बढी जनशक्ति आवश्यक पर्ने बताउनुहुन्छ । अहिले एक हजार ८५ को दरबन्दी महाशाखामा भए पनि देशभरबाट तालीममा आएका ट्राफिकलाई समेत काममा खटाउनुपर्ने बाध्यता छ । महाशाखाले उपत्यकाको ट्राफिक दरबन्दी थप गर्न प्रहरी प्रधान कार्यालयलाई पत्रसमेत पठाइसकेको छ ।
 
उपत्यकाका थापाथली, केशरमहल, नयाँबानेश्वरलगायत मुख्य चोकमा कार्यालय सञ्चालन भएको दिनमा अहिले पनि तीनदेखि पाँच मिनेटसम्म सवारीसाधन रोकिनुपर्ने हुन्छ । केन्द्रीय ट्राफिक कम्पनीका रूपमा रहेको महाशाखा विसं २०४९ मा उपत्यका ट्राफिक प्रहरी कार्यालयका रूपमा रहेको थियो । विसं २०४९ मा स्थापना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालय विसं २०६३ मा आएर महानगरीय ट्राफिक प्रहरी महाशाखाका रूपमा स्थापना भएको हो ।
 
विसं २०५४ देखि विभिन्न क्षेत्र तथा जिल्ला कार्यालय खोलेर काम गरेको ट्राफिकले काठमाडौँ उपत्यकामा मात्र ४० स्थानमा विभिन्न कार्यालय खोलेर सेवा दिइरहेको छ । हाल एक ट्राफिकले दैनिक आठ घण्टादेखि १४ घण्टासम्म काम गर्नुपर्ने अवस्था रहेको महाशाखाले जनाएको छ । देशभर झण्डै तीन हजार ट्राफिक प्रहरीले काम गर्दै आएका छन् ।

महाशाखाले काठमाडौँ उपत्यकाको सवारी दुर्घटना न्यूनीकरण गर्दै लैजाने, सवारी नियन्त्रण तथा व्यवस्थापन उच्च अनुशासित भएर गर्ने, समयानुकूल ट्राफिक सङ्गठन परिवर्तन गर्दै लैजाने, ट्राफिक व्यवस्थापनमा जनसहभागिता बढाउने मूल्य र मान्यताअनुसार काम गरिरहेको महाशाखाका प्रवक्ता रविकुमार पौडेल बताउनुहुन्छ ।

काठमाडौँ उपत्यकाभित्र हाल एक हजार ५०० किलोमिटरको हाराहारीमा सडक भए पनि सवारीसाधन ओहोरदोहोर गर्ने मुख्य सडक भने ४०० किलोमिटरदेखि ५०० किमी रहेको महाशाखाले जनाएको छ । महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सहज बनाउन विभिन्न सरोकारवाला निकायको सहकार्यमा तीनमहीने कार्ययोजना सञ्चालन गरेको छ । तीनमहीने कार्ययोजनाअनुसार करिडोर निर्माण, फुटपाथ व्यवस्थापन, जेब्राक्रसिङ निर्माण, चालकलाई जनचेतनामूलक कक्षा सञ्चालनलगायतका काम गर्दै आएको छ ।

हाल महाशाखाले उपत्यकामा हुने सडक दुर्घटना न्यूनीकरण गर्न मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथि कारवाही, लेन अनुशासन कारवाही, अनियन्त्रित फुटपाथमा सवारी पार्किङ गर्नेलाई कारवाही गर्न कडाइ गरेको छ ।
 
ट्राफिकले आफू चढेको सवारीसाधनबाट उपत्यकाको सवारी व्यवस्थापन, वडिवन क्यामेरा, ड्रोन क्यमेरामार्फत सवारीसाधन व्यवस्थापन गर्दै आएको छ । सवारीसाधन दिनानुदिन भित्रिँदै जाने र आवश्यक पूर्वाधार नहुँदा उपत्यकाको ट्राफिक व्यवस्था झन् जटिल बन्दै जाने महाशाखाले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको